बुधबार, कात्तिक ७ गते २०८१    
images
images

जडीबुटी व्यवसायबाट मासिक एक लाखभन्दा बढी आम्दानी

images
बुधबार, कात्तिक ७ २०८१
images
images
जडीबुटी व्यवसायबाट मासिक एक लाखभन्दा बढी आम्दानी

यहाँका महिलाले यार्सागुम्बा, चिराइतो, पदमचाल, हर्चो, पाषाणभेद, सतुवा, जेठीमधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिमुरलगायत तीन सयबढी जडीबुटी बिक्री गर्दै आएका छन्।

images
images

सुनसरी- धरान उपमहानगरपालिका-१५ मा जडीबुटी व्यवसाय सञ्चालन गरी शेर्पा समुदायका महिलाले मासिक एक लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

images
images
images

यहाँका महिलाले यार्सागुम्बा, चिराइतो, पदमचाल, हर्चो, पाषाणभेद, सतुवा, जेठीमधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिमुरलगायत तीन सयबढी जडीबुटी बिक्री गर्दै आएका छन्।

करिब २० वर्ष अघिदेखि जडीबुटी व्यवसाय गर्दै आएकी धरान-१५ की फूपुपोंग्सुवा शेर्पाले यही व्यवसायबाट मासिक एक लाखदेखि एक लाख ५० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए। जडीबुटी बेचेर जीविकोपार्जन हुँदैन भन्नेलाई उनी एक सफल व्यवसायीका रुपमा उदाहरणीय बनेकी छिन्।

images

पोंग्सुवाले भनिन्, 'लामो समय जडीबुटी बोकेर हटिया बजारतिर घुम्दै बेच्ने गरिन्थ्यो। अहिले स्थायीरुपमा जडीबुटी बेच्ने व्यवसाय सञ्चालन गरिरहेको छु।'

images

सुरुवाती समयमा धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, पोखरा, रामेछाप, काठमाडौंलगायत ठाउँमा घुमेर जडीबुटी बिक्री गर्ने गरेको बताउँदै उनले अहिले इटहरी उपमहानगरपालिका-६ मा पसल सञ्चालन गरेको जानकारी दिइन्।

पोंग्सुवाले भनिन्, 'सुरुमा व्यापार कम थियो, घरखर्च पुर्‍याउन समस्या हुन्थ्यो। अहिले समय फेरिएसँगै व्यापार पनि बढेको छ। परिवारको खर्च, छोराछोरी पढाउन सबै यही व्यापारले पुगेको छ, धरान-१५ बगरकोटमा दुई तले घर पनि बनाएकी छु।'

पहिले गाउँदेखि सहरसम्म महिनौँ दिन लगाएर हिँडेर व्यापार गर्दा खर्च जुटाउन गाह्रो हुने गरेको सुनाउँदै उनले अहिले मासिक  एक लाख ५० हजार रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको जानकारी दिइन्।

किमाथांका, सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासा, सिक्किम, दार्जिलिङलगायत भारतका विभिन्न स्थानबाट जडीबुटी खरिद गरेर बिक्री गर्ने गरेको उनले बताए।

'सामान खरिद गर्न कहिले आफै जाने गरेको छु भने कहिले अनलाइन मगाउने (अर्डर) गरेपछि गाडीमार्फत आउँछ', पोंग्सुवाले भनिन्। जडीबुटी बेच्न अनुमतिपत्र (लाइसेन्स) लिइसकेपछि अहिले व्यवसाय सञ्चालनमा सहजता आएको उनले बताइन्। नगरपालिकाले हरेक वर्ष औषधि व्यापारसम्बन्धी तालिम दिने गरेकाले थप हौसला प्राप्त भएको उनको भनाइ छ।

उनीजस्तै धरान-८ का आचुङ्मा भोटे इटहरी-६ स्थित टेङ्ग्रा खोलाको नजिकै रहेको पुल किनारको खुल्ला आकाशमुनि पारिलो घाममा जडीबुटी बिक्री गरिरहेको अवस्थामा भेटिए। उनले बिक्रीका लागि विभिन्न प्रकारका जडीबुटी आकर्षक देखिनेगरी खोला किनारमा लहरै राखेका छन्। उनले भने, '१८ वर्षदेखि यही व्यापार गर्दै आएको छु, सबै खर्च कटाएर मासिक ६० हजार रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ।'

पुर्ख्यौली घर सङ्खुवासभा भएको बताउँदै आचुङ्माले १५ वर्षअघि व्यापार गर्ने उद्देश्यले धरान झरेको जानकारी दिए। 'हाम्रा पुर्खाहरुले पहिले हिमाली भेगको लेकतिर जडीबुटी संकलन गरेर हिउँदमा बिक्री गर्न मधेसतिर झर्ने र बर्खा लागेपछि घर फर्किनुहुन्थ्यो', उनले भने, 'पहिले गाउँमा अस्पताल, सडक नहुँदा यहाँका शेर्पा र भोटे समुदायले जडीबुटी व्यापार गर्दै आएका थिए। पुर्खाको पेसालाई अहिले हामीले पनि निरन्तरता दिएका छौँ।'

अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएकाले माग पनि बढी हुने गरेको आचुङ्माले बताए। 'काठमाडौं, विराटनगर, मोरङ, झापालगायत ठाउँबाट फोन गरेर जडीबुटी माग गर्नुहुन्छ', उनले भने।

इटहरीको पूर्वतर्फ हटिया खोलाको किनारमा व्यापार गर्दैगर्दा भेटिएका धरानका दावा शेर्पाले १० वर्षदेखि जडीबुटी बिक्री गर्दै आएको बताए। 'यही व्यापारले बिहान-बेलुका खान पुगेको छ।

मेहनत अनुसारको आम्दनी राम्रो छ। दैनिक पाँच हजारदेखि १० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको छ', उनले भने, 'जडीबुटीको मूल्य पनि धेरै महँगो छैन, पाँचदेखि पाँचसय रूपैयाँसम्ममा पाइन्छन्।'

दावाले नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको बताए। उनले भने, 'अन्य पेसामा ज्ञान नभएकाले जडीबुटी व्यवसाय रोजेको हुँ। सस्तोमा पाँचदेखि तीन हजार रूपैयाँसम्मका जडीबुटी बिक्री हुन्छन्।' उनका अनुसार पसलमा अहिले दुई सयबढी किसिममा जडीबुटी छन्। रासस


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend