बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

माछापुच्छ्रे बैंकको खराब कर्जा २३ प्रतिशतले बढ्दा खुद नाफा ७.१९ प्रतिशतले घट्यो

बुधबार, कात्तिक ७ २०८१
माछापुच्छ्रे बैंकको खराब कर्जा २३ प्रतिशतले बढ्दा खुद नाफा ७.१९ प्रतिशतले घट्यो

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको खराब कर्जा २३ प्रतिशतले बढ्दा खुद नाफामा ७.१९ प्रतिशतको गिरावट आएको छ।

बैंकले आफ्नो व्यवसाय विस्तार गर्न नसक्दा र कर्जा असुली बढाउन नसक्दा बैंकको खराब कर्जामा वृद्धि र नाफामा गिरावट देखिएको हो। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा ५४ करोड २२ लाख रुपैयाँ रहेको थियो। 
गत वर्षको पहिलो ३ महिनामा बैंकले ४ अर्ब ७९ करोड ब्याज आम्दानी गरेर ३ अर्ब ३८ करोड ब्याज खर्च गरी १ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस वर्ष बैंकको ब्याज आम्दानी खर्च दुबै घटेपनि खुद ब्याज आम्दानीमा भने सामान्यरुपमा सुधार देखिएको छ। 

निक्षेप तथा कर्जा दुबैको ब्याज घटेकाले बैंकको खुद ब्याज आम्दानी बढेको हो। यस वर्षको पहिलो त्रैमासमा बैंकले ३ अर्ब ९० करोड रुपैयाँ ब्याज आम्दानी गरेर २ अर्ब ४२ करोड रुपैयाँ ब्याज खर्च गरेको छ।

यस्तै यस अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशत कायम भएको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा २.५६ प्रतिशत रहेको थियो।

बैंकको खराब कर्जा बढेसँगै प्रोभिजनिङ बढेपनि गत वर्षको अवितरित नाफाका कारण बैंकको वितरणयोग्य नाफा १ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २८ करोड रहेको थियो। 


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend