काठमाडौं- विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ। यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन्। नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन्।
नेपालमा ट्रेकिङको सम्भावना र महत्त्व देखेर नै विश्वका नागरिक यहाँ यसैका लागि आउने गर्दछन्। तर पनि यसको अस्तित्व जोगाउन भने हम्मेहम्मे परिरहेको देखिन्छ। अर्कातर्फ साहसिक पर्यटन भएकाले पनि व्यक्तिगत शारीरिक तथा स्वास्थ्य समस्या अर्काे ठूलो चुनौती हो। जोखिम मोलेरै गर्ने यात्रा हो ट्रेकिङ।
प्रकृतिले दिएको अनुपम उपहारको फाइदा उठाइरहँदा त्यसको संरक्षणमा जुट्नु सम्बद्ध निकायको दायित्व हो। तर पनि यसको संरक्षणको सट्टा पदमार्ग रुट एकपछि अर्काे गरी खण्डहर बनाउने काम जारी छ। यसका कारण नेपाली पर्यटनको मौलिकता हराइरहेको छ। सडक निर्माणका कारण अर्गानिक ट्रेकिङ रुट हराउँदैछन्।
कतिपय स्थानमा न्यूनतम पूर्वाधारको पनि अभाव छ। जथाभावीरुपमा शुल्क उठाउने प्रवृत्ति र आधुनिकताका नाममा अघि सारिएका निर्माण र व्यवहारले ट्रेकिङ क्षेत्रको मानमर्दन गरिरहेको पनि देखिएको छ। त्यसमा पनि व्यवसायीका कतिपय नकारात्मक गतिविधिले समेत असर गरिरहेको त छँदैछ।
जे भिल नेपाल ट्रेकिङ एण्ड एक्सपेडिसनका सञ्चालक होमनाथ भट्टराई शुल्क तिरेअनुसार चाहिने खास पूर्वाधार नभएकाले पैसा उठाउने मात्रै नीतिले समस्या परिरहेको बताउँछन्। उनका अनुसार अन्नपूर्णमा परमिट लिन्छ। लाङ्टाङ, मनास्लु पनि छ। मुस्ताङमा त ५०० अमेरिकी डलर नै लिन्छ। डोल्पोमा पनि प्रतिदिन शुल्क लिने गरेको छ। त्यो सबै संरक्षण क्षेत्रले लिन्छ। तर पूर्वाधार केही नभएको उनले बताए।
टानका सचिवसमेत रहेका उनले भने, 'बाटो अलिअलि बनाएका छन् अरु केही छैन। अप्ठ्यारो पर्दा हेलीमा उठाएर लैजानेभन्दा अरु विकल्प नै छैन। त्यसरी पैसा लिने गरेपछि बीमा पनि गरे हुन्थ्यो। पर्यटनलाई केन्द्रित गरेर सहयोग गरौँ भन्ने नै देखिँदैन। सल्लाह दिन खोज्यो कुन पार्टीको मान्छे हो भनेर हेर्ने गरिन्छ।'
उनका अनुसार मनास्लु जानुपर्यो भने त्यसको छट्टै कर छ, अलिकति अन्नपूर्ण छुन्छ, त्यहाँ छुट्टै लिन्छ। लजका आफ्नै मूल्य छन्। दुई लिटर पानी उमालेर दिएको पाँचसय रूपैयाँ तिर्नुपर्छ। एउटा अण्डाको पाँच सय रूपैयाँ तिरेर खानुपर्ने अवस्था पनि छ। उनले विदेशको अनुभव सुनाउँदै बाहिर पैसा लिने गरे पनि त्यहीअनुसारको पूर्वाधार राम्रो हुने गरेको र सुविधा दिने गरेको बताए।
अहिले त धेरै ठाउँमा बाटो पुगिसकेकाले त्यो ठाउँमा ट्रेकिङ हुन्न। रुट पनि सकिने अवस्थामा छन्। नयाँ रुट खोज्नुपर्ने र गाडी हिँड्ने रुट फरकफरक हुनुपर्ने उनको सुझाव छ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार ट्रेकिङ नेपालको उत्कृष्ट गन्तव्य हो। धेरै पर्यटक यसैका लागि नेपाल आउँछन्। तर सम्भावना भएर पनि चुनौती थपिँदै गएको टानको भनाइ छ।
सेप्टेम्बर, अक्टोबर नोभेम्बर, मार्च, अप्रिल, मे ट्रेकिङको मुख्य ‘सिजन’ हो। विदेशी अहिले कम जान्छन् भने आन्तरिक पर्यटक बढी गइरहेका छन्। सावधानी अपनाउँदा भने ट्रेकिङ गर्नलाई जुनसुकै समयमा पनि समस्या नहुने टानका महासचिव विनोद सापकोटा बताउँछन्।
अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ। सगरमाथा बेसक्याम्प, अन्नपूर्ण, मनास्लु, कञ्चनजंघा क्षेत्र ट्रेकिङका लागि राम्रा गन्तव्य हुन्।
नेपालमा अनुमानित दुई लाख बढीले ट्रेकिङ गर्ने गरेका बताइन्छ तर यकीन तथ्यांक भने छैन। नेपालमा ट्रेकिङ क्षेत्रमा पनि पर्यटक बढ्न थालेकाले व्यवसायी हर्षित भएका छन्।
व्यवसायी संसारको सबैभन्दा राम्रो ट्रेकिङ गन्तव्य नेपाल भएको दाबी गर्छन्। नेपालमा अझै पनि दुईसय ५० जति सम्भावित ट्रेकिङ क्षेत्र रहेका बताइन्छ। त्यसमध्ये नौ/१० वटाबाट मात्र फाइदा लिन सकिएको छ। अन्नपूर्ण, सगरमाथा, लाङ्टाङ, मुस्ताङ अनि डोल्पालगायत आकर्षक गन्तव्यका रुपमा चिनिन्छ। केही नयाँ रुटको प्रचार हुन सकेको छैन। रासस