बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कच्चा पदार्थ नै भारत निर्यात हुन थालेपछि धमाधम बन्द हुँदै प्लाइउड उद्योग, भेनियर उत्पादकलाई पनि खतरा

बुधबार, कात्तिक ७ २०८१
कच्चा पदार्थ नै भारत निर्यात हुन थालेपछि धमाधम बन्द हुँदै प्लाइउड उद्योग, भेनियर उत्पादकलाई पनि खतरा

कच्चा पदार्थको रुपमा प्रयोग हुने काठका गोलादेखि भेनियर नै अभाव भएपछि अधिकांश उद्योग बन्द हुँदै गएको उद्योगीहरू बताउँछन्। यसबीचमा ३० वटा उद्योग बन्द भइसकेको उद्योगीहरूको भनाइ छ।

इटहरी- झापा धुलाबारीमा ‘सिद्धार्थ प्लाइ इन्डस्ट्रिज प्रालि’ सञ्चालन गर्दै आएका खेमराज प्रसाईंले उद्योग बन्द गरेको एक महिना पुग्यो। भारतीय बजारमा प्लाइउडको माग बढिरहेको बेला उद्योग बन्द गर्नुपरेको दु:खद अनुभव प्रसाईंले सुनाए। प्रसाईंसँगै प्लाइउड उद्योग सञ्चालन गरिरहेका झापाका अन्य पाँच उद्योगीले विकल्प खोजिरहेका छन्। 

आवश्यक कच्चा पदार्थ (भेनियर) को अभाव भएपछि उद्योग सञ्चालन गर्नसक्ने अवस्था नरहेको प्रसाईंको भनाइ छ। भारतीय बजारमा काठको अभाव भएपछि नेपालबाट कच्चापदार्थ निर्यात भइरहेको छ। नेपाल सरकारले भेनियरमात्र होइन काठ नै निर्यात गर्नेगरी नीति तय गरेको हुँदा व्यवसायीहरू समस्यामा परेको प्रसाईं बताउँछन्। 

गोलिया काठबाट १.६५ देखि २.३५ एमएमसम्मको काठको पाता निकालेर भेनियर तयार पारिन्छ। जसलाई किलोको हिसाबमा भारतीय बजारमा बिक्री गरिँदै आएको छ। अघिल्लो वर्षसम्म प्लाइउडको निर्यात बढिरहेको अवस्थामा यसवर्षदेखि भेनियरले बजार पाएको हो। 

सरकारले काठका गोलिया नै भारत निकासी गर्न पाउने नीति लिँदा समस्या आएको भन्दै नेपाल प्लाइउड उत्पादक संघ कोशी प्रदेशका अध्यक्ष सिताराम अग्रवालले निराशा व्यक्त गरे। सरकारले उद्योगीको पक्षमा अडान नलिँदा विस्थापित हुनुपरेको र रोजगारीका अवसरहरू गुम्दै गएको उनको भनाइ छ। 

नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को आर्थिक नीतिमा गोलिया काठको निर्यातमा लाग्दै आएको २०० प्रतिशत भन्सार घटाएर ५० प्रतिशत बनाएको छ। ७० प्रकारका काठको निर्यात शुल्क घटाइएको हो। गत आर्थिक वर्षमा ७ अर्ब ४१ करोड बराबरको प्लाइउड र ७२ करोड बराबरको भेनियर भारत निर्यात भएको थियो। चालु आर्थिक वर्षको अवस्था हेर्दा भेनियरको सप्लाइ बढिरहेको छ।  

plywood (2).jpg

संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेले सञ्चालन गरेको दुई उद्योगमध्ये एउटा बन्द गरिसकेका छन्। झापामा रहेको हिमशिखर लिमिटेड बन्द गरेका उनले अर्को एक उद्योग भने जेनतेन चलाइरहेका छन्।

भेनियर अभाव भएपछि अधिकांश उद्योग बन्द हुँदै गएको उनको भनाइ छ। यसबीचमा ३० वटा उद्योग बन्द भइसकेको उनले जानकारी दिए। सरकारले काठका गोलिया नै निर्यात गर्न पाउने खुकुलो नीति लिएपछि भेनियर उत्पादकलाई पनि खतराको संकेत देखिएको उनले बताए। 

plywood (3).jpg

काँकडभिट्टा नाकाबाट मात्र २०८० को साउनदेखि असोजसम्मको तीन महिनामा भन्दा २०८१ को तीन महिनामा २८२ प्रतिशतले वृद्धि निकासी बढेको छ। अघिल्लो तीन महिनामा ४ करोड १० लाखको निकासी भएको भेनियर यसपटक १० करोड ६७ लाख पुगेको हो।

प्लाइउडको उत्पादन घटेपनि निर्यातमा भने कमी आएको छैन। गत वर्षभन्दा २३ प्रतिशतले प्लाइउडको निकासी बढेको छ। काँकडभिट्टा मात्र होइन विराटनगर भन्सारमा पनि भेनियरको सप्लाइ बढिरहेको छ। विराटनगर भन्सारबाट साउनमा ३ करोड ९० लाखको भेनियर र १६ करोडको प्लाइउड निर्यात भएको छ। 

plywood (4).jpg

गत आर्थिक वर्षमा ७ अर्बको प्लाइ निर्यात गरेका उद्योगीले यसवर्ष १० अर्बको निर्यात गर्ने लक्ष्य राखेका थिए। तर सरकारले कच्चा पदार्थ निर्यात गर्न पाउने नीति लिएपछि प्लाइउडको उत्पादन नै खच्किएको उद्योगी बताउँछन्।

उता भेनियरको निर्यातमा भने तौलमै कैफियत हुने गरेको उद्योगीहरूको गुनासो छ। कम तौल मापन गरेर निर्यात गर्दा सरकार र व्यवसायी दुवैलाई घाटा भएको उद्योगीहरू बताउँछन्। यकिन तौलभन्दा कम देखाएर भन्सारबाट निकासी हुने गरेको र जसको कारण राजस्व छली भएको उनीहरूको भनाइ छ। 

plywood (5).jpg

आर्थिक वर्ष २०७७/७८ मा जम्मा एक करोड ४६ लाख रुपैयाँ बराबरको निर्यात भएको प्लाइउड अर्को वर्ष बढेर ३५ करोड रुपैयाँ पुग्यो। आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ७१ करोड रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको थियो।

२०८० साउनदेखि २०८१ असारसम्म ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको प्लाइउड भारत पुग्यो। विगतका वर्षहरूमा प्लाइउडको निर्यात खासै नभएपनि पछिल्लो समय बढ्दै गएको थियो। तर बढ्न नपाउँदै धरापमा परेको उद्योगले कच्चा पदार्थको स्रोतसम्म पहुँच नै नपाउने भएको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend