बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

निगम कार्यकारी अध्यक्ष अधिकारीको बेथितिमा पर्यटनमन्त्री पाण्डेको अस्वभाविक मौनता

images
बिहीबार , कात्तिक ८ २०८१
images
images
निगम कार्यकारी अध्यक्ष अधिकारीको बेथितिमा पर्यटनमन्त्री पाण्डेको अस्वभाविक मौनता

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूनिकट कर्मचारीहरूसँग 'मन्त्रीलाई मिलाइसकेको' बताउँदै हिँडेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुरुवाती दिनमा निगमको बेथितिमा केही चासो देखाएपनि अहिले अनभिज्ञता प्रकट गर्न थालेका छन्।

images
images

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अहिले 'कोमा'मा छ। निगममा बेथितिका चाङ लागेका छन्। वित्तीय रुपमा संकटमा परिसकेको छ। 

images
images
images

सामान्यत: मासिक दुई अर्ब रुपैयाँको कारोबार हुने निगममा पछिल्लो विवरणअनुसार अहिले मासिक कारोबार ६९ करोड रुपैयाँमा झरिसकेको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका रहेका जहाज पूर्णरुपमा उड्न सकेका छैनन्।

खरिद प्रक्रियामा कसिसनतन्त्र मौलाएको छ। कुनै पनि खरिद समयमा हुन सकेको छैन। सबैभन्दा बढी लापरबाही जहाज मर्मतमा भएको छ। जहाज मर्मतमा लापरबाही गर्दै हवाई सुरक्षामा समेत गम्भीर खेलवाड भएको छ। मर्मतका लागि पठाइएका इन्जिन तथा जहाज समयमा नेपाल आउन सकेका छैन।

images

यस्तोमा विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे मौन छन्। निगमको बेथितिको कारण कार्यकारी अध्यक्ष युवराज अधिकारीको असक्षमता र कमिसनतन्त्र हो भन्ने बुझेर पनि मन्त्री पाण्डे चुपचाप छन्। अधिकारीले आफ्नो पद जोगाउनका लागि निगमको दैनिक काममा भन्दा बढी समय विभिन्न 'सेटिङ' मा दिँदै आएका छन्।  

images

अधिकारीकै कारण निगम आर्थिक संकटमा फस्दै छ। तर मन्त्री पाण्डेले केही गर्न सकेका छैनन्। अधिकारीलाई स्पष्टीकरण सोधेका मन्त्री पाण्डेले त्यससम्बन्धमा कुनै निर्णय गर्न सकेका छैनन्। बरु अधिकारीले आफूनिकट कर्मचारीहरूसँग 'मन्त्रीलाई मिलाइसकेको' बताउँदै हिँडेका छन्। मन्त्री पाण्डेले सुरुवाती दिनमा निगमको बेथितिमा केही चासो देखाएपनि अहिले अनभिज्ञता प्रकट गर्न थालेका छन्। 

मन्त्रीले कार्यभार समालेको एकसय दिन पूरा भइसकेको छ। मन्त्रीलाई निगमभित्र भइरहेको सबै बेथितिका प्रमाण पनि प्राप्त भएको थियो। तर उनले त्यसमा कुनै कदम चाल्न सकेका छैनन्।

पाण्डे मन्त्री हुनुअगावै जेठ २३ गतेबाट निगमको आन्तरिक उडानमा प्रयोग हुँदै आएको एउटा ट्वीनअटर जहाज ग्राउन्डेड भएको थियो। जहाज ग्राउन्डेड भएको १ सय ३० दिनभन्दा बढी भइसकेको छ। जहाजको इन्जिन नै परिर्वतन गर्नुपर्ने छ। इन्जिन परिवर्तनका लागि भएको ठेक्का अझै मूल्यांकनमा गएको छैन। जसका कारण जहाज उडानमा आउने समय निश्चित छैन।

उडानमै रहेको अर्को ट्वीनअटरको पनि केही आवरमात्रै उडान गर्न मिल्ने अवस्था छ। अहिले उडान रहेको ट्वीनअटर दैनिक ९ घण्टासम्म उडान गर्न सक्ने क्षमता भएपनि दैनिक सरदर साढे १ घण्टामात्रै उडान गरेर उडान समय बचाउने काम भइरहेको छ।  

कार्यकारी अध्यक्ष अधिकारीले दसैँअगाडि नै इन्जिन सट्टापट्टाको काम सकिने र आन्‍तरिक उडानका दुईवटै जहाज उडानमा आउने भन्दै मन्त्री पाण्डेसमक्ष प्रतिबद्धता गरेका थिए। प्रतिबद्धताअनुसार काम नभए पनि मन्त्री पाण्डेले अधिकारीको बदमासीमा कुनै कारबाही गरेका छैनन्। उल्टो आफैले स्पष्टीकरण सोधेका अधिकारीलाई सम्मान गर्दै हिँडेका छन्।

इन्जिन सट्टापट्टाको ठेक्का पनि अधिकारीले कमिसनकै लागि लम्ब्याइरहेका छन्। भाडाको इन्जिनमा कमिसनतन्त्र चलेको छ। तर मन्त्री पाण्डे चुपचाप छन्। अप्रिल २८ मा मर्मतका लागि पठाइएको इन्जिन अझै मर्मत भएर नेपाल आउन सकेको छैन। इन्जिन मर्मत समयमा नै नहुँदा नाइन एन एकेएक्स जहाज भाडाको इन्जिनमा उडिरहेको छ।

इन्जिन भाडामा मात्र दैनिक १० लाख रुपैयाँ खर्च भइरहेको छ। ६५ दिनमा मर्मत गर्ने सर्तमा इन्जिन इजरायल पठाइएको थियो। तर ६ महिना पूरा हुन लाग्दासमेत इन्जिन मर्मत भएर आएको छैन। मन्त्रीले कार्यभार समालेको एकसय दिन हुँदासमेत त्यसमा कुनै चासो दिएका छैनन्। 

त्यस विषयमा निगम नेतृत्वले सधैँ जहाज आउने प्रतिबद्धता जनाइरहे पनि काम भने भएको छैन। आफूले त्यस विषयमा सोधेको तर निगम नेतृत्वबाट छिटै हुने जवाफमात्र पाउने गरेको मन्त्री पाण्डे स्वीकार्छन्। प्राविधिक विषय देखाउँदै आलटालको काम भएको मन्त्री पाण्डेको भनाइ छ। इन्जिन भाडामा मात्रै पछिल्लो पटक अप्रिल २८ पछि १८ करोड रुपैयाँ खर्च भएको छ। तर मन्त्रालय तथा मन्त्री मौन छन्। 

यसैगरी ३० दिनमै सी-चेक गरेर नेपाल ल्याउने भन्दै जुन २२ मा इटाली लगिएको वाइडबडी नाइन एन एलवाई 'अन्नपूर्ण' ८१ दिनपछि मात्रै नेपाल आएको थियो। जहाज सी-चेक गरेर ल्याएपछि पनि बारम्बार ग्राउन्डेड भएको छ।

अर्को वाइडबडी सी-चेकका लागि इटाली पठाइएको पनि २८ अक्टोबरमा दुई महिना पूरा हुँदै छ। इटालीमा रहेको जहाजको पार्टपुर्जा ल्याएर काठमाडौंमा उडानका रहेको जहाजमा हाल्ने काम भएको छ। इटालीमा रहेको जहाज सी-चेक गरेर नेपाल आउने निश्चित छैन। तर अधिकारीको लापरबाही र कमिसनको खेलमा मन्त्री समेत चुपचाप बसेका छन्। 

यसैगरी उडानका रहेको दुईवटै न्यारोबडीको सी-चेक समय नजिकिँदै छ। तर अझै कम्पनी छनोट हुन सकेको छ। टेन्डरकै प्रक्रियामा छ। निगम स्रोतका अनुसार नोभेम्बर १८ देखि एउटा न्यारोबडी ग्राउन्डेड हुँदै छ। अधिकारी भने बढी कमिसन दिने र आफ्नो पद जोगाउन सेटिङ मिलाउन सक्ने बिचौलिय कम्पनीलाई जिम्मा दिने खेलमा लागेका छन्।

यसैगरी एक वर्षअगाडि दुबई स्टेशनमा कार्यरत कर्मचारीको लापरबाही र अधिकारीको सेटिङमा दुई करोड रुपैयाँ ह्याकरलाई दिइएको थियो। उक्त रकम वर्षदिन हुँदा पनि फिर्ता भएको छैन। त्यसमा लापरबाही गर्ने कर्मचारीलाई कुनै कारबाही भएको छैन।

उडान नै सुरु नभएको गन्तव्यमा अनेक नाममा आफूनिकट कर्मचारीलाई पठाउने विकृतिसमेत कार्यकारी अध्यक्ष अधिकारीबाट भएको छ। यस्ता तमाम बेथिति र कमिसनतन्त्र देखिरहेका मन्त्री पाण्डेले भने अधिकारीको विषयमा कुनै निर्णय गर्न सकेका छैनन्।


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८१०६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend