पर्यटन व्यवसायी वसन्तराज मिश्रको आइतबार बिहान ७२ वर्षको उमेरमा निधन भएको छ। ४० वर्षदेखि पर्यटन व्यवसायमा आवद्व टेम्पल टाइगर ग्रुपका कार्यकारी अध्यक्ष रहेका व्यवसायी मिश्रको डेंगी र ब्रेन ह्माम्रेजका कारण निधन भएको परिवारले जनाएको छ।
विस २००९ माघमा जन्मिएका मिश्रले बुझ्ने भएदेखि नेपालको पर्यटन क्षेत्रमा काम गरे। नेपालको ‘वाइल्ड लाइफ टुरिजम’ लाई संसारभर चिनाउने काम मिश्रले गरे। मिश्रले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत काम गरे।
मिश्र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलका पूर्वसचिव तथा कोषाध्यक्षसमेत थिए। उनी पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष तथा एशोसिएसन अफ टुर अपरेटर्सका पूर्वअध्यक्षसमेत थिए।
नेपाल पर्यटन बोर्डका संस्थापक सदस्य तथा चिलीका अवैतनिक वाणिज्यदूत मिश्र नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर मानिन्छन्।
अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली व्यवसायीको प्रतिनिधित्वसमेत गर्दै आएका मिश्र नेपालमा खर्चालु तथा गुणस्तरीय पर्यटक भित्र्याउने कम व्यवसायीमध्ये पर्दथे। मिश्रले कल्याणकारी संस्था बनाएर सामाजिक सेवाका विभिन्न क्षेत्रमा पनि काम गर्दै आएका थिए।
तत्कालीन गोरखा राज्यका शाहवंशीय राजाका बफादार थियो, मिश्र परिवार। राजगुरुकै भूमिकामा पनि रहेको मिश्र परिवार पृथ्वीनारायण शाहको विजयसँगै काठमाडौं भित्रिएको थियो। पर्यटन व्यवसायी वसन्त मिश्र पढाइ सकेर सुरुमा जागिर, त्यसपछि आफ्नै व्यवसायमा तल्लिन भए।
सन् १९७५ मा बीकम पास गरेपछि उनी घुम्न युरोप हानिएका थिए। लन्डनलाई बेस बनाएर युरोपका चारैतिर चक्कर लगाए। उतै काम गरेर बस्न साथीभाइले कर नगरेका हैनन् तर आफ्नै काम गर्ने भनेर बनाएको मन फेरिएन, उनी फर्किए। युरोप फर्केपछि गोर्खा ट्राभल्समा जागिर खाए।
नेपाल हिप्पी टुरिजमबाट एड्भेन्चर टुरिजमको गन्तव्य बन्दै थियो। हिमाली क्षेत्रमा पदयात्रा गर्ने, आरोहण गर्ने, वन्यजन्तु पर्यटनको गन्तव्य पुग्ने पर्यटक आगमन बढ्दै थियो। होटेल-ट्राभल एजेन्सी आदि धमाधम खुल्दै थिए। राजा त्रिभुवनका ज्वाईं महेश्वर सिंह, पशुपतिशमशेर राणा आदिको लगानीको गोर्खा ट्राभल्समा उनले जागिर सुरु गरेका थिए। गोर्खा ट्राभल्स यति ट्राभल्सपछिको दोस्रो नम्बरको ट्राभल एजेन्ट थियो।
४ सय ५३ रुपैयाँको जागिरले मिश्रलाई दुई वर्षमा धेरै कुरा सिकायो। आफै बिजनेस गर्ने आत्मविश्वास दिलायो। दुई वर्षमा थुप्रै विदेशयात्रा भए, पर्यटन क्षेत्रमा धेरै चिनजान/नेटवर्क बन्यो। चितवनको जंगलमा खुलेको टाइगर टप्सले त्यो बेला अन्तर्राष्ट्रिय ख्याती कमाइसकेको थियो। टाइगरटप्सकै साझेदारीमा उनले १९७८ देखि एड्भेन्चर ट्राभल्स सञ्चालन गरे।
एक दशक काम गर्दा उनमा एकल लगानीमा ठूलै परियोजना हाँक्ने आत्मविश्वास जागिसकेको थियो, अनुभव-नेटवर्क बलियो भइसकेको थियो। वन्यजन्तु पर्यटनको रौँ-चिरा थाहा पाइसकेका मिश्रले सन् १९८८ मा भेन्चर ट्राभल्स सञ्चालन गरे। सोही समयमा सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र केही रिसोर्ट सञ्चालनको अनुमति दिनेवाला थियो। उनले पनि टेम्पल टाइगरको नाममा अनुमति लिए।
भेन्चर ट्राभल्स पनि नम्बर दुईको ट्राभल्स एजेन्ट भयो। टेम्पल टाइगर पनि मज्जैले चल्यो, भेन्चर ट्राभल्स चलिरहेकै छ। निकुञ्जभित्र रिसोर्ट सञ्चालन गर्न नदिने आदेशपछि उनको जंगल रिसोर्ट त बन्द भयो, निकुञ्जबाहिर त्यही नाममा रिसोर्ट सञ्चालन ल्याएका थिए। जुन अहिले पनि सञ्चालनमा रहेको छ।
सन १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे, पहिलोचोटी ८ हजार मिटरमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो। नेपाल संसारभरि हिमालको मुलुक भनेर चिनियो। हुन पनि ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै छन्। १९५३ मा त तेञ्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथै चुमे। रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले १९५७-५८ तिरै पर्यटकलाई घुम्ने प्याकेज बेच्न थालिसकेका थिए। १९६० को दशक हिप्पी पर्यटनको भयो।
हिप्पी सस्ता (ब्यागप्याकर) थिए, लगाएको लुगाधरी बेचेर खर्च चलाउँथे। तर तिनका कारण नेपाल पर्यटन गन्तव्यका रूपमा संसाभरि चिनियो। त्यही ताका जिम कोपम्यानले हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्ट (सन १९६६) मार्फत वन्यजन्तुका सोखिन पर्यटकलाई आकर्षित गर्न थालेका थिए। अफ्रिका वन्यजन्तु पर्यटनको पायोनियर हो। मिश्रका अनुसार जिम आफै अफ्रिकामा समेत जंगल रिसोर्ट चलाउथे।
मिश्रले नेपाल जंगल सफारीका लागि उचित गन्तव्य हो भनेर ब्रान्डिङ गरे। पर्यटन भनेको कस्तो व्यवसाय हो भने यसलाई ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामलपनि बिक्दैन’ भन्ने उखान यसमा लागू हुन्छ। अफ्रिकासँग त के तुलना गर्नु भारतकै तुलनामा पनि नेपालका जंगलमा वन्यजन्तु नगण्य हो। तर यसलाई एकसिंगे गैडा र पाटे बाघ देखिने ठाउँका रूपमा प्रचार गरियो।
टाइगर टप्सको सफलतापछि चितवन राष्ट्रिय निकुञ्जमा ६ वटा रिसोर्ट थपिए। सबैले वन्यजन्तुका सौखिन पर्यटक ल्याउन प्रतिस्पर्धा गरे। बसन्तले टेम्पल टाइगर सञ्चालन गर्न अनुमति पाएको ठाउँ, निकुञ्जभित्र पनि पूर्वाधारबाट सबैभन्दा बञ्चित अप्ठ्यारो ठाउँ थियो। साथीभाइले पनि बसन्त अब डुब्ने भयो भनेर लख काटेका थिए। तर टेम्पल टाइगरले निकुञ्जका अरु रिसोर्टलाई जित्यो।
चितवनको जंगलमा खुलेको टाइगर टप्सले त्यो बेला अन्तर्राष्ट्रिय ख्याती कमाइसकेको थियो। टाइगरटप्सकै साझेदारीमा उनले १९७८ देखि एड्भेन्चर ट्राभल्स सञ्चालन गरे। नेपालको जुन सुन्दरता छ, करोडको संख्यामा पर्यटक नआउने कुनै कारण छैन भनेर मिश्रले अभियान नै चलाएका थिए।
१०/१२ लाख पर्यटक आउँदा यत्तिका गतिविधि हुने देशमा एक करोड पर्यटक आए कस्तो होला? भनेर सुनाउने गर्दथे।
पर्यटन क्षेत्रका धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्था र व्यक्तिले सम्झनेगरी नाम राखेका मिश्रले सोचेजस्तो नेपालमा एक करोड पर्यटक आउने कहिले हो थाहा छैन तर उनले सपना भने देखाए। नयाँ पुस्तालाई पर्यटनसँग जोडेर अस्ताएका मिश्रका सपना आउने पुस्तामा पक्कै पूरा हुने छ।