बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ठूला बैंकको सस्तो सेयर मूल्य, बढ्यो कुमारी र प्रभु बैंकमा लगानीकर्ताको आकर्षण

शनिबार, कात्तिक ३ २०८१
ठूला बैंकको सस्तो सेयर मूल्य, बढ्यो कुमारी र प्रभु बैंकमा लगानीकर्ताको आकर्षण

काठमाडौं- सेयर बजारमा पछिल्लो समय सुधारको ट्रेण्ड देखिएको छ। दसैँअघिदेखि नै वृद्धितर्फको संकेत गरेको बजार अहिले सुधारतर्फ नै देखिन्छ। बजारले तिहारअघि थप सकारात्मक लय समात्ने देखिन्छ। 

पछिल्लो तीन दिन नै वाणिज्य बैंकको सेयर मूल्य बढेको छ। खासगरी सस्तो मूल्य भएका बैंकका सेयरमा लगानीकर्ता आकर्षित भएका छन्। प्रभु बैंक र कुमारी बैंकको सेयरमा लगानीकर्ता तीन दिनयता झुम्मिएका छन्। 

एकवर्षअघि प्रतिकित्ता १३२ रुपैयाँसम्म झरेको प्रभु बैंकको सेयर मूल्य गत साउनमा बढेर २९७ रुपैयाँसम्म पुगेको थियो। भदौ महिनामा केही घटेको बैंकको सेयर मूल्य अहिले फेरि लगातार बढेर बिहीबारसम्म प्रतिकित्ता २६५ रुपैयाँ पुगेको छ। 

जुन मूल्य गतवर्षको भन्दा दोबरले बढी हो। २३ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी भएको प्रभु बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट राम्रो आउने आँकलन लगानीकर्ताले गरेका छन्। ठूलो कम्पनीको सस्तो मूल्य भएका कारण पनि लगानीकर्ताको रोजाइमा प्रभु बैंक परेको देखिन्छ। 

prabhu 122.JPG

कुमारी बैंकको पनि सेयर मूल्य लगातार बढिरहेको छ। एकवर्षअघि १२९ रुपैयाँसम्म झरेको बैंकको सेयर गत साउनमा बढेर २७२ रुपैयाँसम्म पुगेको थियो।

भदौमा केही घटेको कुमारी बैंकको सेयर मूल्य अहिले पुन: अहिले बढेर २४३ रुपैयाँ पुगेको छ। कुमारी बैंकको सेयर मूल्य पनि एकवर्ष अघिको तुलनामा दोबरले बढेको हो। कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ छ। 

kumari 122.JPG

ठूला कम्पनीको सस्तो मूल्य भएका कारणले पनि दुई बैंकमा केही दिन यता लगानीकर्ताले सेयर खरिद गरिरहेका छन्। बिहीबार कुमारी बैंकको सेयर सबैभन्दा बढी कारोबर भएको हो। कम्पनीको १ लाख ३५ हजार कित्ता कारोबार हुँदा ३३ करोड ३१ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ। 

कुमारी बैंकको प्रतिसेयर आम्दानी असार मसान्तसम्म ८.८ रुपैयाँ रहेको छ भने पीइ रेसियो २७.६१ गुणा रहेको छ। यता बुक भ्यालु भने १४१.४७ रुपैयाँ रहेको छ भने १२० दिनको एभरेज सेयर मूल्य १९९ रुपैयाँ रहेको छ। 

प्रभु बैंकको पनि बिहीबार २६५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बैंकको १२० दिनको एभरेज सेयर मूल्य २१४ रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी १९.०३ रुपैयाँ रहेको बैंकको पीइ रेसियो १३.९३ गुणा रहेको छ। बुक भ्यालु १५४.७६ रुपैयाँ रहेको छ। 


प्रकाशित : शनिबार, कात्तिक ३ २०८१०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend