बुधबार, कात्तिक ७ गते २०८१    
images
images

घुमौँ लुम्बिनी : जहाँ बिताउन सकिन्छ बिदाको अविष्मरणीय समय

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २८ २०८१
images
images
घुमौँ लुम्बिनी : जहाँ बिताउन सकिन्छ बिदाको अविष्मरणीय समय

लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्यरुपमा आध्यत्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान गौतम बुद्धका सन्देश प्रतिबिम्वित गर्नु हो।

images
images

लुम्बिनी- दसैँ तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन्। त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दसैँ तिहार, छठलगायतका पर्वमा बुद्धशिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ। शान्ति, करुणा र सत्मार्गको प्रतीकका रुपमा बुद्धलाई विश्व समुदायले स्वीकार गरेको छ।

images
images
images

लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राई तराईमा अहिले चर्को गर्मी सकिएर भरखरै शीतल मौसम भित्रिएको अवस्थामा लुम्बिनी भ्रमणका लागि यो मौसम उपयुक्त रहेको बताउँछन्।

बुद्ध जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँको सङ्ख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरुका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल हो। ई पू ६२३ मा यहाँको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको थियो। यो महत्वपूर्ण पावनभूमि संसारभरिका बौद्धमार्गी तथा शान्तिप्रेमीबीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ।

images

बुद्ध धर्मप्रति आस्था राख्नेहरुका लागि बुद्ध जन्मस्थल यसै पनि पवित्रस्थल हो। भगवान गौतम बुद्धले जन्म लिएको यही स्थानमा अहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर रहेको छ। लुम्बिनीमा मायादेवी मन्दिरलगायत, शान्तिदीप, विश्वशान्ति स्तुपलगायत दर्जन बढी गुम्बा र विहार घुम्नैपर्ने क्षेत्र हुन्।

images

मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ। चौथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ।

मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाँहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टी उनकी बहिनी प्रजापती र देवगणहरु भगवानको स्वागतका लागि तयारी अवस्थामा देखिएका छन्।

मायादेवी मन्दिरभित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला छ। यस मन्दिरको अवलोकन गर्न र गौतमबुद्धको जन्मका बारेमा जानकारीका लागि पनि हरेक वर्ष लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु, अध्येता र पर्यटकहरु लुम्बिनी भ्रमणमा आउने गर्छन् ।मन्दिर परिसरमा उत्तर दिशातर्फ रहेको शान्तिदीप २४ घण्टा नै बलिरहन्छ। शान्तिदीप पानी पर्दासमेत ननिभ्ने हुँदा धेरैलाई अनौठो लाग्दछ। दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटकहरु डुङ्गा चढेर रमाउने गर्छन्। लुम्बिनी गुरुयोजनाअन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटरसम्म बनाइएको नहरमा डुङ्गा चल्ने गर्दछ। 

जापानी प्राध्यापक केन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजनाले तीन वर्गमाइल क्षेत्र ओगटेको छ। यस क्षेत्रलाई प्रत्येक एक वर्गमाइल क्षेत्र विभाजन गरी गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्रको निर्माण कार्य भइरहेको छ। गुरुयोजनाअनुसार तीनवटा क्षेत्र पवित्र उद्यान क्षेत्र, बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले आकर्षक स्तुप बनाएका छन्।

लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्यरुपमा आध्यत्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान गौतम बुद्धका सन्देश प्रतिबिम्वित गर्नु हो।

यस्तै बिहार क्षेत्रअन्तर्गत लुम्बिनी क्षेत्रको पूर्वी बिहार क्षेत्रमा १३ वटा प्लट थेरवादीहरुका लागि र पश्चिम क्षेत्रमा २९ वटा महायानी बौद्धमार्गीका लागि छुट्याइएका छन्। यस क्षेत्रमा विभिन्न देशका बौद्ध कला, संस्कृति झल्कने आकर्षक तथा कलात्मक बिहार निर्माण गरिएका छन्। लुम्बिनी पुग्ने हरेक पर्यटक ती स्तुपहरुमा नपुगे लुम्बिनी भ्रमण अधुरै रहन्छ।

यस्तै गुरुयोजनाको उत्तरी क्षेत्र नयाँ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ। यात्रु तथा पर्यटकहरुका लागि यस क्षेत्रमा होटल तथा रेष्टुरेन्टलगायतका सुविधा यस क्षेत्रमा निर्माण भएका छन्। यस क्षेत्रमा दुर्लभ पक्षी सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ। जापानको धार्मिक सङ्गठनद्वारा स्थापित विश्व शान्ति स्तुप र लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयसमेत यसै क्षेत्रमा रहेका छन्।

लुम्बिनी विश्वभरका लाखौँ मानिसहरूको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्य रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हुँदै गइरहेको छ। पर्यटकहरुलाई राम्रोसँग गाइड गर्न सक्ने हो भने पर्यटकको बसाई अवधि समेत बढ्ने लुम्बिनी होटल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली बताउँछन्। लुम्बिनीसँगै सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष  बिताएको स्थान तिलौराकोट, देव दह र रामग्रामसमेत घुम्न सकिन्छ।

तिलौराकोट : लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ। कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित तिलौराकोटसँगै गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ।

बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तिलौराकोट पुग्छन्। विश्व प्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रुपमा चिनिन्छ।

बुद्ध जन्मस्थल लुम्बिनीबाट कपिलबस्तु सदरमुकाम तौलिहवा हुँदै जाँदा करिब २८ किलोमिटरको दूरीमा तिलौराकोट रहेको छ। कपिलवस्तु सदरमुकाम तौलिहवादेखि उत्तर बाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोटमा इपू एघारौं शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्विक भग्नावशेषहरुका साथै प्राचीन दरवारको पूर्वी तथा पश्चिमी द्वार अवलोकन गर्न सकिन्छ। यहाँ पटकपटक विश्व प्रसिद्ध पुरातत्वविद्हरुले उत्खनन् गर्दा तीन हजार वर्षअघिका संरचना फेला परेका थिए।

कुदान : कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दूरीमा पर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ। यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि प्राचीन कपिलवस्तुको राजा एवं बुद्धले आफ्ना पिता शुद्धोधन, रानी प्रजापती गौमती, श्रीमती तथा राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको स्थल हो।

यहाँ पुरातात्विक एंव धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तुप, एक पोखरी र एउटा इनार रहेका छन्। बुद्धसँगै आएका तीन सय भिक्षुले यस बगैंचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमा आएर भिक्षुलाई बुद्धले उपदेश दिनुभएको थियो भन्ने जनविश्वास रहेको छ। 

निग्लिहवा : कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर र तिलौराकोटबाट तीन किमीको यात्रापछि निग्लिहवा पुगिन्छ। यसलाई शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ। यहाँ सम्राट अशोकले ई।पू २४९ मा शिला निर्माण गरेका थिए। अहिले उक्त स्तम्भ ढलेको छ। 

गोटिहवा : क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ। क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्ति गरेपश्चात् पहिलोपटक बुबासँग भेट भएको पवित्र स्थलको रुपमा गोटिहवालाई लिइन्छ।

इपूको तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए। शाक्यमुनि बुद्धको जीवनको अन्त्यतिर शाला राज्यका राजा बिरुढकले प्राचीन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको स्थानको रुपमा सगरहवालाई चिनिन्छ। रासस 


प्रकाशित : सोमबार, असोज २८ २०८११३:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend