बिहीबार , मंसिर ६ गते २०८१    
images
images

लार्के ला यात्रामा एक पाइले भीरको बाटो

images
शनिबार, कात्तिक १० २०८१
images
images
लार्के ला यात्रामा एक पाइले भीरको बाटो

मानिसले एउटा वय पार गरेपछि समय हेर्न घडी नचाहिँदो रहेछ। पाइला चलाइले समयको टिङटिङ सुनाइरहँदा आँखाले मनसम्म जे पुर्‍याइरहेको थियो त्यो प्रकृतिकै प्रेमोपहार हुनुपर्छ। चैरोमहर जताजता डुले पनि हुने, हरेक ‘फ्रेम’ उस्तै सुन्दर।

images
images

यात्राको मजा बाटोको हो या गन्तव्यको। सुबिस्ताको भोगाइ रमाइलो हो या केही कठीनपछिको आनन्ददायी अनुभूति। पाइला चलिरहँदाका दु:ख र गन्तव्यको खुसी एकसाथ सोच्दा आउने रोमाञ्चकता कुनलाई माथि राख्ने यकिन गर्न गाह्रै हुन्छ। 

images
images
images

बेमजाको उराठलाग्दा समय पनि पछि सम्झनामा मस्तिष्क घुमाइदिने बेजोड बनिदिन्छ। पहाडका गल्छेडाहरू र हिउँका अग्ला अनकन्टार छिचोलेर ‘अब त भयो’ लागेका बाटाहरूमा फेरि पुगौँ कि लागिदिन्छ। हिँडाइको ज्ञानमा सिञ्चित हुन चाहनेका लागि त पाइतले यात्रा जति मनमोहक अरू के नै होला र!

images

मानिसले एउटा वय पार गरेपछि समय हेर्न घडी नचाहिँदो रहेछ। पाइला चलाइले समयको टिङटिङ सुनाइरहँदा आँखाले मनसम्म जे पुर्‍याइरहेको थियो त्यो प्रकृतिकै प्रेमोपहार हुनुपर्छ। चैरोमहर जताजता डुले पनि हुने, हरेक ‘फ्रेम’ उस्तै सुन्दर।  

images

गोरखाको चुमनुब्री गाउँपालिकामा मनास्लु लार्के ला (लार्के पास) यात्रा यस्तै हो। प्रकृतिसँगको रोमानी सम्बन्ध बाटोमा पनि थियो र गन्तव्यमा पनि। गन्तव्यमा डरलाग्दो ढुकढुकीले बाटाका हरेक पाइलाहरू आँखाअघि नाचिरहेको थियो। आङ जुरुङ्‍ङ पार्ने भयले पनि रोमहर्षक बनाइरहेको थियो। प्रकृतिको त्यो रस पिउन सके जीवनमा नवीन अनुभूतिको चहक खुलिरहन्छ। 

त्यो आलोकनीय यात्रामा शब्दमार्फत पुन: पुगिँदैछ। जिन्दगीको असली रसास्वादन यात्राका वर्णनमा पनि हुने रहेछ। त्यो भोगाइको निदान अहिले यकीन भइदिँदा मनले परिसान्त्वन बनाइरहेको छ। गएकै बाटो नफर्की हिमालको कँएस खोच पार गरेर नयाँ गन्तव्यमा पुगिने हुँदा पनि यो हिमाली यात्रा बेग्लै रह्यो। 

पुर्खाले नुनको ढाकर बोकेर हिँड्ने एक पाइले भीर अहिले धेरै फेरिएको छ। बुढीगण्डकी नदी किनारमा बाटो बन्दै छ। नदीमा ठाउँ ठाउँमा झोलुङ्‍गेपुल बनेका छन्। बाटोको दीर्घकालीन समाधान नहुँदा कतै पहिराले त कतै पहिलेका जस्तै एक पाइले भीरले अझै सिरिङ्ङ बनाइरहेकै छ। शरीरको त्यो कम्प सम्झँदा मन खिङ्ग्रिङ भइदिन्छ। 

हावाडाँडामा भीर कपेर निकालेको एक पाइले बाटोमा भने अहिले पाइलै नहाली पार पाइने भइसकेको रहेछ। पहरो काटेर बनाएको ठीक्क हिँड्नमात्र मिल्ने बाटो अब पर्यटकलाई सुनाउने कथा भएको छ। एक पाइले थाप्लो गाउँको माथिमाथि जिप कुदिरहेका छन्।

जिपको यात्रा अहिले खोर्लाबेँसीसम्म मात्र सम्भव भए पनि जगत गाउँभन्दा परसम्मै सडक ट्रयाक पुगिसकेको छ। नेपाली सेनाले बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडकअन्तर्गत हावाडाँडादेखि लार्केखण्डको ९२ किलोमिटरमा सडकको ट्रयाक खोल्ने काम गरिरहेको छ।  

गोरखा आरुघाटसम्म त राम्रै सडकमा गाडी गुडिरहेका छन्। गोरखा सदरमुकाम र धादिङबेसी दुवैतर्फबाट आरुघाटसम्म सडकको सुबिस्ता छ। त्यहाँदेखि सोतिखोला हुँदै माछिखोला र खोर्लाबेँसीसम्म कच्ची सडकमा जिपहरूले सेवा गरिरहेका छन्। खोला अलि सानो हुँदा त तातोपानीसम्म नै जिप पुग्छन्। लामो यात्रामा केही दिन कम गर्न त्यसले सहयोग भइरहेको छ। 

larke pass (1).jpg
गोरखा आरुघाट बजार।
larke pass (2).jpg
जिपमा माछिखोलातर्फ बढ्दै। सडक छेउमा र पारितर्फ पनि मनमोहक झरनाहरू छन्।
larke pass (6).jpg
सडकमा नै झरिरहेको झरना। 
larke pass (3).jpg
खोर्लाबेँसी।

खोर्लाबेँसीले नै मनास्लु लार्के ला यात्रामा मीठो स्वागत सुरु गरिहाल्यो। त्यहाँका होटल सामान्य छन् तर मनको सत्कार असीम। राति खोर्लाबेँसीको बासपछि बिहानै उठेर सुरु हुन्छ पैदल यात्रा। यात्राको दोस्रो दिन तर हिँडाइको पहिलो दिन। बाटोको सुन्दरतासँगै पाइलाको वजन पनि नाप्नु छ। प्रकृतिको सारमा पैदलको पारको सन्तुलन मिलाउनु छ। 

पुग्नु छ तिब्बतको सीमानामा रहेको गोरखाको सबैभन्दा अन्तिम गाउँहरू सामागाउँ र साम्दो हुँदै धर्मशाला। धर्मशालाबाट लार्के ला पार गरेर मनाङतर्फ। मनाङदेखि लमजुङ। ९ सय ७० मिटरको उचाइमा रहेको खोर्लाबेँसीबाट हिँड्दै हिँड्दै पार गर्नु छ ५ हजार १ सय ६ मिटर उचाइको लार्के ला। 

larke pass (4).jpg
तातोपानी गाउँमा केटाकेटी। खोलामा पानी कम हुँदा जिपहरू यही गाउँसम्म पनि पुग्छन्।
larke pass (5).jpg
तातोपानीदेखि अघि ढुंगैढुंगाको अप्ठ्यारो सडक ट्रयाकमा मोटरसाइकलले भाडामा यात्रु बोक्ने काम गरिरहेका छन्। निकै अप्ठ्यारा ठाउँमा भने यात्रु झारेर मोटरसाइकल चलाउँछन्। 
larke pass (7).jpg
बुढीगण्डकीमाथि अक्करे भीर काटेर सडक बढ्दै छ।
larke pass (8).jpg
ठाउँठाउँमा पैदल बाटो पहिरोले बिग्रँदा अझै पनि एक पाइले भीरकै नियति छ।
larke pass (9).jpg
बुढीगण्डकी कुनामा यात्रु हिँड्न भित्ता खोपेर क्यान्टिलिभर पुल बनाइएको छ।
cantilever pul budigandaki.JPG
क्यान्टिलिभर पुल। 

खोर्लाबेँसीबाट तातोपानी-दोभान-यारुफाँट-सल्लेरी-सिर्दिबास-घट्टेखोला हुँदै हुँदै फिलिम पुगियो। साबिकका सामागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास गाविस मिसाएर बनाइएको चुमनुब्री गाउँपालिकाको केन्द्र हो फिलिम।

सिर्दिबासको डाँडामा रहेको फिलिम गाउँ नामैले यात्राको सुरुदेखि सम्झनामै थियो। स्थानीयले सुनाए कथानक चलचित्रसँग यसको नामको साइनो कतैबाट छैन।

पहिलो दिनको हिँडाइ भए पनि फिलिम पुग्दासम्म गोडाले थोरै पनि थकान महसुस गरेको थिएन तर पेटले दिउँसोको खाजा मागिसकेको थियो। स्थानीय परिकार नपाए पनि उमालेको चाउचाउमा थोरै साग मिसाउँदा गाउँको स्वाद भने मिल्यो।

त्यहाँ नै खाइयो खच्चडलाई बोकाएर लगिएको ५० रुपैयाँ गोटा सुन्तला। गाउँमै फलेको ३० रुपैयाँ कोसा केरा।  

larke pass (11).jpg
सल्लेरीनजिक झरना र माथिपट्टी झोलुङ्‍गे पुल।
larke pass (12).jpg
ढुवानीका लागि खच्चडको विकल्प छैन।
larke pass (13).jpg
नयाँ सडक खुलिरहँदा नयाँ होटल पनि बनिरहेका छन्।
larke pass (14).jpg
तल सिर्दिवासबाट घट्टेखोला हुँदै फिलिम उक्लनुअघिको झोलुङ्‍गे पुल।
larke pass (16).jpg
गाउँपालिका केन्द्र रहेको फिलिम गाउँ।
larke pass (15).jpg
फिलिममा ५० रुपैयाँ गोटा सुन्तला र ३० रुपैयाँ कोसा केरा।

बास बस्न फिलिम पारि चिसापानीसम्मै पुगिने भइयो। रात पर्न समय अझै थियो तर अर्को गाउँ पुग्ने कष्ट गर्न मनले मानेन। आजको बास चिसापानीमै। मनमोहक गाउँ छ चिसापानी।

चिसापानीमा चिटिक्क परेका होटलहरू छन्। ठूला दुई ढुंगेधाराबाट अनवरत पानी झरिरहेको छ। तल बुढीगण्डकी बगिरहेछ। पारिको भित्तोमा पनि गाउँ छन्। सडकको नसा त्यतातिर पनि कोरिएको छ। तर अझै कति समय लाग्छ यी गाउँलेले गाडीको सुविस्ता पाउन यकीन छैन। 

होटलवालाले आफैले पालेका कुखुरा निकालेर भुत्ल्याए। चिसापानीको ढुंगेधारामा पखाले। उनी बडो आत्मीय मानिस छन्। होटलमा आएका पाहुनालाई सहज होस् भन्ने प्रयास हरतरहले गर्छन्। जाडो नहोस् भनेर खाटमा सिरकहरू थपिदिए। मीठो खाना खुवाए। 

larke pass (19).jpg
चिसापानीका होटलहरू।
larke pass (17).jpg
चिसापानी पारिको अक्करे भीरमाथिको गाउँ।
larke pass (21).jpg
चिसापानी र पारिको गाउँ जोड्ने पुल।
larke pass (18).jpg
चिसापानीको ढुंगेधारा।
larke pass (20).jpg
खानाको तयारी हुँदै छ।

कात्तिकमध्य भए पनि चिसो पुसको मध्यमा झैँ बढिसकेको छ। बिहान तातोपानीलगत्तै चिया शरीरले नै माग्छ। त्यसमाथि हिँडाइअघि पेटपूजा पनि थोरै गर्नुपरिहाल्यो।

आज कहाँसम्म पुगिएला भन्ने नक्सा हेरियो। जसोजसो पाइला बढ्लान् उसोउसो जहाँ त पुगिएला। एकदुई घण्टाको फरकमा गाउँहरू आइरहने हुँदा पनि बासको उति चिन्ता भने छैन। 

चिसापानीबाट थोरै ओरालो झरेर एक्लेभट्टी हुँदै अघि बढियो। एक घण्टाजस्तो हिँडेपछि एउटा झोलुङ्‍गे पुल आयो। जहाँबाट छुटिन्छ चुम उपत्यका जाने र लार्के ला जाने बाटो।

गतेबार सोचिल्याउँदा कमाइखाने कर्मले चुमतिर बढ्न समय नपुग्ने भयो। चुम घुम्न कम्तिमा अर्को तीन दिन छुट्याउनु पर्ने हुन्छ। तब लागियो लार्केतिरै। 

larke pass (22).jpg
एक्लेभट्टीनजिक।
larke pass (23).jpg
लार्के ला र चुम उपत्यका छुट्टिने बाटोमा पुल।
larke pass (24).jpg
लागियो लार्केतिरै।
larke pass (25).jpg
न्याकफेदी।
larke pass (27).jpg
काठको डुँडधारा।
larke pass (28).jpg
देङनजिक छोर्तेन।
larke pass (29).jpg
देङमा होटल।
larke pass (30).jpg
रानागाउँनजिक। काम त गर्नै छ!
larke pass (31).jpg
गाप गाउँ।

अब थोरै उकालो चढ्नुपर्ने छ। बुढिगण्डकी अझै बाटोको साथमै छ। लोक्पा, सल्लेरी, न्याक, पेवा हुँदै जंगलको बीचबीच चढ्दै चढ्दै पुगियो देङ गाउँ।

हिँड्दा होस् या विश्राममा हरेक दृश्य मोहित छन्। देङका होटलहरू पनि काठको सज्जामा सुन्दर छन्। देङमा केहीक्षणको विश्राम र भोजनपछि अघि बढियो।

रानागाउँ, बिहीफेदी, प्रोक हुँदै पुगियो गाप। गापमा झम्के साँझले स्वागत गरिसकेको थियो। चिसो पनि थोरै बढ्यो। होटलवालाले एकजना नुहाएको २५० रुपैयाँ लिनेगरी तातोपानीको प्रबन्ध गरिदिएका रहेछन्। पैसाभन्दा पनि शरीरले स्फूर्ति खोजिरहेको थियो। गापको बसाइ मध्यम रह्यो।

गापबाट बिहानको हिँडाइ सुरु गर्दा शरीर फुर्तिलो नै छ। तर माथि माथि लाग्दै जाँदा उचाइले दिने कठिनाइले गर्दा पाइतलाले सकेजति हिँड्न पाउने अवसर हुँदैन। उचाइसँगको सम्बन्ध मिलाउँदै बढ्नुपर्ने हुन्छ। जंगल, नामरुङ, लिही, स्यो हुँदै पुगियो ल्हो। 

larke pass (32).jpg
ढुंगामा बुद्धआकृति र मन्त्रहरू लेखेर बनाइएको पर्खाल। 
larke pass (33).jpg
पोर गाउँमा होटल।
larke pass (34).jpg
पोर गाउँ स्याउका लागि पर्ख्यात छ। बाटोमा बेच्न राखिएको स्याउ।
larke pass (35).jpg
नामरुङ गाउँमा एक होटल।
larke pass (36).jpg
याकको सुकुटी सुक्दै छ।
larke pass (37).jpg
नामरुङबाट लिहीतिर काठेपुल तर्दै।
larke pass (38).jpg
निश्चल हेराइ!
larke pass (39).jpg
ल्होतिर उकालो।
larke pass (42).jpg
करु टिप्ने समय।
larke pass (40).jpg
स्योनजिक कलात्मक द्वार।
larke la low.JPG
ल्हो गाउँ।

हरेक गाउँ हरेक गौडा घण्टौँ समय बिताइदिउँ लाग्नेखालको छ तर भेटिएका हरेक ढुंगामा मन लाग्नासाथ बसिदिन पाउने सुविधा कहाँ र! निश्चित दिनको गणनामा निस्किएको यात्रामा त्यस्तो मनमौजी अवसर कहाँ हुनु। ल्होलाई सिधा आँखाले धेरैबेर पनि नहेरी उकालोतिरै लागियो।

गल्ठ्याङ्ग्रे ढुंगाहरूले यो उकालो अलि कठिन नै हो। गोडाहरू राम्ररी चाल्न मुस्किल नै हुने। थोरै भिन्न लाग्ने भूगोलले स्वागत सुरु गरिसकेको थियो। उचाइको मुस्किल पनि थपिँदो थियो। 

हिमाली रुख र वनस्पतिहरूका फरक दृश्यहरू आँखामा आउन थाले। चौँरीका बथान भेटिए। चिसोले मन नलागी नलागी रोकिँदै जम्दै पग्लँदै बगिरहेजस्ता कुलेसाहरू भेटिए। अब थियो अझ ठाडो उकालो। 

larke pass (44).jpg
ल्हो गाउँमाथिको करुबारी पारि हिमाल।
larke pass (45).jpg
ल्होका स्थानीय फुटबल खेल्दै।
larke pass (46).jpg
स्याला उक्लने उकालोनजिक खोला।
larke la syala tourist.JPG
स्यालतर्फ खालीखुट्टा नै हिँड्दै एक विदेशी पर्यटक।

ल्हो गाउँमाथिको यो उकालोपछि आउँछ स्याला। अब भने साँझले अँध्यारो बोलाइसकेको थियो। एकछिन ढिलो भए अप्ठ्यारो हुन सक्छ। गोडाहरू अलि छिटो चल्न छाडेका थिए। स्याला कहिले आइपुग्ला भन्ने प्रतीक्षाले बाटोका सुन्दर दृश्यहरू यसै छुटिरहेका थिए। 

हिमालको काखैमा पुगेजसरी चारैतिर हिमालले स्वागत गरेर चिसो छर्दै स्याला धुमधुम्ती बसिरहेको रहेछ। 

स्यालाको हिमाली काखमा पुग्नासाथ ‘ओहो! आइपुग्नु भयो’ भनेजसरी होटलवालाका आँखाले हेरे। मानौँ उनी बाटो हेरिरहेका थिए।

त्यो पहिलो हेराइ छलेर अरू होटलतिर जाने आँट पनि थिएन। उनैको शरणमा झोला फालियो।

हिमाली चिसोले जुत्ता फुकाल्लास भनेझैँ धम्क्याइरहेको थियो। तर चुनौती चिरेर जुत्ता खोलियो। तातोपानीसँगै आगो ताप्ने जोरजाम भयो। अब त के चाहियो र! 

larke pass (47).jpg
स्याला गाउँ।
larke pass (48).jpg
स्यालामा होटल।
larke pass (49).jpg
स्यालाबाट सामागाउँ लाग्नेतर्फ।
larke pass (50).jpg
लुम्ला खोला पुल।

नजिकै थियो मनास्लु। ३५ सय मिटरको उचाइमा रहेको स्यालामा बसेर मानसिरी पर्वतशृङ्खलाका हिमालहरू हेरियो। मानसिरीको चिसोले मानसआत्मा नै छोयो। विश्वको आठौँ अग्लो हिमालछेउ जे जस्तो देखिइरहेको थियो त्यो दृश्य शब्दको लालित्यमा अटाउन पनि कठीन नै हुन्छ। अति सुन्दर। 

स्यालाले उचाइको कठिनाइ बुझाइसकेको थियो। यहाँको हावा नबुझ्ने हो भने त लेक लागिहाल्छ। यसैले फुकीफुकी पाइला चाल्नुपर्ने समय आयो। स्यालाको बिहानीमा घामले संकेत गरेपछि मात्रै विस्तारै पाइला सामागाउँतर्फ बढे।

ओहो! कस्तो गजव गाउँ छ सामागाउँ। तिब्बतसँगको नजिक यो गाउँ गोरखाको अन्तिम गाउँमध्येकै हो। यसमाथि छ साम्दो गाउँ। 

लुम्ला खोलामाथिको झोलुङ्‍गे पुल तरेलगत्तै सामागाउँको फराकिलो उपत्यकाले स्वागत गरिहाल्यो। दिनभर फुटबल खेलेर बसिदिउँजस्तो मजाको चौरबीच नै चियापानीको व्यवस्था भयो।

चौरमा चौरीले गोब्र्‍याएका गोबर सुकेपछिका गुइँठा सम्हालिरहेछन् एकहुल मानिस। त्यही नै हो यहाँ दाउराको विकल्प। त्यहाँबाट थोरै अघि बढेसँगै सामागाउँका पुराना घरहरू लुकौ कि खुलौँ जसरी पर्खालभित्र थिए।

तन्किएर हेर्दा ती ढुंगे घरहरू घुम्टोभित्रबाट तस्बिरका लागि अलिकति अनुहार देखाएर नजानिदो हाँसो खुलाइरहेकी बेहुलीझैँ लागे। 

larke pass (51).jpg
सामागाउँनजिक।
larke pass (52).jpg
सामागाउँनजिक चौरमा चिया पसलको कलात्मक बोर्ड।
larke pass (54).jpg
सामागाउँ प्रवेशद्वार।
larke pass (53).jpg
सामागाउँ।
larke pass (55).jpg
जीवजन्तुका टाउका र सिङहरू साथै ढुंगामा मन्त्र लेखेर द्वार र छोर्तेनहरूमा पनि सजाइन्छ।
larke pass (56).jpg
सामागाउँको पुरानो गाउँभन्दा पर नयाँ बनेका होटलहरूसहित।

सामागाउँले प्राकृतिक सुन्दरतासँगै हिमाली संस्कृति पढायो। यहाँका गुम्बाहरू कहलिएका छन्। पुङ्‍गेन गुम्बाको उचाइ त बौद्धमार्गीमाझ वर्णित नै छ। अरू अनगिन्ति छोर्तेनका साथै ढुंगामा मन्त्र र बुद्धचित्र कुँदेर बनाइएका कलात्मक पर्खालहरूले त ल्होभन्दा तलदेखि नै 'ओम् मणिपद्म हुँ' पढाइरहेकै थिए। 

ढुवानीमा खच्चड र उपचारमा हेलिकप्टरको भर पर्नुपर्ने बाध्यतामा रहेका यी गाउँलेहरू चिसो चिरेर स्वागतको कति मीठो मुस्कान छरिरहेका छन्। त्यही खच्चडमार्फत पनि तिब्बततिरको नाका बन्द हुँदा किनमेलमा कठीन भइरहेको छ। जाडो याममा हिउँले गाउँ छोप्नुअघि धेरै प्रबन्ध मिलाउनुपर्ने छ तर सामागाउँ, साम्दोनजिकको रुइला नाका कोरोना महामारीको समययता खुलेको छैन। 

लार्के ला पास गरेर मनाङबाट कि त गोरखा आरूघाटतिरबाट लामो बाटो तय गर्नुपर्ने समयमा छन् यहाँका खच्चडहरू। तिब्बतसँगको नाका खुलाउने प्रयास भइरहे पनि यसपटकको जाडो आइ नै हाल्यो। अब अर्कोपटक केही पहल होला भन्ने आशमा छन् स्थानीय।

कठिनाइबीच पनि पर्यटकको सत्कारमा कमी हुन भने दिएका छैनन्। अहिले उनीहरूको आम्दानीको राम्रो माध्यम नै विदेशीसँगै स्वदेशी पाहुना हुन्। 

सामागाउँबाटै मनास्लु आधार शिविर र वीरेन्द्रताल घुम्न जानेहरू लर्को लागिरहेको छ। यहाँबाट साम्दोतर्फ बढ्नुअघि वरपर केही घण्टा हिँडेर प्रकृतिसँग मित्रता होस् भन्ने चाहन्छन् पर्यटक। शरीरले ठाउँलाई साथी बनाएन भने यसभन्दा माथि अझ मुस्किल हुने छ। 

larke pass (57).jpg
सामागाउँबाट वीरेन्द्र ताल जाने बाटो।
larke pass (58).jpg
वीरेन्द्र ताल।
larke pass (60).jpg
वीरेन्द्र ताल।
larke pass (59).jpg
वीरेन्द्र ताल किनारमा शिलाकुट।
larke pass (61).jpg
सामागाउँबाट माथि चौर।

वीरेन्द्र ताल मनास्लु क्षेत्रको पदयात्रामा जानेहरूका लागि रोजाइको गन्तव्य हो। मनमोहक सामागाउँको छेवैमा छ वीरेन्द्र ताल। प्राकृतिक सुन्दरतामा वीरेन्द्र ताल अधिक मोहक छ। समुद्री सतहबाट ३ हजार ६ सय ९१ मिटर उचाइमा रहेको वीरेन्द्र ताल पछिल्लो समय निरन्तर खुम्चिँदै गएको स्थानीय बताउँछन्। 

२०३४ सालतिर राजा वीरेन्द्रको सवारीपछि मनकारी सामागाउँवासीले तालको नाम राखिदिए ‘वीरेन्द्र ताल’। अहिले त्यसअघिको नाम ‘यमछो’बाट कमैले पुकार्छन्। हिमाली बासिन्दाका लागि देवता हो प्रकृति। त्यसको आदर र आधारमा रहेका उनीहरूले राजालाई सम्मान दिन तालको नामै फेरिदिए।

हुन त केही वर्षअघि बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको भ्रमणको अवसरमा पनि सामागाउँवासीले पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ नाम फेरिदिए। तर स्थानीयहरू पङ्बोछेमै रमाइरहेका छन्। कसो कसो वीरेन्द्र तालले भने टपक्कै नयाँ नाम समात्यो। हुन त वर्षौं बित्यो। 

यमछो वरपर चट्टानी पहाड अडिग छन्। तालनजिक शिलाकुट बनाउन यात्रुहरू खै कुन चाखले लागेका छन् तर पनि सुन्दर देखिएका छन् ढुंगाका थुप्रा। त्यसमा आधुनिक तस्बिरे रुचिसँगै सांस्कृतिक चेत खोज्नेहरू पनि छन्। एउटा नमेटिने स्मृतिजस्तो पनि। 

यमछोको वरपर केहीबेर रमाएर फेरि सामागाउँतर्फ नै लागियो। ३ हजार ५ सय ३० मिटर उचाइको सामागाउँबाट अब ३ हजार ८ सय ७५ मिटरको उचाइमा रहेको अन्तिम गाउँ साम्दोतर्फ बढ्नुपर्ने छ। 

हुन त सामागाउँ र साम्दोभन्दा पर पनि केही दशक पहिलेसम्म नेपालकै रुई गाउँ थियो। गोरखाको रुई भोटअन्तर्गत पर्ने रुई गाउँ अहिले नेपालसँग होइन तिब्बततर्फ छ। झण्डै ६० वर्षपहिले तिब्बतमा परेपछि चित्त नबुझेर रुई गाउँका कतिपय मान्छे भागेर साम्दोमा आएर बसेका थिए। साम्दो नै अहिले गोरखातर्फ तिब्बतसँग जोडिएको अन्तिम गाउँको परिचयमा छ।  

larke pass (62).jpg
सामागाउँबाट साम्दोतर्फ।
larke pass (63).jpg
साम्दो उक्लनुअघि बुढीगण्डकीमा काठेपुल।
larke pass (64).jpg
खच्चडकै छ है भर!
larke pass (65).jpg
गोरखाको अन्तिम गाउँ साम्दो।

सामागाउँबाट बुढीगण्डकीको छेवैछेउ हिँडियो। यहाँ बाटो सजिलो छ तर लेकको बाटो सजिलो हुँदैमा फटाफट हिँड्नु हुँदैन। समथर भूभागबाट यसो टाउको उठाए हिमालहरू आँखाअघि नै छन्।

चिसो हावा चलिरहेकै छ। सामागाउँ छुट्दै साम्दो नजिक हुँदै छ। बुढिगण्डकीमा काठेपुल तरेपछि सानो उकालो आयो। उकालो चढेर थोरै हिँडेपछि छ साम्दो। 

३ हजार ८ सय ७५ मिटरको उचाइमा रहेको साम्दो होटलहरूले भरिएको छ। उचाइसँग अप्ठ्यारो हुनेहरूलाई यहाँ लेक लागेर सकस नै हुन्छ। हतारमा माथि उक्लिएका कतिपय त प्रकृतिको नियम नबुझ्दा तल ओरालो झर्न थालिसकेका थिए। चिसिएको साम्दोको एकदिनको बासपछि बिहान लागियो धर्मशालातर्फ।

larke la trekking.jpg
भारी बोकेर हिमाली बाटो।
larke pass (66).jpg
साम्दोबाट धर्मशाला जाने बाटोमा।
larke pass (67).jpg
हिँडियो हिमाल पछाडि पारेर!
larke pass (68).jpg
धर्मशालातिर बढ्दै छन् पर्यटक।
larke pass (69).jpg
धर्मशाला। यहाँको अन्तिम बासपछि नै लार्के ला पार गर्न हिँड्नुपर्छ।

केहीबेर हिँडेपछि फेरि उकालो लाग्ने बाटो आयो। यहाँबाट अझ तौलीतौली पाइला चाल्नुपर्छ। शरीरको अवस्था बुझ्दै डरमिश्रित पाइला चाहेर पनि छिटो हुन सक्दैन।

हरेक पाइलापछि लार्के ला पार गर्न नसकेर यही बाटो फर्कनुपर्ला कि भन्ने भय आइरह्यो। आँखाअघि हिमाल स्यालादेखि नै उसैगरी छ। केही उकालो, केही तेर्सो र खोल्साखोल्सी हुँदै बढ्दा देखियो धर्मशाला। 

पर्यटक आगमनको समयमा धर्मशाला भरिभराउ छ। ४ हजार ४ सय ६० मिटरको उचाइमा यहाँ अस्थायी होटलका कोठा होइन त्रिपालकै बास पाउनु पनि भाग्य मान्नुपर्छ। वरपरका डाँडा हेर्दै एउटा डाँडातिर ३० मिनेट माथि चढियो। लेकको हावाले कठीन उकालो रहरले मात्र पनि चढिरहनु भएन। भोलि झिसमिसेमै लार्के ला पार गर्न हिँड्नुपर्ने छ।

शित चुहिने त्रिपालमा कोल्टो फेरिरहँदै अँध्यारोमै हिँड्ने बेला भयो। टर्च बोकेर आएकाहरूले यताउति उज्यालो छर्न थाले। यात्रुहरू झोला जुत्ता कसेर उकालो लाग्न थाले। 

larke pass (70).jpg
लार्के लातिर बढ्दै।
larke pass (71).jpg
जमेको ताल।
larke pass (72).jpg
बल्ल बल्ल चुचुरातिर घाम देखियो।

कमिलाको ताँतीझैँ मानिसहरू लामबद्ध भएर अघि बढिरहेका छन्। एकले अर्कोलाई उछिन्न सकिने अवस्था छैन। विदेशी पर्यटकको भारी बोकेका भरियाहरू बाटोबारे अभ्यस्त भए पनि उनीहरूको गतिसमेत तलतिरझैँ छैन। अघिअघि हिँडिरहेकालाई उछिन्न उनीहरू अलिकति फराकिलो ठाउँमा हतपत पाइलाको बेग भने बढाइरहेका छन्। 

दुई घण्टाभन्दा ज्यादा झिसेमिसे हिँडाइपछि बिहानी हुँदै बल्ल घामले आउँछु आउँछु जस्तो संकेत गर्‍यो। चिसोले कठ्याङ्ग्रिएको शरीर र हातगोडाले तङ्ग्रन पाउने आश गरे। झोलाले तानेर काँधले पनि ‘कति दु:ख दिन्छस् ए!’ भनेको धेरैबेर नै भइसक्यो। 

हातले पनि टेकिरहेको लौरो फालिदिउँ झैँ गरिरहेको छ। चिसोले लेकको मीठास र सुन्दर दृश्यहरूभन्दा यतिबेला दु:ख ज्यादा भइरहेछ। स्वास रोकिएला कि जस्तो। शरीरले साथ त दिन्छ नि भन्ने प्रश्न मनले पटकपटक सोधिरहेछ। 

जसोतसो गोडाहरू बढिरहेका छन्। खुला उचाइ पनि बडो अनकन्टार कन्दराजस्तो लागिरहेछ। उकालोबाहेक अर्को केही छैन। पैतलामै हिमाल छ। जुत्ताहरू हिउँमा घस्रन अप्ठ्यारो मानिरहेछन्। बरफ जमेका ढुंगाहरूमा गोडा चिप्लिरहेछन्। 

पाँच घण्टाजसो हिँडेपछि बल्ल घामले अलिअलि ताप दिन थाल्यो। शरीरले अब हिम्मत पायो। एक मनकारीले यस्तो उचाइमा पनि चियापानीको प्रबन्ध गरिदिएका रहेछन्। ‘लार्के टी शप’ नाम राखेर चिया पानी बेच्दै उनले हिमाली चिसो चिर्न पर्यटकलाई ठूलो उपकार गरिरहेका छन्। 

चिया पसलको विश्रामपछि अब फेरि उकालो नै लाग्नुपर्ने छ। सूर्योदयअघि नै लागेको लस्कर अब अघिपछि छरिएको छ। अब लार्के ला नजिक छ झैँ भान भइरहेको छ। तर आइसक्यो लागेको धेरैबेरसम्म उस्तै हिउँ र बरफ जमेका ढुंगाहरूमै छन् पैतला। 

larke pass (73).jpg
लार्के ला पुग्ने अन्तिम उकालो सुरु हुनुअघि चिया पसल।
larke pass (74).jpg
देखियो लार्के ला।
larke pass (75).jpg
५ हजार १ सय ६ मिटर उचाइको लार्के ला।
larke pass (76).jpg
'लार्के ला'मा पर्यटक। यहाँ पुगेपछि पर्यटकहरू विजयको खुसी साट्छन् र रमाउँछन्।

आइपुग्ला भन्ने उत्साहसमेत हराउँदै जाँदा हिउँको एउटा ठाडो उकालोपछि पर्यटकहरू समूहमा रमाइरहेको दृश्य आँखामा पर्‍यो। यही हो ५ हजार १ सय ६ मिटर उचाइको लार्के ला। विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१५६ मिटर) क्षेत्रको पदयात्रामा यही लार्के ला नै हो थप रोचक र साहसिक अनुभूति दिने। 

लार्के लानजिक प्राकृतिक सुन्‍दरताको दृश्यपानसँगै डरमिश्रित ढुकढुकी बढ्छ। भौगोलिक विविधता अनुभव गरिरहेका आँखाअघि हिमालको भयङ्‍कर बाटोले स्वागत गर्छ। लार्के लामा पाइला पर्दा गौरवको विजयानुभूति भयो। 

निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु संरक्षण क्षेत्रलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको हो। त्यसयता विदेशी पर्यटकको स्वागतमा रहेको मनास्लु पछिल्ला केही वर्षदेखि भने स्वदेशी पर्यटकले पनि भरिपूर्ण छ। 

लार्के लाबाट अब भने बाटो ओरालो छ। हावाडाँडामा मुक्ति मिलेको एक पाइले भीर अब बाटोभरि नै आए। त्यसमाथि बरफले गोडा चिप्लिएका छन्। हिउँमा गडेका छन्।

तर पनि लार्के ला पार गरेको खुसीले बाटोको कठिनाइ घटाइरहेको छ। उत्साहले हौसला थपेको छ र त्यसैको हिम्मतले पाइलाहरु बढिरहेका छन्। उचाइ चढेपछि झर्नु पनि त छ भन्ने पाठ यो ओरालोले पढाइरहेको छ। आखिर शिखरमा बसिरहने को पो छन् र!

larke pass (77).jpg
हिउँको बाटो।
larke pass (78).jpg
मनाङतर्फ लार्के फेदीतिर।

हिउँको बाटो सकिएपछि पनि पट्यारलाग्दो गेग्र्याने ओरालो छ। गेगरमा गोडाले भर नपाएर कतिपय त पुल्टुङ्‍ङ लडिरहेका छन्। जसोतसो मनाङ लार्केफेदी पुगियो।

लार्केफेदीमै खाना खान मिल्ने केही होटल खोलिएका छन्। केहीबेर लार्केफेदीको विश्राममा यात्राका सुरूदेखिका हरेक पलहरू आँखाअघि नाचे। ओहो! साच्चिकै पार गरियो सोचेर लामो स्वास फेरियो। खुसीमा जितको नयाँ परिभाषा भेटेझैँ भयो। 

लार्केफेदीबाट मनाङकै भिमथाङसम्म पुग्न समय बाँकी नै छ। राति नै हिँडेको हिँडाइ धेरै तन्काएर भिमथाङभन्दा अघि पुग्ने अवस्था भने छैन। यसपटक घडि हेरेरभन्दा शरीर हेरेर सोच्नुपर्ने छ। विस्तारै चलेकै पाइलाले आरामसँगै भिमथाङ पुगियो। भिमथाङको बासपछि बिहानै उठेर लमजुङ बेँसीसहर जाने जिप लाग्ने ठाउँसम्म पुग्नु छ। 

भिमथाङ ३ हजार ७ सय २० मिटरको उचाइमा छ। लार्के लाको त्यो उचाइ पार गरेर झरेकाले होला भिमथाङको चिसो उतिसाह्रो लागेन। यहाँ पनि आँखाअघि हिमाल हाँसिरहेकै छ। फराकिलो चौरमा यो उपत्यकाजस्तो गाउँ हिमाल साक्षी राखेर उत्साह र जित साट्ने मैदान बनेको छ। 

larke pass (79).jpg
भिमथाङ मनाङ।
larke pass (80).jpg
फर्कने बाटो पनि उस्तै राम्रो।
larke pass (81).jpg
दूधखोलाको तिरैतिर।

गन्तव्यमा पुगेर नयाँ बाटो हेर्दै फर्कन पाउनु यो यात्राको अवर्णित विशेषता हो। दूधखोलाको तिरैतिर मनाङका याकखर्क, सुर्की, गोवाजस्ता गाउँहरू चित्ताकर्षक छन्। लार्के ला पार गरेर भिमथाङ र त्यहाँदेखि तिल्चे पुगेर जिपमा लमजुङ बेँसीसहर पुग्दासम्म नै प्रकृतिले सुन्दरताको आस्वादन गराइरहेकै छ।     

मनलाई मुग्ध पार्ने जीवनको यो यात्रा शब्दचित्रमार्फत पुन: सदृश्य भइरहेका छन्। यात्रा त्यही रहेछ जसले खुसी देओस्। यो भागदौड जीन्दगीको मायावी खुसीदेखि पर त्यो हिमाली दृश्यको खुसी अद्‍भूत नै हो।

खुसी गन्तव्यमा मात्र पनि होइन रहेछ, त्यो यात्रामा रहेछ जसले गन्तव्यसम्म पुर्‍यायो। त्यो यस्तो वास्तविकता हो जुन अनुभव हुन्छ। अनुभव भयो। मनमा रहिरहने छ।


प्रकाशित : शनिबार, कात्तिक १० २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend