बुधबार, कात्तिक ७ गते २०८१    
images
images

पर्यटकका लागि शुक्लाफाँटामा जंगल सफारी खुला

images
बुधबार, कात्तिक ७ २०८१
images
images
पर्यटकका लागि शुक्लाफाँटामा जंगल सफारी खुला
भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भित्री भागमा बुधबार देखिएको मृग। निकुञ्ज ३०५ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ। तस्बिरः रत्न श्रेष्ठ/रासस

निकुञ्जको विशाल घाँसेमैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ। त्यसैगरी, निकुञ्ज पाटेबाघका लागि पनि प्रख्यात छ।

images
images

कञ्चनपुर- महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ। गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जंगल सफारी खुला गरेको हो।

images
images
images

गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यसवर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए।

'अन्य वर्षको भन्दा यसपटक ढिलो गरी हामीले जंगल सफारी खुला गरेका छौँ', उनले भने, 'निकुञ्जभित्र पर्यटक पथमा रहेका सबै पुल र बाटोमा बाढीले क्षति गरेको र मर्मतका लागि समय लागेका कारण ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको हो।'

images

उनले बाढीले सडक र काठेपुलहरु बाढी क्षति गरेको बताए। 'अहिले पनि सहायक बाटाहरुमा ग्राभेललगायत काम गर्न बाँकी छ', संरक्षण अधिकृत ऐरले भने, 'निकुञ्ज कार्यालयले पर्यटन प्रवर्द्धनका लागि काम गरिरहेको छ।'

images

तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ। निकुञ्जको विशाल घाँसेमैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ। त्यसैगरी, निकुञ्ज पाटेबाघका लागि पनि प्रख्यात छ। निकुञ्जले गरेको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ।

त्यसैगरी, गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि निकुञ्ज प्रसिद्ध छ। वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिका लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा। निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०-९० वटा नीलगाई र चार सय ४९ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ। 

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन्।

स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजातिहरू रहेका छन्। जसमा पाटेबाघ, एकसिंगे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेल आदि रहेका छन्।

निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा तीन हजार ६७ पर्यटकले अवलोकन गरेका छन्। यसमा विदेशीको सङ्ख्या दुई सय ५० मात्रै छ। रासस


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend