मंगलबार, मंसिर १८ गते २०८१    
images
images

पुरानै नोटले काम चलाउनु पर्दा ख‍ल्लो बनेको दसैँ

images
शनिबार, असोज २६ २०८१
images
images
पुरानै नोटले काम चलाउनु पर्दा ख‍ल्लो बनेको दसैँ

जनताका लागि खरिने खर्चलाई बोझको रुपमा लिने राष्ट्र बैंकको बुझाइ आफैमा गलत देखिन्छ। जब कि राष्ट्र बैंकले आफ्नो कर्मचारीको तलबभत्ता, तालिम र विदेश भ्रमणका नाममा अर्बौँ खर्च गर्ने गर्छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले नोट छपाइका लागि समयमा नै टेण्डर गर्न नसक्दा यसपटक दसैँमा सर्वसाधारण नयाँ नोट पाउनबाट बञ्चित भएका छन्।

images
images
images

दसैँको समयमा नयाँ नोट वितरण गर्दा नोट छपाइको लागत बढ्ने हुँदा नयाँ नोटभन्दा सुकिला पुराना नोट नै वितरण गरिएको राष्ट्र बैंकले दाबी गरेपनि भित्रि रहस्य भने फरक छ। नयाँ नोट निष्कासनको टेण्डर प्रकृयामा भएको ढिलाइका कारण नै दसैँमा नयाँ नोट दिन नसकिएको राष्ट्र बैंककै केही अधिकारीहरू बताउँछन्।

images

संघीय संसदले संविधान संशोधन गर्दै लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा पारित गरेपछि राष्ट्र बैंकले नयाँ नोट निष्कासन गर्न सकेको छैन।

images

शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट चुच्चे नक्सासहित नोट निष्कासन गर्ने निर्णय गरेपनि राष्ट्र बैंकले नोट छपाइका लागि टेण्डर आह्वान गरेको छैन। खासगरी राष्ट्र बैंकले १०० रुपैयाँको नोट छपाइ नगर्दा यसपटकको दसैँमा नयाँ नोट वितरणमा समस्या भएको राष्ट्र बैंक स्रोत बताउँछ।

‘चुच्चे नक्साका कारण राष्ट्र बैंकले नयाँ नोट निष्कासन गर्न सकेको छैन। खासगरी १०० रुपैयाँको नोटको स्टक राष्ट्र बैंकसँग सकिएको छ। त्यसैले सुकिला नोटबाट काम चलाउने भन्दै राष्ट्र बैंकले नयाँ नोट वितरण नगरेको हो’, स्रोतले भन्यो।

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल भने चुच्चे नक्साका कारण नयाँ नोट वितरण भएन भन्नु निराधार हल्ला मात्रै भएको बताउँछन्। एकपटकमात्रै प्रयोग भएका नोटहरू बजारमा प्रशस्तै भएकाले राष्ट्र बैंकले नयाँ नोट वितरण नगरेको पौडेलले बताए। राष्ट्र बैंकले एकपटक धेरै वर्षलाई पुग्नेगरी नोट छाप्ने भएकाले बजारमा पठाउन नोटको अभाव नहुने पौडेलले बताए। 

‘चुच्चे नक्साका कारण नयाँ नोट राष्ट्र बैंकले वितरण गरेन भन्नु अनुचित हुन्छ। दसैँका समयमा नोट पठाउँदा अनावश्यक खर्च लाग्ने गर्छ। नयाँ नोट बजारमा पठाउँदा पुरानो नोट ल्याएर त्यसलाई नष्ट गर्नुपर्‍यो। यसमा जनताको ठूलो रकम जान्छ। यो अनावश्यक खर्च बचत होस् र एकपटक मात्रै प्रयोग भएको नोटको सदुपयोग होस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यसपटक नयाँ नोट नपठाउने निर्णय गरेको हो’, पौडेलले भने।

राष्ट्र बैंकले विगतमा एक पटकसम्म प्रयोग भएका र प्रयोग गर्न मिल्ने सुकिला नोट वितरण गरिने सूचना भदौ २६ गते जारी गरिसकेको छ। राष्ट्र बैंकले आइतबारबाट सुकिला नोट वितरणसमेत थालिसकेको छ।

विगतमा राष्ट्र बैंकले कुल नयाँ नोट निष्कासनको ६० प्रतिशत नोट दसैँको समयमा बजारमा पठाउने गरेको थियो। वर्षभरीमा नोट निष्कासन तथा पुराना नोट नष्ट गर्दा राष्ट्र बैंकले कुल एक अर्बको हाराहारीमा खर्च गर्ने गरेको बताइन्छ। यस हिसाबमा हेर्दा राष्ट्र बैंकले दसैँको समयमा ६० करोडको हाराहारीमा बजारमा नयाँ नोट पठाउने गरेको देखिन्छ।

नोट निष्कासन राष्ट्र बैंकको नियमित काम भएकाले यसलाई खर्चभन्दा पनि राष्ट्र बैंकको काम, कर्तव्य र अधिकारका रुपमा बुझ्नुपर्ने हो। नयाँ नोट निष्कासन गरेर बजारमा नोट अभाव हुन नदिनु राष्ट्र बैंकको प्रमुख काम पनि हो। तर यसलाई खर्च मान्नु आफैमा अनुचित देखिन्छ। यसै पनि दसैँ नेपालीहरूको प्रमुख चाड हो। यस समयमा सर्वसाधारणले नयाँ नोटको माग गर्नुलाई गलत पनि मान्न सकिँदैन।

जनताका लागि खरिने खर्चलाई बोझको रुपमा लिने राष्ट्र बैंकको बुझाइ आफैमा गलत देखिन्छ। जब कि राष्ट्र बैंकले आफ्नो कर्मचारीको तलबभत्ता, तालिम र विदेश भ्रमणका नाममा अर्बौँ खर्च गर्ने गर्छ।

यस्तै राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरदेखि कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई करौडौँ पर्ने महँगा गाडी खरिद गर्ने गरेको महालेखा परीक्षकको प्रतिवेदनमा नै उल्लेख गरिएको छ।

यसरी अनावश्यक खर्च गर्न र रवाफ देखाउन पछि नपर्ने राष्ट्र बैंकले जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने एकमात्रै सेवामा समेत गरिएको कन्जुस्याइँले जनतामा निराशा बढाउने देखिएको छ।

वर्षदिनको कडा परिश्रम र दु:ख भुलेर परिवारजनसँग रमाइलो गरेर मनाउने चाड हो दसैँ। आर्थिक अवस्थाले धानेसम्म दसैँमा नयाँ वस्तुहरूको प्रयोगमा नेपालीहरूले जोड दिने गरेका छन्। वस्तु खरिद गर्न रकम अभाव भएपनि दक्षिणाका लागि नयाँ नोट सटहीमा भने प्राथमिकता दिने गरेका छन्।

दसैँमा नयाँ नोटको चाहनालाई पूरा गर्न राष्ट्र बैंकले प्रत्येक वर्ष नयाँ नोट निष्कासनलाई प्राथमिकतामा राख्दै आएको थियो। तर यस वर्षको दसैँमा सुकिला नोट वितरण भएको छ। राष्ट्र बैंकले विगतमा १८ हजार ५ रुपैयाँ नयाँ नोट वितरण गर्दै आएको थियो। 

साना दरका ५, १०, २०, ५० र १०० का १००/१०० वटा नोटहरू राष्ट्र बैंकले वितरण गर्दै आएको थियो। ५०० र १००० का ठूला दरका नयाँ नोटहरू बैंक वित्तीय संस्थाहरूले आ-आफ्नो एटीएम वा सम्बन्धित शाखाबाट वितरण गर्ने गरेका थिए। तर यसपटक पुरानै नोटहरूले काम चलाउनुपर्नेमा बाध्यतामा नागरिक छन्।


प्रकाशित : शनिबार, असोज २६ २०८१०८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend