काठमाडौं- सम्पदाले भरिपूर्ण नगरी गोरखा आफ्नो प्राचीन आनुकल्पिक स्वरुपमा कमजोर हुँदै गइरहेको छ। अतीतका याद धुमिल हुँदै आधुनिकताले छोपिरहँदा पनि केही यस्ता सम्पदा छन् जुन वर्षौंदेखि उही स्वरुपमा उज्यालिएको छ।
आफ्नोपनको नवीन मूलभूत सिजनात्मकता पस्किरहेको गोरखाको १ सय ८४ वर्ष पुरानो तल्लो दरबार नेपाल इतिहासको सत्ता द्वन्द्व र कलाशिल्पको कथामा बेजोड नमूना हो। बजार वरपर आधुनिक भनिने ईंटाका थुप्रो बढिरहँदा यो अड्डा भने संग्रहालयको स्वरुप पाएर आफ्नोपनको दाचि अपामा बलियो बनेको छ।
चौघेरा शैलीको दरबारले मौलिक कलासँगको पुरातात्विक महत्व मात्रै होइन तत्कालीन समयको राजनीतिक परिघटना बुझाउने हुँदा पनि विशेष छ। नेपाली वास्तुकलाको ऐतिहासिक महत्वका साथै दरबारिया दाउपेच र षडयन्त्रको उपजका कारण बनेको दरबार भएकाले यसको अध्ययन विशिष्ट छ।
गोरखा बसपार्कबाट थोरै उकालो चढेपछि आउँछ रानीपोखरी। त्यसको छेवैमा रहेको शिव, विष्णु र गणेशको मन्दिर हुँदै पँदेलीबाट ढुंगा छापेको बाटो पूर्व लागेपछि ठूलो आँगन पुगिन्छ। हालसालै पृथ्वीनारायण शाहको शालिक बनाइएको त्यसैकै दक्षिणतर्फ छ तल्लो दरबार। जुन नेपालको वास्तुकलाको इतिहासमा परम्परागत शैलीको सबैभन्दा कान्छो दरबार हो।
साँघुरिँदै गएको ठूलो आँगनमा कुनै बेला अड्डाको नामले चिनिने तल्लो दरबार अहिले भने गोरखा संग्रहालयका रुपमा रहेको छ। दरबारको मौलिक कलाका साथै अन्य पुरातात्विक सामग्रीको संरक्षण संग्रहालयमार्फत भइरहेको छ।
पृथ्वीनारायण शाह जन्मिएको गोरखाको माथिल्लो दरबारबारे धेरै कुरा इतिहास लेखनमा आइरहेकै छन्। भूकम्पपछि पुन:निर्माणमा ‘तमासा’ बनिरहेको माथिल्लो दरबारमा मौलिक शैलीमा काम नभएको गुनासा सुनिन्छन्।
माथिल्लो दरबारमा अनेक बखेडा चलिरहँदा तल्लो दरबार भने निरन्तर पर्यटकको स्वागतमा छ। संग्रहालय रहेको तल्लो दरबारमा गोरखा भूकम्पले बाहिरबाट नदेखिने गरी भित्री भागमा भएका क्षतिमा सुधारको काम पनि छिटै नै सकिएको थियो। बाहिरबाट देखिने गरी भएका क्षतिमा पनि समयमै पुन:निर्माण हुँदा पर्यटकलाई सहज भयो। दरबार वरपरको ६८ रोपनी क्षेत्र पार्कका रुपमा विकास भएकाले पनि दरबारको सुन्दरता थप बढेको देखिन्छ।
अहिले देखिने मौलिक सुन्दरतासँग तल्लो दरबार निर्माण समयको राजनीतिक, सामाजिक, आर्थिक पक्षहरूलाई जोडेर हेर्ने हो भने यसको भित्री कथा स्पष्ट हुन्छ।
विस १८९६ सालमा बनेको दरबारको मूलढोकामा काठमा कुँदिएको विष्णुको आकृति देख्न सकिन्छ। त्यही तोरणले नै यो दरबारबारेको धेरै कथा बताइदिन्छ।
दरबार निर्माणको प्रयोजन राजेन्द्र विक्रम शाहका रानीहरू जेठी राम्राज्यलक्ष्मी र कान्छी लक्ष्मीदेवीको आफ्नै छोरालाई राजा बनाउने हठसँग जोडिएको छ। विस १८९४ सालमा राजा राजेन्द्र विक्रमले भीमसेन थापालाई अपदस्थ गरेपछि सिर्जना भएको अन्योलको वातावरणले नै राजगद्दीमाथिको चलखेल बढेको थियो।
रानीहरूबीचको त्यही लडाइँका बीचमा कान्छी महारानीले राजगद्दी उत्तराधिकारीको परम्परागत नियमलाई तोडेर आफ्नो छोरालाई देशको बागडोर दिन प्रपञ्च रच्न थालेकी थिइन्। उनले आफू हाबी भएको अवस्थामा छोरा रणेन्द्रविक्रम शाहलाई राजा बनाउने र स्वभाविक राजगद्दीको उत्तराधिकारी सुरेन्द्रविक्रम शाहलाई व्यवस्थापन गर्नका लागि नै पुर्ख्यौली थलो गोरखामा लगेर राख्ने भन्ने योजनाका साथ यो दरबार बनेको हो।
कान्छी महारानीको षडयन्त्र सफल हुन भने सकेन। विस १९०३ सालमा कोत पर्व भएपछि घटनाक्रम फरक ढंगले विकसित हुने परिस्थिति देखापर्यो र सुरेन्द्रविक्रमलाई राजा नबनाउने प्रपञ्च तुहिएसँगै गोरखा तल्लो दरबार निर्माणको प्रयोजन पनि सकियो।
विस १९०३ सालमा शक्तिमा आएका जङ्गबहादुर युरोप भ्रमणमा गएर फर्किएपछि उनले युरोपेली शैलीकै दरबारलाई नेपालमा बनाउन प्रोत्साहित गरे। त्यसपछि नै नेपालमा परम्परागत शैलीका दरबार नबनेका कारण गोरखा तल्लो दरबार नै नेपालको वास्तुकलाको इतिहासमा परम्परागत शैलीको सबैभन्दा कान्छो दरबार हो।
पुरातात्विक सम्पदामा विशेष चासो राख्नेहरू सम्पदाभित्र लुकेका कथाहरू खोजिरहेका हुन्छन्। मड, मटारबाट निर्माण भएका सम्पदामा कसरी लाइम सुर्कीको प्रयोग हुन थाल्यो? काष्ठकलामा देखिने बुट्टाहरूले के बोलिरहेका हुन्छन्? चिल्ला देखिने दाचि अपा कसरी फुस्रो बन्दै गयो? जस्ता प्रश्नको उत्तरका साथै निर्माणभित्रका अन्य पाटो थाहा पाउन लागिपर्छन्।
जब सुरेन्द्र विक्रमलाई राख्ने प्रयोजनले बनाइएको दरबारको प्रयोजन सकियो तब राणा कालमा प्रमुख प्रशासनिक अड्डाका रुपमा यसको प्रयोग गरियो। विस २०४२ सालमा गोरखा दरबार संरक्षण परियोजना सञ्चालन नहुँदासम्म दरबारमा जिल्लाका महत्वपूर्ण सरकारी अड्डा रहेका थिए। त्यसैले कतिपय स्थानीय बासिन्दा अहिलेसम्म पनि तल्लो दरबारलाई अड्डाकै नामले चिन्छन्। कार्यालयहरू विस्तारै बाहिर सार्दै लगेपछि दरबारको मौलिक स्वरुप बचाइराख्न मद्धत पुगेको हो।
तल्लो दरबारको बीचमा चोक र चारैतिर एकआपसमा जोडिएको भवन छन्। जसमा एउटा मूलढोका छ। एउटा किल्ला जस्तो शैलीमा देखिने दरबार झलक्क हेर्दा नै मल्लकालीन शैलीको जस्तो लाग्छ। त्यसका पछाडि नेपालमा वास्तुकला परम्पराको निरन्तरताको कारण देखिन्छ। मल्लकालमा विकास भएको शैली कसरी शाहकालको पछिसम्म पनि निरन्तर थियो भन्ने दरबारले बोलिरहेको छ।
दरबारको निर्माण हुँदा आवश्यक कारिगर उपत्यकाबाटै लगिएको थियो भने सामानहरू गोरखामा नै बनाइएको थियो। पछि जिर्णोद्वारका क्रममा त कालिगर नपाएर नै लथालिङ्ग बन्ने स्थिति आउन लागेको थियो।
गोरखा दरबार संरक्षण परियोजनाको कामपछि दरबारको मौलिकता जोगाउन सहयोग पुग्यो। गोरखा दरबार संरक्षण परियोजनाले माथिल्लो दरबारका साथै तल्लो दरबारसम्मको काम विस २०५८ सालसम्ममा सकायो। परियोजनाको काम सकिएपछि नै पृथ्वी स्मृति संग्रहालयका रुपमा विकास गर्ने काम अघि बढेको थियो। तर राजनीतिक घटनाक्रमका कारण नाममा उठेका सवालले गोरखा दरबार संग्रहालयका नाममा सर्वसाधारणका लागिसमेत विस २०६५ सालमा दरबार खुला भयो।
पुरातात्विक वस्तुको देखिने पक्ष जति महत्वपूर्ण छन् त्यसभित्रका नदेखिने पक्षहरू जोगाउन पनि उति नै आवश्यक देखिन्छ। त्यसैको उदाहरण बनेको छ गोरखा दरबार। जहाँ पृथ्विनारायण शाहको पालादेखिकै कतिपय साँस्कृतिक प्रथाहरू राजासंस्था सकिएको १७ वर्षपछि पनि जीवितै छ। त्यसले सम्पदाका अमूर्त पक्षलाई जोगाउन सहयोग गरिरहेको छ।
दरबारमा काठ अत्याधिक मात्रामा प्रयोग भएको देखिन्छ। टुँडाल र झ्यालहरूमा मात्रै होइन भित्री भागमा समेत काठको प्रयोग अत्याधिक छ। दाचि अपा भनिने चिल्लो खाले ईंटा प्रयोग भएको देखिन्छ। पछिल्लो समय पुन:निर्माणका क्रममा थपिएका केही फुस्रो देखिने दाचि अपा पनि छन्।
दरबारको भित्री चोकको भुइँमा तेलिया ईंटा बिछाइएको छ। छाना माटोको झिँगटीले छाइएको छ। गाह्रोहरूमा माटोकै जोडाइ छ। गाह्रोको बिचमा काठको नस प्रयोग गरिएको छ, जसले दरबार भूकम्प प्रतिरोधि बनाउन सघाएको छ। त्यसले नै गाह्रोलाई बाँधेर राख्ने काम गर्छ।
दरबारको मूल ढोकामा चतुरबाहु विष्णुको मूर्ति कुँदिएको छ। यसले यो दरबार राजा बस्नका लागि बनाइएको हो भन्ने प्रमाण पनि दिन्छ। त्यसको प्रतिकात्मक अर्थ हेर्ने हो भने पनि यसको महत्व थाहा हुन्छ। पूर्वीय परम्परामा राजालाई विष्णुको अवतारका रुपमा हेरिन्छ। विष्णु संरक्षणका देवता भएकाले राजाले पनि जनताको संरक्षण गर्छन् भन्ने धारणा बनेको थियो।
बाहिर देख्दा संरचना मात्रै देखिए पनि दरबार निर्माण गर्दाको प्रविधि र सामग्रीको पनि संरक्षण दरबारको संरक्षणबाट भइरहेको छ। त्यतिबेलासम्म पनि नेपालमा नै चिल्लो ईंटा प्रशस्त मात्रामा उत्पादन हुने रहेछ भन्ने दरबार हेर्दा थाहा हुन्छ। जुन अहिले लोप नै भइसकेको छ। हिजोआज दाचिअपामा त्यस्तो चिल्लोपन देखिँदैन।
तल्लो दरबारले आफ्नो पुरानो शैली जोगाइरहँदा बजार क्षेत्र भने पुरानो पहिचानबाट नामेट भइसकेको छ। पर्यटकीय नगरीको रुपमा विकास गर्न सकिने हुँदाहुँदै त्यसमा ध्यान नपुग्दा गोरखाले आफ्नो मौलिकता गुमाएको भन्दै सम्पदा बुझेका स्थानीयहरू चिन्ता व्यक्त गर्छन्। जहाँ आधुनिक विकासको रटानमा मौलिकता कहीँ अटेको देखिँदैन।
हुन पनि नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक झल्को दिने तल्लो दरबार जस्ता कति सम्पदा हेर्दाहेर्दै जीर्ण बनेका छन्।