काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको उजुरीका विषयमा छानबिन गर्न विवरण मागिएको छ।
पछिल्लो सात वर्षदेखि कार्यकारी निर्देशकको भूमिकामा रहेका घिसिङलाई ऊर्जा मन्त्रालयले विभिन्न विषयमा विवरण मागेको छ।
मन्त्रालयको सचिवस्तरीय निर्णयबाट १५ बुँदामा प्रश्न गर्दै सबै विवरण माग गरेको हो।
खरिददेखि व्यवस्थापन, वैदेशिक भ्रमणदेखि बेरुजुसम्मका विषयमा मन्त्रालयले घिसिङलाई १५ दिनभित्र जवाफ दिन भनेको हो।
पछिल्लो समय निजी क्षेत्रसँग घिसिङको विवाद बढिरहेको थियो। डेडिकेटेड र ट्रंकलाइनको शुल्क उठाउने विषयमा घिसिङको निजी क्षेत्रसँग टसल बढेको थियो। यही टसलमा वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रले राजनीतिक आरोप पनि लगाउँदै आएको थियो।
प्राधिकरण र त्यसको नेतृत्वको आडमा माओवादीले राजनीतिक गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली झन क्रुद्ध बनेका छन्।
१५ दिनभित्र घिसिङले जवाफ दिएपछि जवाफ चित्त बुझे वा नबुझेको मूल्यांकन गरेर फेरि अर्को प्रक्रियामा जाने तयारी भएको मन्त्रालय निकट स्रोतले जानकारी दिएको छ।
‘अहिले सोधिएको स्पष्टीकरणभन्दा पनि विवरण माग गरिएको हो। विवरण उपलब्ध भएपछि खास स्पष्टीकरण त्यसपछि सोधिन्छ यदि चित्त नबुझेमा’ स्रोतले भन्यो।