काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासको वैदेशिक व्यापार ऋणात्मक भएको छ। साउनदेखि असोजसम्मको अवधिमा आयात तथा निर्यात दुबै घटेको छ।
पछिल्लो तीन वर्षदेखि आन्तरिक मागमा सुधार नहुँदा वस्तु व्यापारमा निरन्तर ह्रास भइरहेको छ।
यो वर्षको पहिलो त्रैमासमा आयात ४ प्रतिशत र निर्यात ६ प्रतिशतले घटेको छ। त्यस्तै कूल वैदेशिक वस्तु व्यापार ४ प्रतिशतले घटेको छ।
तीन महिनामा यो वर्ष ३ खर्ब ९० अर्ब रुपैयाँको आयात भएको छ। गत वर्ष ४ खर्ब ७ अर्बको आयात भएको थियो। त्यस्तै निर्यात पनि ३८ अर्बमा सीमित भएको छ। गत वर्षको यही अवधिमा ४० अर्ब भएको थियो।