काठमाडौं- दुई महिनामा रेमिट्यान्स १५.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउन र भदौमा २ खर्ब ६३ अर्ब १४ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो।
साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने भदौमा १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४ सय ८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५ सय ८३ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ रहेको थियो।