काठमाडौं- मेलम्चीको पानी उपत्यकाबासीका लागि सधैँ बल्झिरहने दु:खको कथा बनेको वर्षौँ भइसक्यो। गफ सुरु भएको पाँच दशक र काम सुरु भएको तीन दशक भइसक्दा पनि कथा नै बनिरहेको मेलम्ची देखिने र हराउने भइरहेको छ। मुहान वरपरका नागरिकको दु:ख त अझ कहिसाध्य छैन।
पछिल्लो पटक खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपभोक्ताका घरमा पुगे नपुगेको जाँच गर्न गत मंगलबार निर्देशन दिए। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल)को जिम्मेवारी जनतालाई पानी वितरण गर्ने भएकाले मेलम्चीबाट आएको पानी जुनसुकै हालतमा उपभोक्ताको घरमा पुग्नुपर्नेमा मन्त्री यादवको जोड थियो। यसअघि पनि हरेक खानीपानी मन्त्रीको प्रमुख काम नै मेलम्ची नै रहँदै आएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल चैत २० गते पानी वितरण कार्यक्रमको उद्घाटन गरेपछि पनि उपत्यकाका पानी आउने बन्द हुने नियमित नै भइरहेको छ। नेताका भाषणबाट बाँडिने सपनामात्र बनिरहेको मेलम्ची यथार्थ भएको विश्वास हुन थाले पनि स्थायी बन्न सकेको छैन।
पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो। तर मेलम्चीको पानी वितरणमा तामझामले उद्घाटन गरिएको भृकुटिमण्डपकै धारा अहिले बेहाल अवस्थामा छ। बाढी पहिरोले क्षतिग्रस्त मेलम्ची मुहानको चित्र त अझ बिरूप छ। पानी ल्याइपुर्याएर विश्वासमा बदलिएको मेलम्ची अझै पनि पर नै छ।
यसमा भइसकेको काममा प्राकृतिक प्रकोपले असर पारिदियो भनेर दया गर्न मिल्ने ठाउँ छैन। सम्भावित जोखिमको सबै अध्ययन नहुनु आयोजनामा सबैभन्दा ठूलो भुल रहेको प्रकृतिले देखाइदिएको छ। परीक्षणका रूपमा उपत्यकामा पानी ल्याइपुर्याएको मेलम्ची सुरुङ खाली गराउने काम सुरु गर्नै लाग्दा मेलम्ची नदीमा वर्षायाममा आएको बाढीले आयोजनामा प्रभाव पारेको थियो।
सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रशाद लामिछानेले बताएका छन्।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ। बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो। उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ। मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि केयूकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो।
विसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा त्यहाँको पानी वितरण हुन सकेको छैन। काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ। दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइने बताइएको छ। तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन।
मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा एक हजार सात सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ। स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानी पोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा सात सय ६० किमिमध्ये करिब सात सय किमिपाइप बिछ्याइएको मेलम्ची उपआयोजना-२ ले जनाएको छ। आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना-२ ले जनाएको छ।
पुर्खाले स्थापित बनाएको पानी प्रणाली ध्वस्त पारेर काकाकुल बनिरहेको उपत्यका जारको पानीमा निर्भर भइरहँदा मेलम्ची अझ स्थायी बन्न सकेको छैन।
काम कसरी नगर्ने? भन्ने उदाहरणमा नाम लिन मिल्ने बनिरहेको मेलम्चीले उपत्यकाको खानेपानीको मागलाई सहयोग गर्ने त छ तर अझै पनि पूर्ण विकल्प हुने छैन।
फर्केर हेर्दा
जुन समयमा मेलम्चीको योजना बनेको थियो आज परिस्थिति भिन्न बनिसकेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटिमण्डपमा मेलम्चीको उद्घाटन गर्दा पनि परिकल्पनाकारका रुपमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई स्मरण गरेकी थिइन्।
२०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरेका थिए। त्यसअघि नै उपत्यकामा खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न २०२९ सालमा अध्ययन भएको थियो। अध्ययनपछि नै २०४१ सालमा मेलम्चीसहित २२ विकल्प पहिचान गरिएका थिए।
