बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

चार वाणिज्य बैंकले गरे लाभांश घोषणा, अन्य बैंकको तिहारअघि आउला?

बुधबार, असोज ३० २०८१
चार वाणिज्य बैंकले गरे लाभांश घोषणा, अन्य बैंकको तिहारअघि आउला?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतमध्ये हालसम्म चार वाणिज्य बैंकहरू एभरेष्ट बैंक, सिटिजन्स, ग्लोबल आईएमई र सानिमा बैंकले लाभांश घोषणा गरेका छन्।

काठमाडौं- गतवर्षको नाफाबाट कतिपय वाणिज्य बैंकले सेयरधनीका लागि दसैँअघि नै लाभांश घोषणा गरिसकेका छन्। कतिपयले सेयरधनीको खातामा लाभांशसमेत पठाइसकेका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतमध्ये हालसम्म चार वाणिज्य बैंकहरू एभरेष्ट बैंक, सिटिजन्स, ग्लोबल आईएमई र सानिमा बैंकले लाभांश घोषणा गरेका छन्। केही बैंकले बुकक्लोज र साधारणसभा समेत सम्पन्न गरेर सेयरधनीलाई लाभांश दिइसकेका छन्।

नबिल बैंक, कृषि विकास बैंक, प्राइम बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, कुमारी बैंक, प्रभु बैंक, एनआइसी एसिया बैंक, माछापुछ्रे बैंक, एनएमबी बैंक, हिमालयन बैंकले भने लाभांश घोषण गर्न बाँकी छ। कतिपय बैंकहरूले पुँजीकोषको दबाबका कारण लाभांश दिन पाउने छैनन्।

आर्थिक वर्ष सकिएको ६ महिना अर्थात पुस मसान्तसम्म अनिवार्य रुपमा साधारणसभा गर्नुपर्ने प्रावधान भएकोले सूचीकृत सबै कम्पनीहरूले साधारणसभाको तयारी गरेका छन्। अब तिहारअघि नै धेरै कम्पनीहरूको लाभांश घोषणा हुने देखिन्छ।

एभरेष्ट बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने भएको हो। यो लाभांश बैंकको साधारणसभाले पारित गरिसकेको छ। दसैँअघि नै बैंकले सेयरधनीको खातामा नगद लाभांश पठाइसकेको छ। 

सिटिजन बैंकले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ। उक्त प्रस्तावित लाभांश पारित गर्न आगामी कात्तिक १२ गते साधारण सभा बोलाएको छ। बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि असोज २९ गते बुक क्लोज आज भएको छ। 

सानिमा बैंकले पनि यो वर्ष आफ्ना सेयरधनीहरूलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले यो वर्ष नगद लाभांशमात्रै दिने भएको हो। बैंकको बुक क्लोज भने बाँकी नै छ।

यस्तै ग्लोबल आईएमई बैंकले ५.५ प्रतिशत बोनस सेयरमात्रै दिने घोषणा गरेको छ।

प्रत्येक वर्ष धेरै लाभांश दिँदै आएको नबिल बैंकले यसवर्ष अहिलेसम्म लाभांश घोषणा गरेको छैन।

यता विकास बैंकतर्फ भने हालसम्म कामना सेवा विकास बैंकले मात्रै लाभांश घोषणा गरेको छ। बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको हो। बैंकले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाशं (करसमेत) दिने भएको छ।  


प्रकाशित : बुधबार, असोज ३० २०८१०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend