बुधबार, कात्तिक ७ गते २०८१    
images
images

२७ वर्षदेखि खानेपानी योजना अधुरै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ५ २०८१
images
images
२७ वर्षदेखि खानेपानी योजना अधुरै

'देशमा थुप्रै परिवर्तन भए तर एउटा योजना निर्माण सुरु भएको २७ वर्षसम्म पनि बन्दैन भने योभन्दा लाजमर्दो कुरा के होला? '

images
images

सप्तरी- हनुमाननगर कंकालिनी नगरपालिका-७ स्थित हनुमानगर बजारमा २७ वर्षअघि निर्माण सुरु गएको खानेपानी आयोजना निर्माण अधुरै छ।  

images
images
images

स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तत्कालीन हनुमाननगर गाउँ विकास समितिको पहलमा स्थानीय स्वास्थ्य चौकी परिसरमा विसं २०५४ मा योजना निर्माण सुरु गरिएको थियो। योजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ। 

स्थानीय अमन यादवले २७ वर्ष भइसक्दा पनि एउटा आयोजना निर्माण गर्न नसक्नु लाजमर्दो विषय भएको बताए। उनले स्थानीय सरकार र निर्माण कम्पनीले तत्काल योजनाका बाँकी काम सम्पन्न गर्न आग्रह गरे।

images

'देशमा थुप्रै परिवर्तन भए तर एउटा योजना निर्माण सुरु भएको २७ वर्षसम्म पनि बन्दैन भने योभन्दा लाजमर्दो कुरा के होला? यदि आयोजना निर्माण भएमा यस क्षेत्रका दश हजारभन्दा बढी जनता लभान्वित हुने थिए। यसर्थ स्थानीय तह र सरोकारवाला मिलेर तत्काल काम अगाडि बढाउन पहल गर्नुपर्छ', यादवले भने। 

images

स्थानीय बेचन खड्गाले नगरपालिकाले यसप्रति चासो नदिएकाले संघीयता कार्यान्वयनपछि पनि काम अगाडि नबढ्नु दुःखद भएको बताए।

नेपाली कांग्रेसका मधेस प्रदेश सचिवसमेत रहेका खड्गाले भने, 'नगरपालिकालाई यहाँ शुद्ध खानेपानीका लागि योजनाको काम अगाडि बढाउन आग्रह गर्दा पनि हालसम्म काम सुरु भएको छैन। यसअघि नेतृत्वमा भएका जनप्रतिनिधि र निर्माण कम्पनीले पनि चासो देखाएनन्। त्यसैकारण नगरवासी २६/२७ वर्षदेखि शुद्ध खानेपानीबाट वञ्चित छौँ', उनले भने। 

स्थानीय राजेन्द्र मिश्रले योजनाको ७५ प्रतिशत काम भएको भनिए पनि राजनीतिक खिचातानीकै कारण थप काम अगाडि बढ्न नसकेको बताए।

'पानी ट्याङ्की निर्माण भइसकेको छ तर पाइपलाइन बिछ्याउने काम हुन सकेको छैन। जसकारण नगरवासी आर्सेनिकयुक्त ट्युबेल तथा चापाकलको पानी खान बाध्य छौँ', उनले भने। 

करिब तीन करोडको लागतमा निर्माण थालिएको योजना पहिलो किस्तामा केही काम भएर १०/१५ वर्षदेखि राजनीतिक खिचातानीका कारण उपभोक्ता समिति नै गठन हुन सकेन।

तत्कालीन खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका मोहम्मद सकिल अली हालै मधेस प्रदेशसभा सदस्य हुन्। स्थानीय उनलाई पनि अधुरो काम अगाडि बढाउन पहिलकदमीका लागि आग्रह गरिरहेका छन्। 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले धेरै दबाबका बीच २८ लाखमा काम गर्ने गरी बोलपत्र आह्वान गरी केही काम भए पनि पुनः अवरुद्ध भयो।

दोस्रोपटक विसं २०७४ मा बोलपत्र अह्वान गरिएकामा शान्ति निर्माण सेवा फर्सेठले ठेक्का पाएर केही काम गरे पनि १३ लाख भुक्तानी नपाएको भन्दै उसले पनि काम अगाडि बढाएको छैन। थप कामका लागि म्याद नथपिएका कारण समस्या भएको निर्माण कम्पनीका सञ्चालक नारायण यादवले बताए।

'पाँच लाखको पाइप, सिमेन्ट तथा एक हजार थान बाँसलगायत समान त्यही अलपत्र अवस्थामा राखिएको छ। हामीले समयमा भुक्तानी पाएनौँ, म्याद पनि थपिन। त्यसैकारण नपाएपछि आफूहरू काम गर्न असमर्थ भएको हो', उनले भने। रासस


प्रकाशित : सोमबार, कात्तिक ५ २०८११६:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend