काठमाडौं- राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार समयभित्रै वित्तीय विवरण नबुझाउने विकास बैंक र वित्त कम्पनी नियामकीय कारबाहीमा परेका छन्।
नाफा नोक्सान खाता, वासलात र नगद प्रवाहलगायतका वित्तीय विवरण समयमा नबुझाएकाले वार्षिक साधारणसभा ढिला भएको भन्दै राष्ट्र बैंकले सिन्धु विकास बैंक र साल्पा विकासलाई सचेत गराएको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ५९, कम्पनी ऐन २०६३ को ७६ र एकीकृत निर्देशन २०८० व्यवस्था विपरित नाफा नोक्सान खाता र वासलात राष्ट्र बैंकसमक्ष ढिलो पेश गरी वार्षिक साधारण सभा ढिलो सम्पन्न हुँदा विद्यमान कानून तथा नियामकीय व्यवस्था उल्लघंन भएको भन्दै बैंकका अध्यक्ष, सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै प्रोग्रेसिभ फाइनान्स कम्पनीका अध्यक्ष, सञ्चालक र सीईओलाई वित्तीय विवरण राष्ट्र बैंकसमक्ष ढिला पेश गरेर साधारणसभा ढिलो सम्पन्न गरेको भन्दै सचेत गराएको छ।