बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

चार दिनको कारोबारमा ८२ अंकले बढेको नेप्से दुई दिनमै १०५ अंकले घट्यो

सोमबार, कात्तिक ५ २०८१
चार दिनको कारोबारमा ८२ अंकले बढेको नेप्से दुई दिनमै १०५ अंकले घट्यो

काठमाडौं- लगातार ८२.०२ अंकको सुधार देखिएको सेयर बजार यो साता पहिलो र दोस्रो कारोबारमा नै ओरालोतिर लागेको छ। विजयादशमीअघिको अन्तिम कारोबार र बिदापछिको लगातार तीन कारोबार नै हरियाली भएको बजार अहिले घटेको हो।

विजयादशमीअघिको अन्तिम सेयर कारोबारमा गएको असोज २३ गते बुधबार ४.८५ अंकले बढेको थियो। विजयादशमीपछि पनि बजार लगातार हरियालीमा नै थियो। गएको असोज २९ गते मंगलबार ३१.४८ अंकले बढेको बजार ३० गते बुधबार ४३.२२ अंकले बढेको थियो। गएको साता अन्तिम कारोबारमा १ गते बिहीबार बजार २.४७ अंकले बढेको थियो। 

यो साता भने पहिलो कारोबारमा आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार पनि ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा झरेको छ। सोमबार २३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ। २२१ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।   

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले उचाइ नै लिएर नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 


प्रकाशित : सोमबार, कात्तिक ५ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend