काठमाडौं- लामो समय विश्वबजारमा ड्रागन फ्रुट उत्पादन र निर्यातमा एकछत्र राज गरेको भियतनाममा अहिले यसको अन्तर्राष्ट्रिय व्यापार खस्कँदो छ। यसको मुख्य कारण हो भियतनामी ड्रागन बजारको मेरुदण्ड चीनले उत्पादन बढाउनु।
उत्पत्तिको यकिन प्रमाण नभेटिए पनि अमेरिकाको रैथाने अनुमान गरिएको यसको वंश जोगाउने, हुर्काउने र विश्व बजारसम्म पुर्याएर ख्याति दिलाउने काम भियतनामले गरेको हो। दक्षिणपूर्वी एसियामा लोकप्रिय ड्रागन फ्रुटको विश्वको अग्रणी निर्यातक तथा उत्पादक कहलिएको भियतनाम विश्व बजारमा यसको निर्यात गर्ने पहिलो देश पनि हो। जहाँ यसको खेती व्यापक विस्तारित छ।
यद्यपी पछिल्लो समय भने यसको उत्पादनमा विश्वका गरिबदेखि सम्भ्रान्त देशहरूसमेत प्रतिस्पर्धीको लाममा खडा छन्।
वर्षौँदेखि निर्यात र उत्पादनमा पहिलो नम्बरमा रहँदै आएको भियतनामलाई उछिनेर शीर्षको पदवी हात पार्न अग्रपंक्तिमा छ चीन। उसले सन् २०२१-२२ मै ड्रागन फल खेतीको क्षेत्रफल र उत्पादनमा पहिलो भएको घोषणासमेत गरिसकेको छ।
विश्वमै सबैभन्दा धेरै ड्रागन फ्रुट उपभोग गर्ने चीनले कोभिड १९ पछि विभिन्न बहानामा आयातमा रोक लगाएर भियतनामी उत्पादनलाई निरुत्साहित गर्दै आक्रामक रूपमा खेती विस्तार गरी आपूर्तिको कमी स्वदेशकै उत्पादनबाट पूर्ति गर्न लागिपर्यो। फलस्वरूप भियतनामी उत्पादन र बजार भने खुम्चन पुग्यो।
चीनले सन् २०२२ मा ६७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा ड्रागन खेती विस्तार गरी १.६ मिलियन टन उत्पादन गरेर विश्वको सबैभन्दा ठूलो ड्रागन फल उत्पादक बनेको घोषणा गरिसक्दा भियतनाममा भने खर्बौँको व्यापार अर्बमा साँघुरिन पुग्यो।
भियतनाममा सन् २००० मा ५ हेक्टर आसपासको क्षेत्रफलमा सीमित खेती २००५ मा झन्डै ५० प्रतिशतले बढेर ९ हजार हेक्टरमा विस्तार भएको थियो। २०१० सम्म आइपुग्दा १५ हजार हेक्टरमा पुगेको खेती अहिले ५० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा हुन थालेको छ। भियतनाममा सन् २००१ मा करिब ५० हजार टनमा सीमित उत्पादन २०१३ मा ५८५ हजार टन पुगेको थियो भने हाल करिब १.३ मिलियन टन उत्पादन हुन्छ।
२०२० मा ६५ हजार हेक्टरमा पुगे पनि कोभिडपछि निकै घटेर २०२३ सम्म आइपुग्दा ५५ हजार हेक्टर आसपासमा खुम्चिन पुगेको हो। जब कि यसको खेती चीनमा २०११ मा करिब ३-४ हजार हेक्टरमा सीमित थियो।
भियतनाममा उत्पादन र निर्यातमा गिरावट आइरहँदा चीनमा भने ड्रागन फल खेतीको क्षेत्र र उत्पादन विगत केही वर्षयता १० गुणाले बढेको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। चिनियाँ ड्रागन फलको करिब ७० प्रतिशत गुआङ्सी र ग्वाङ्डोङमा उत्पादन गरिन्छ।
चीनले द्रुत गतिमा उत्पादन बढाएसँगै अहिले भियतनामले आफ्नो प्रभुत्व कायम राख्न ड्रागनको उत्पादनमात्र नभएर गुणस्तरमा पनि ध्यान केन्द्रित गरिरहेको छ। एसियादेखि युरोप, अमेरिकासम्मका देशहरू यसको उत्पादनमा कम्मर कसेर लागिपरेका छन्। स्थानीयदेखि संघीय सरकारसम्मले यसको खेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहन गरिरहेका छन्।
अति विपन्नदेखि सर्वसम्पन्न देशहरूसमेत किन ड्रागन फलको पछाडि दौडिरहेका छन् त?
बहुवर्षीय। बाह्रमासे नगदेबाली। मूल्य र माग विश्वबजारमै उच्च। एकपटकको लगानीले १५ देखि २०-२५ वर्षसम्म ढुक्क। मेहनत कम किसानलाई पनि सुख...! स्वास्थ्यका दृष्टिकोणले समेत अत्यधिक लाभदायी मानिने ड्रागन फलले मुलुकको अर्थ-स्वास्थ्य दुवैलाई एकसाथ मजबुत बनाउने सामर्थ्य राख्ने भएकै कारण यसले विश्वकै ध्यान खिचेको हो।
कुनै कालखण्डमा साजसज्जामा प्रयोग हुँदै आएको ड्रागन व्यावसायिक बनेको उति लामो समय बितिसकेको छैन। संसारकै उदीयमान फलका रुपमा सूचीकृत ड्रागन फलको व्यावसायिक खेती १९८०-९० को दशकदेखि भियतनाममा थालिएको प्रमाणहरू पाइन्छ। भनिन्छ, १९औँ शताब्दीको मध्यमा फ्रान्सेलीले त्यहाँ यसको प्रवेश गराएका थिए।
सिउँडीको प्रजाति मानिने ड्रागन फलबारे १३औँ शताब्दीको सुरुमा पहिलोपटक एजेक्ट संस्कृतिमा उल्लेख तथा वर्णन पाइन्छ। सजावटमा प्रयोगमा आएको लामो समयपछि मात्रै यो फलफूल बालीका रुपमा विकसित भएको हो।
पृथ्वीमा यसका करिब १४० प्रजाति पाइन्छन्। हाइलोसेरियस अन्डाटस, हाइलोसेरियस मेगालेन्टस र हाइलोसेरियस पोलिरिजस गरी यसका तीन प्रकार छन्। यसको लहरा एक डरलाग्दो जीव ड्रागनको जिब्रो जस्तो देखिने भएकै कारण यसलाई ‘ड्रागन फल’ नामाकरण गरिएको हो।
यसको उत्पत्ति अज्ञात छ, यद्यपी यो दक्षिणी मेक्सिको र मध्य-अमेरिका खासगरी ग्वाटेमाला, कोस्टारिका र एल साल्भाडोरको प्यासिफिक क्षेत्रको मूल निवासी हुनसक्ने अनुमान गरिएको छ।
यसका नाम देशैपिच्छे अलगअलग छन्। मेक्सिकोमा पिथाया भनेर चिनिने यो मध्य र दक्षिण अमेरिकामा पिताया रोजा नामले परिचिति छ। स्ट्रबेरी पियरसमेत भनेर चिनिने ड्रागन फललाई भारतमा कमलम, थाइल्याण्डमा पिथाजाह भनिन्छ भने नेपालमा यसलाई सिउँडी फलको नाम दिइएको छ।
सुक्खा क्षेत्रमा फस्टाउने यसका फूलहरू निशाचार हुन्। केवल रातमा मात्रै फुल्छन्। यसकारण यसलाई ‘मुनफ्लावर’ र ‘लेडी अफ दि नाइट’ पनि भनिन्छ। फूलको आयु लगभग ८ घण्टाको हुन्छ। कोपिलाबाट फूल बन्न करिब २१ र फूलबाट फल बन्न लगभग ३० दिन लाग्छ। यसले वार्षिक चारदेखि ६ पटकसम्म फल दिन्छ।
यो गुलाबी, रातो, बैजनी, पहेँलोलगायत विभिन्न रंगको हुन्छ। रातो बोक्रा सेतो गुदी, रातो बोक्रा रातो गुदी र पहेँलो बोक्रा सेतो गुदी गरी मुख्यतया तीनथरीका ड्रागन बजारमा देख्न सकिन्छ। रातो बोक्रा बैजनी गुदी भएको ड्रागन पनि पाइन्छ। यो फलको गुदीमा काला मसिना दानाहरू हुन्छन् जुन किवीको बीउजस्तै देखिन्छ।
पूर्वी एसिया, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, संयुक्त राज्य अमेरिका, क्यारेबियन, अष्ट्रेलियालगायत विश्वको उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय अर्थात ज्यादै गर्मी हुने क्षेत्रहरूमा यसको खेती फस्टाउँछ।
पछिल्लो समय भियतनाम र चीनसँगै थाइल्यान्ड, श्रीलंका, मेक्सिको फिलिपिन्स, ताइवान, मलेसिया, भारत, इजरायललगायत ३० भन्दा बढी देशहरूमा ड्रागन फलको खेती द्रुतरुपमा व्यापक विस्तार भइरहेको छ।
एसिया र युरोपको ठूलो बजार हिस्सा ओगटेको भियतनामी ड्रागन अमेरिकासम्म पुग्छ। देशको फलफूल निर्यात कारोबारको ५५ प्रतिशत राजस्व यसैले ओगटेको छ। भियतनामले मुख्यतया गुलाबी बोक्राभित्र सेतो गुदी भएको ड्रागन फलाउँछ।
एसियामा भियतनाम चिनियाँ बजारको प्रमुख आपूर्तिकर्ता हो भने थाइल्यान्ड र इजरायल युरोपेली बजारमा ड्रागन फलका दोस्रो र तेस्रो ठूलो आपूर्तिकर्ता हुन्। भौगोलिक लाभका कारण संयुक्त राज्यमा मेक्सिको, मध्य र दक्षिण अमेरिका एसियाली ड्रागन फ्रुट आपूर्तिकर्ताहरूको ठूलो प्रतिस्पर्धी हुन्।
एसियाली बजारमा भियतनाम, थाइल्यान्ड, ताइवान र श्रीलंका अग्रपंक्तिमा छन् भने मध्यपूर्वमा इजरायल तथा अमेरिकामा मेक्सिको, कोलम्बिया, इक्वेडर, ग्वाटेमालाको बजार छ। यस्तै मध्य-अमेरिकी मुलुक निकारागुआले अमेरिका, क्यानडा, युरोप र जापानी बजारमा रातो ड्रागन पठाउँछ।
कोलम्बिया पहेँलो ड्रागनको प्रमुख आपूर्तिकर्ता हो। इक्वेडरले पहेँलो र रातो ड्रागन फल दुवै उत्पादन गर्छ। ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, कोस्टारिकामा भने यो साना बगैँचामा सीमित बनेको छ। अष्ट्रेलिया र हवाईलगायत धेरै देशहरू पनि यसको विस्तारमा जुटिरहेका छन्।
कफी चामललगायतको तुलनामा ड्रागनको उपभोग एसियाबाहिर त्यति व्यापक छैन, यसको मुख्य उपभोक्ता र बजार एसिया नै हो। यद्यपी पछिल्ला आँकडाहरूले विश्वमा यसको माग व्यापकरुपमा बढिरहेको र विशेषगरी एसियाबाहिर ड्रागनको नयाँ बजार विस्तार भइरहेको देखिन्छ। बजारको फैलावट तथा आकार कत्रो हुन्छ, बजार दीर्घकालीन हुन्छ या हुँदैन भन्ने कुरा भने गुणस्तर, बजारीकरण, स्वाद र मूल्यमा भर पर्छ।
विशेषगरी चीन एसियामा मात्र नभएर विश्वमै ड्रागन फलको सबैभन्दा ठूलो उपभोक्ता हो। पछिल्लो समय इन्डोनेसिया, सिंगापुर, थाइल्यान्ड र फिलिपिन्समा पनि ड्रागन फ्रुटको माग बढिरहेको छ। त्यसकारण उनीहरूले उत्पादनमा जोड दिइरहेका छन्। जापान, कोरियाजस्ता केही एसियाली देशहरूमा पनि ड्रागन फलबाट हुने स्वास्थ्य लाभका कारण यसप्रति चासो बढ्दै गएको पाइन्छ।
युरोपेली बजार ताजा फलफूल र तरकारीहरूको विश्वको अग्रणी आयातकर्ता हो। साथै यो नयाँ उत्पादनहरूको लागि एकदमै उदार पनि छ। त्यसकारण पनि मूल्य उच्च तर व्यापक बजारीकरण नभए तापनि ड्रागनले यहाँ व्यापक उपभोक्ता पाइरहेको छ।
युरोपेली बजारहरूमा ड्रागन फलको बजार अझै प्रारम्भिक चरणमै रहेपनि स्पेन र इटालीजस्ता देशहरूले भने उपभोग तीव्ररुपमा बढाइरहेका छन्। यदि यसको मूल्य घटाउने र यसका लाभबारे प्रचार गर्ने हो भने छोटो समयमै युरोपेली देशका अधिकांश जनसंख्याको पहुँचमा यो पुग्ने सम्भावना छ।
अमेरिका पनि ड्रागनको राम्रो उपभोक्ता हो। उच्च एसियाली तथा भियतनामी समुदायका कारण ड्रागन फलको माग यहाँ पनि उच्च छ। अन्य समुदायमाझ त्यति परिचित नभए पनि विश्लेषकहरू भने निकट भविष्यमा यसको बजार यहाँसमेत द्रुतगतिमा बढ्ने दाबी गर्छन्। फ्लोरिडा र क्यालिफोर्नियामा खेती थालिनुले पनि यहाँ माग, बजार तथा उपभोग विस्तार भइरहेको अनुमान गर्न सकिन्छ।
दक्षिणपूर्वी एसियामा सर्वाधिक लोकप्रिय ड्रागनका शीर्ष उत्पादक, निर्यातक र आयातकर्ता सबै एसियामै छन्। शीर्ष १० ड्रागन फल उत्पादन गर्ने देशहरूमा भियतनाम, चीन, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, अमेरिका, मेक्सिको, कोलम्बिया, भारत, फिलिपिन्स छन्।
विश्वको ड्रागन फल उत्पादनमा तीन प्रमुख देशहरू भियतनाम, चीन र इन्डोनेसियाले ९० प्रतिशतभन्दा बढी योगदान गर्छन्। भियतनामको मात्र विश्व उत्पादनको झन्डै आधाभन्दा बढी हिस्सा छ। भियतनाम र चीन उत्पादनमा पहिलो र दोस्रो हुँदा इन्डोनेसिया करिब १० प्रतिशतको योगदानसहित शीर्ष तीनमा छ।
भियतनामको निर्यातमुखी फल ड्रागन उत्पादनको लगभग २० प्रतिशतमात्र आन्तरिक खपत हुन्छ भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निकासी हुन्छ। भियतनामको बिन्ह थुआन ड्रागनको मुख्य उत्पादन क्षेत्र हो। राष्ट्रिय उत्पादन र क्षेत्रको झन्डै ५० प्रतिशत यहाँ उत्पादन हुन्छ। एक शताब्दीभन्दा बढी समयदेखि यहाँ ड्रागन उत्पादन हुँदै आएको छ। त्यहाँ यो फललाई 'थान्ह लङ' भनिन्छ।
बोक्रा गुलाबी र गुदी रातो हुने ड्रागन फलाइरहेको चीनले खेती विस्तार गरेसँगै आफ्ना नागरिकलाई भियतनामबाट आयात गरेकोभन्दा सस्तो मूल्यमा खुवाइरहेको छ। यसको व्यावसायिक खेतीले गरिबीसँग लड्न किसानलाई सहयोग पुर्याइरहेको चीनको अनुभव छ।
अमेरिकी क्षेत्रमा जन्मिएर एसियामा हुर्किएको ड्रागनको बजार युरोपउन्मुख देखिन्छ। यो शताब्दीकै 'अद्भुत फल’ ड्रागनको आगामी वर्षमा बजारको आकार निकै चौडा हुने प्रक्षेपण गरिएको छ।
ड्रागन फल खेतीमा विश्वकै आकर्षण बढिरहँदा यता बजार हिस्सा गुमाउँदै गएको भियतनाम भने अब गुणस्तरमा वृद्धि गर्दै दीर्घकालीन बजार सुनिश्चितताको मार्गमा अग्रसर छ। गुणस्तर सुधार गर्न नसके आगामी दिनमा निर्यातमा कठिनाइ हुने उसले आकलन गरिसकेको छ।
भविष्यमा ड्रागन फलको बजार फैलँदै जाँदा प्रतिस्पर्धा व्यापक हुने देखिन्छ। भोलि बजारै नपाउने स्थितिबाट जोगिन त्यहाँको सरकार प्रोत्साहन तथा प्रवर्द्धनमुखी योजना ल्याएर किसानको मनोबल बढाउनतर्फ क्रियाशील छ।
सन् २०१७ देखि ड्रागन आयात थालेको छिमेकी देश भारतले समेत करिब ३ हजार हेक्टरबाट आगामी पाँच वर्षमा ५० हजार हेक्टरमा खेती विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। भारतमा १९९० को दशकमा भित्रिएको ड्रागनको व्यावसायिक खेती थालिएको लगभग दुई दशकमात्रै भएको छ।
छिमेकी देशहरू जोडतोडले विकासमा लागिरहँदा नेपालमा पनि किसानहरू यसको उत्पादनमा चासो दिन थालेका छन्।नेपालमा विसं २०५७ सालमा भित्रिएको ड्रागनको २०७० को दशकमा व्यावसायिक खेती थालिएको बताइन्छ। यसको बजार मूल्य आकर्षक हुनाले यहाँ पनि व्यावसायिक खेतीको सुरुवात त भएको छ तर विस्तार भने सन्तोषजनक देखिँदैन।
नेपालमा उदीयमान फलको रुपमा रहेको यसको खेती हाल दाङ, रुपन्देही, चितनव, मकवानपुर, गोरखा, झापा, सुनसरी, काभ्रे, धनकुटालगायत जिल्लाहरूमा व्यावसायिक रुपमा गरिएको छ। ड्रागन फलको उत्पादन र बजारीकरण बढाउने हो भने ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना साकार पार्ने अस्त्र बन्नसक्ने जानकारहरू बताउँछन्।
ड्रागन फलले कृषकको सिंगो जीवनस्तर एवं मुलुकको आर्थिकस्तरसमेत उकास्ने सामर्थ्य राख्छ। उष्ण तथा उपोष्ण हावापानी भएका स्थानहरूमा फलाउन सकिने यसको व्यावसायिक खेतीका लागि सुरुवाती लगानी ज्यादा भए पनि यसले दीर्घकालसम्म उच्च प्रतिफल दिन्छ।
यसको बिरुवाले रोपेको दुई वर्षमा फल उत्पादन सुरु गर्छ भने पाँच वर्षमा पूर्णरुपमा फल दिन्छ। केही वर्ष लगानीसमेत 'होल्ड' हुने हुँदा कृषिमा जोखिम मोल्न नचाहने तथा निम्नवर्गीय किसानलाई यसमा मेहनत लगाउनु चुनौतीपूर्ण लाग्न सक्छ। तर यसको बिरुवा पूर्णरुपमा सक्षम भएपछि भने वर्षमा नै चारदेखि ६ पटकसम्म फल दिन थाल्छ। २५ वर्षे लाभ त छँदैछ। यसमा रोग, कीराको संक्रमण पनि कम छ।
कृषिविज्ञका अनुसार यो छिटो वृद्धि हुने, लहरे, हावामा जरा निस्कने र अन्य चिजको सहारा (टेको चाहिने) फलफूल बाली हो। यसको फूल बैशाखदेखि मङ्सिरसम्म फुलिरहन्छ र फूल फुलेको २५/३० दिनमा फल टिप्न तयारतयार हुन्छ। जेठदेखि पुस महिनाको अवधिमा ६ पटकसम्म फल टिप्न सकिन्छ।
ड्रागन फ्रुटका औसत उत्पादन ५/६ टन/एकड हो। उत्पादन थालेको तेस्रो वर्षपछि औसत उत्पादन १०/१२ टन प्रतिहेक्टर हुन्छ भने राम्रो व्यवस्थापन भएमा १७/२७ टन प्रतिहेक्टर उत्पादन लिन सकिन्छ।
नेपालको पूर्वी तथा मध्य तराई क्षेत्रमा यसको खेतीको सम्भावना प्रबल छ। स्वादिष्ठसँगै अतीव स्वस्थकर मानिने ड्रागन फलको बिरुवा द्रुत गतिमा बढ्ने, बाह्रमासे र एकपटक लगाएपछि झन्डै २० देखि २५ वर्षसम्म निरन्तर फल दिने हुँदा किसानका लागि राम्रो आम्दानीको स्रोत बन्न सक्छ।
नेपालले पनि उत्पादनमा प्रोत्साहन दिएर किसानलाई यसमा जोड्दै लैजान सके फलदायी हुने देखिन्छ। उत्पादन बढाउँदै विश्व बजारको प्रतिस्पर्धी ढोका खोल्नेतर्फ पनि काम सुरु गर्नु उपयुक्त हुन्छ। सबै देश यसको उत्पादनमा बढिरहँदा नेपालले निर्यातमा प्रतिस्पर्धा गर्न नसके स्थानीय बजारमात्र सधैँ पर्याप्त होला त?