२०४९ सालमा याङ्ग्री र लार्केसमेत मिसाएर दैनिक ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर भएको थियो। सरकारले २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम सुरु गर्यो। समिति गठन भएको तीन वर्षपछि २०५८ मा एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भयो।
काम सुरु हुँदा सात वर्षभित्र मेलम्चीको काम सक्ने लक्ष्य राखिएको थियो। तर सरकारले एडीबीको ऋण सर्त पालना गर्न नसक्दा काम प्रभावित भयो। त्यसपछि पनि निर्माण कम्पनीहरूसँगको ठेक्का तोडिने, नयाँ ठेक्का हुने क्रम जारी रह्यो।
सरकारले ऋण सर्त पूरा गर्न नसकेपछि एडीबीले थप ऋण दिन र सुरुङमार्ग निर्माणको अनुमति दिएन। २०६४ मा सरकारले ऋण सर्त पालना गरेपछि एडीबीले २०७० सम्म समयावधि थपेर सुरुङमार्ग निर्माणको अनुमति दिएको थियो।
२०६४ सालमै २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गर्यो। अर्को वर्ष चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसी) नामक चिनियाँ कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो। तर तीन वर्षमा १५ प्रतिशत मात्रै काम गर्यो। एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सीआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडियो।
२०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो। जसबाट इटालियन कम्पनी सीएमसीले ठेक्का पायो। ठेक्काअनुसार २०७३ मा काम सकाउनुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण काम रोकियो। जसले सीएमसीको म्याद थप भइरह्यो। अन्तिम म्यादअनुसार २०७५ फागुन ३ मा सीएमसीले काम सक्नुपर्ने थियो। तर मंसिर २९ मै सीएमसीले काम छोड्यो र आयोजनाले माघ २४ मा ठेक्का सम्झौता रद्द गर्यो।
इटालियन कम्पनी भागेपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले मेलम्चीमा काम गरिरहेको हो। मेलम्चीको पानी २०७७ फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो। २०७७ चैत १५ गते मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकाका केही घरमा पठाइए। जसपछि तत्कालीन प्रधानमन्त्री ओली अघि सरेर हतार हतार २०७७ चैत २० मा उद्घाटन गरे।
भीमकाय खर्च
एसियाली विकास बैंक, विश्व बैंक, जेबिक, नोराड, सिडा, जापान सरकार, ओपेक जस्ता दातृसंस्थासँगै नेपाल सरकारको समेत गरेर मेलम्चीमा ४६ अर्ब रूपैयाँभन्दा बढी खर्च भइसकेको छ।
मेलम्ची आयोजनाको पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बुअन्तर्गत मेलम्ची नदीको हेडवर्क्सदेखि काठमाडौंको सुन्दरीजलसम्म करिब २६ किलोमिटर लामो सुरुङ निर्माण गरी दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने साथै काठमाडौंको सुन्दरीजलमा दैनिक १७ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गर्नेगरी काम भएको हो।
दोस्रो चरणमा याङ्ग्री तथा लार्के नदीबाट १७/१७ करोड लिटरका दरले थप दैनिक ३४ करोड लिटर पानी मेलम्ची नदीको रिवर्मा मुहानसम्म डाइभर्सन गर्न अनुमानित ११ किलोमिटर लामो सुरुङ निर्माण गरी दैनिक ५१ करोड लिटर पानी सुन्दरीजलमा पथान्तरण गर्ने योजना हो।
दोस्रो चरणमा नै काठमाडौंको सुन्दरीजलमा थप ३४ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गर्ने योजना रहेको छ। अहिले पहिलो चरणकै काम प्रभावित भइरहँदा अरू काम झनै पछि धकेलिएको छ। बाढी पहिरोका कारण प्रभावित काम अब कसरी मिलाउने र उक्त क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन पूर्ण हुन सकेको छैन।
मेलम्चीमा दोस्रो चरणको योजना नजोडिने हो भने आवश्यक माग पूरा गर्न नकस्ने मेलम्चीको सपना महँगो भइरहने छ। अहिले मेलम्ची आउँदा पूरा नहुने उपत्यकाको पानीको मागमा याङ्ग्री र लार्केको पानी मिसाउन नमिल्ने हो भने एक्लो मेलम्ची छिटा सेचनसरह नै हुनेछ। अब त धेरैलाई लाग्नेछ- 'सीमितको फाइदाका लागि हामी धेरैले बेकारमा मेलम्चीको सपना पालिरह्यौँ।'