मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

विशाल ग्रुपले पायो जापानी ब्रान्ड कावासाकी मोटरसाइकलको आधिकारिक बिक्रेता

नेपालमै एसेम्बल गरेर बिक्री थाल्ने, बिजनेस हेडसमेत नियुक्त

images
शुक्रबार, कात्तिक २ २०८१
images
images
विशाल ग्रुपले पायो जापानी ब्रान्ड कावासाकी मोटरसाइकलको आधिकारिक बिक्रेता

नेपाली बजारमा विगतमा उपलब्ध भइरहेको र प्रिमियम मोटरसाइकलप्रति उपोक्ताको रुची बढ्दै गएकाले कावासाकीका मोटरसाइकलले राम्रै बजार लिन सक्छ।

images
images

काठमाडौं- चर्चित जापानी दुईपांग्रे सवारी ब्रान्ड कावासाकीको नेपालका लागि आधिकारिक बिक्रेता विशाल ग्रुपले पाएको छ। इन्डिया कावासाकी मोटर्स लिमिटेडले विशाल ग्रुपअन्तर्गतको कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेको छ। 

images
images
images

कावासाकीको डिलरसिप लिनका लागि नेपालबाट विभिन्न व्यावसायिक घरानाका ५/६ वटा कम्पनीले आवेदन दिएका थिए। ती आवेदनमध्येबाट इन्डिया कावासाकी मोटर्सले विशाल ग्रुपअन्तर्गतको कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेको हो। कावासाकीले करिब दुई महिनाअघि नेपालका लागि आधिकारिक बिक्रेता नियुक्तको निर्णय गरेको थियो। 

योसँगै कावासाकी नयाँ रुपमा नेपाल आउने भएको छ। केही दशकअघि भारतमा बजाज इन्डियासँगको सहकार्यमा कावासाकीका मोटरसाइकल भारतमा उत्पादन हुँदै आएको थियो। उक्त समयमा कावासाकी बजाज मोटरसाइकल नेपाली बजारमा आएको थियो। तर २००९ मा कावासाकी जापानले भारतमा आफ्नो अलग्गै कम्पनी स्थापना गरेर मोटरसाइकल उत्पादन तथा बिक्री सुरु गर्ने निर्णय गरेको थियो। 

images

त्यसयता कावासाकीका मोटरसाइकल नेपाली बजारमा आएका थिएनन्। आधिकारिक बिक्रेता लिनका लागि विभिन्न व्यावसायिक घरानाले प्रयास गरिरहेका थिए। तर इन्डिया कावासाकी मोटर्सले यसबारे निर्याय लिएको थिएन। अहिले भने कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेको हो। 

images

विशाल समूहले कावासाकीका मोटरसाइकल नेपालमै एसेम्बल गरेर बिक्री गर्ने तयारी गरेको छ। यसका लागि इन्डिया कावासाकी मोटर्स लिमिटेडले विशाल ग्रुपअन्तर्गतको कम्पनीलाई सहमति दिइसकेको छ। विशाल समूहले यसका लागि आवश्यक प्रक्रिया र काम अघि बढाइसकेको छ। जसअन्तर्गत ग्रुपले कावासाकी ब्रान्ड हेर्नेगरी एकजनालाई दसैँअघि नै बिजनेस डेभ्लप्मेन्ट हेडसमेत नियुक्त गरिसकेको छ।

कावासाकीले भारतमा सन् २०१० बाट सुपर मोटरसाइकल बजारमा औपचारिक रुपमा प्रवेश गरेको थियो। २०१७ अप्रिल १ देखि भने कावासाकीले भारतमा उत्पादन, बिक्री, बिक्रीपछिको सेवालगायत सबै स्वतन्त्ररुपमै गर्न थालेको थियो। २०१७ जुलाईमा इन्डिया कावासाकी मोटर्सले महाराष्ट्रको पुनेमा नयाँ प्लान्ट स्थापना गरेको थियो। 

कावासाकीले भारतमा हाल निन्जा ३००, निन्जा ४००, निन्जा ६५०, जेड ६५०, निन्जा १०००, भल्क्यान एस, भर्सिस सिरिजलगायत २६ वटा मोडलका सुपर मोटरसाइकल उत्पादन गर्दै आएको छ। भारतभर कावासाकीका ४२ वटा डिलर रहेका छन्। इन्डिया कावासाकी मोटर्सले भारतमा ३० भन्दा बढी इन्जिनियरसहितको आरएन्डडी सेन्टर २०१८ मा स्थापना गरेको थियो।  

कावासाकी आफ्नो निन्जा सिरिजबाट विश्वभर रहेका मोटरसाइकल प्रेमिहरू माझ परिचित ब्रान्डका रुपमा रहेको छ। विद्युतीय र हाइब्रिड मोटरसाइकल उत्पादनमा पनि अग्रसर कम्पनीले नेपाली बजारमा सुरुमा २/३ वटा मोडल एसेम्बलका लागि पठाउने छ। 

नेपाली बजारमा विगतमा उपलब्ध भइरहेको र प्रिमियम मोटरसाइकलप्रति उपोक्ताको रुची बढ्दै गएकाले कावासाकीका मोटरसाइकलले राम्रै बजार लिन सक्छ। प्रिमियम मोटरसाइकल आयात गरेर बिक्री गर्दा महँगो हुने भएकाले नेपालमै एसेम्बल गरेर बिक्री गर्दा प्रतिस्पर्धी मूल्यमा उपलब्ध भए बजार लिने सम्भावना धेरै हुन्छ। 

विशाल ग्रुपले हाल सुजुकीका मोटरसाइकल नेपालमै एसेम्बल गरेर बिक्री गर्दै आएको छ। यसबाहेक विशाल समूहले प्यासेन्जर कारमा फक्सवागन, विलिङ, एमजी, माज्दा, म्याक्सस, रेनो, ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेताको रुपमा काम गरिरहेको छ।

त्यस्तैगरी कोबेल्कोको निर्माण उपकरण, एसआरएम ब्रान्ड विद्युतीय भ्यान पनि बिक्री गरिरहेको छ। भियतनामी विद्युतीय सवारी ब्रान्ड भिनफास्टसमेत विशाल ग्रुपले नै ल्याउने तय भइरहेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८११०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend