बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

भदौमा २५८० को बिन्दुमा झरेको नेप्से असोजमा २७४२ बिन्दुमा पुग्यो, कात्तिकमा भेट्ला नयाँ उचाइ?

बुधबार, असोज ३० २०८१
भदौमा २५८० को बिन्दुमा झरेको नेप्से असोजमा २७४२ बिन्दुमा पुग्यो, कात्तिकमा भेट्ला नयाँ उचाइ?

काठमाडौं- भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा सुधारतर्फ नै देखिएको छ। असोजमा समग्रमा बजार १६२.१२ अंकले बढेको छ। असोजमा २४६४.४१ को तल्लो बिन्दुसम्म बजार पुगेको थियो। तल्लो बिन्दुमा पुगेयता बजार २७८.४७ अंकले बढेको छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। 

विजयादशमीअघिको अन्तिम कारोबारमा गएको २३ गते बुधबार २६६८.१७ बिन्दुमा रहेको नेप्से बिदापछिको कारोबारमा हरियालीतर्फ बढेको हो। यो साताको पहिलो कारोबारमा मंगलबार बजार ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा पुगेको थियो। 

यो साता दोस्रो कारोबारमा बुधबार ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा पुगेको छ। २०६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ। ३५ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।   

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले उचाइ नै लिएर अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 


प्रकाशित : बुधबार, असोज ३० २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend