बिहीबार , मंसिर ६ गते २०८१    
images
images

यी तीन आधार जसले कार सेगमेन्टमा ईभीलाई ‘मेनस्ट्रिम’ बनाउँदै छ

images
मंगलबार, असोज २९ २०८१
images
images
यी तीन आधार जसले कार सेगमेन्टमा ईभीलाई ‘मेनस्ट्रिम’ बनाउँदै छ

सवारी बिक्रेताहरूले चार्जिङ पूर्वाधारलाई प्राथमिकता दिएकाले आगामी दिनमा यसबाट विद्युतीय कार प्रयोगकर्ताहरूले कहाँ चार्ज गर्ने भन्ने सोच्नु पर्ने अवस्था हट्दै जानेछ।

images
images

काठमाडौं- विद्युतीय कार धेरै नेपाली कारप्रेमीको रोजाइमा परिसक्यो। ब्रान्ड भित्रिने क्रम, आयात र बिक्रीको तथ्यांक हेर्दा रोजाइमा परिरहेको मात्र होइन प्यासेन्जर कार सेगमेन्टमा विद्युतीय कार ‘मेनस्ट्रिम’ नै बन्दै छ। 

images
images
images

सन् २०२२ सम्म नेपाली बजारमा आईसीई (इन्टरनल कम्बस्चन इन्जिन) कारको बोलवाला थियो तर २०२३ मा भने आईसीई कारको तुलनामा विद्युतीय कारको आयात/बिक्री बढ्यो। विद्युतीय कारको आयात बढ्नुमा कोरोनाकालदेखिकै प्रभाव देखियो।

images

कोरोनाकालमा विदेशी मुद्रा सञ्चिति कम भएपछि प्रतिबन्धमा परेका पेट्रोलियम कार त्यसयता कसिलो मौद्रिक उपकरणको जालमा परे। तर विद्युतीय कारको हकमा भने यी सबै कुरा सहज बनिदिए।

images

विद्युतीय कार आयातमा प्रतिबन्ध लागेन र ईभी खरिद गर्नेले ८० प्रतिशत फाइनान्सको सुविधा उपभोग गरिरहेकै छन्। पेट्रोलियम कार किन्नेले भने पछिल्लो मौद्रिक नीतिपछि पनि ५० प्रतिशतमात्र फाइनान्स सुविधा पाइरहेका छन्। 

यसका साथै बैंक तथा वित्तीय संस्थाहरूले ग्रीन फाइनान्समा विदेशबाट लोन ल्याइरहेकाले विद्युतीय कारमा प्रवाह हुने कर्जामा कुनै समस्या देखिएको छैन र राष्ट्र बैंक पनि उदार नै बनिरहेको छ। 

२०२२ मा १० हजार कार आयात भएकोमा विद्युतीय कार २ हजार २ सय ४० वटा आएका थिए। त्यस्तै २०२३ मा भने ११ हजार कार आयात भएकोमा ५७ प्रतिशत अर्थात ६ हजार ७ सय ६१ वटा विद्युतीय कार आएको थियो।

यसैगरी २०२४ को जनवरीदेखि जुलाई २७ सम्मको ७ महिनामा कुल ८ हजार १ सय ५५ वटा कार आयात भएकोमा विद्युतीय कार ६ हजार २ सय ८६ वटा रहेको छ। कुल कार आयातमा विद्युतीय कारको हिस्सा ७७ प्रतिशत पुगेको छ। 

आईसीई कारको बिक्रीमा बैंकले दिने कर्जा ५० प्रतिशत हुनु, कार उपभोक्ताको रुझान विद्युतीय कारमा हुनु, विद्युतीय कारमा कर्जा ८० प्रतिशतसम्म पाइनुलगायत कारणले आगामी दिनमा नेपाली बजारमा विद्युतीय कारको बिक्री हिस्सा ५० प्रतिशतभन्दा कम हुने देखिँदैन। सोहीकारण प्यासेन्जर कार सेगमेन्टमा विद्युतीय कार अब ‘मेनस्ट्रिम’ बन्दै छ। अब यसको बोलवाला हुने निश्चित छ। 

तथ्यांकले मेनस्ट्रिम देखाइसकेको र त्यसलाई आगामी दिनमा निरन्तर कायम रहेन मुख्य तीन आधारहरू देखिन्छ। 

कारण १ - न्यून सञ्चालन खर्च 

पेट्रोलियम पदार्थबाट चल्ने कारलाई गुडाउन नियमित पेट्रोल वा डिजेल भर्नुपर्छ। यसका साथै निश्चित समयमा अनिर्वाय रुपमा सर्भिसिङ गराउनुपर्ने हुन्छ। आईसी इन्जिन कारमा यो प्रक्रियाका लागि मासिक कम्तिमा ७ देखि १० हजार रुपैयाँ खर्च हुन्छ। यो उपत्यकामा दैनिक ३० देखि ४० किलोमिटर कार कुदाउनेहरूको औषत खर्च हो। 

विद्युतीय कार चलाउनका लागि यतिधेरै खर्च हुँदैन। ब्याट्रीको क्षमताअनुसार एउटा विद्युतीय कार फुल चार्ज गर्न ३ सयदेखि ५ सय रुपैयाँको विद्युत भए पुग्छ। माथिकै हिसाबमा दैनिक ३० देखि ४० किलोमिटर यात्रा गर्नेहरूका लागि ३ सय किलोमिटर रेन्ज दिने विद्युतीय कार ५ देखि ७ दिनमा एक पटक फुल चार्ज गरे पुग्छ।

उक्त चार्ज गर्न लाग्दा पनि विद्युतीय कारमा केही प्रतिशत ब्याट्री बाँकी नै रहेको हुन्छ। ५ दिनमै फुल चार्ज गर्नुपरे पनि दैनिक १ सय रुपैयाँमा विद्युतीय कार गुडाउन सकिन्छ। पेट्रोलियम कारको तुलनामा विद्युतीय कारमा इन्धन खर्च ज्यादै न्यून लाग्छ। 

त्यसैगरी नियमित रुपमा गरिने मर्मत खर्च पनि विद्युतीय कारमा कम आउँछ। ईभी र आईसीई दुवै कारलाई तीन महिनामा एकपटक सर्भिसिङ गराउँदा आईसीई कारलाई १० हजारभन्दा बढी खर्च आउँछ भने विद्युतीय कारका लागि ३ हजार रुपैयाँ भए पुग्छ। यो नियमित सर्भिसिङ गर्दा अवस्थाको खर्च हो। 

विगतमा वातावरणप्रति चासो राख्नेहरूले विद्युतीय सवारी किन्नमा बढी रुची राख्थे। तर अहिले धेरैले विद्युतीय सवारी किनेर चलाउँदाको अवस्था विश्लेषण गरेरै किन्न थालेका छन्।

पेट्रोलियम कारभन्दा शक्तिशाली, चलाउन सजिलो, पेट्रोलिक कारसहरकै मूल्य, न्यून सञ्चालन खर्चलगायत कुराको विश्लेषण गरेर उपभोक्तानले विद्युतीय कार खरिद गर्न लागेका छन्। यसको पुष्टी पछिल्लो समय भइरहेको बिक्री संख्याले नै गर्छ। 

कारण २ - कर सहुलियत 

सरकारले नेपालमा आयात हुने विद्युतीय कारमा पेट्रोलियम कारको तुलनामा कर सहुलियत दिँदै आएको छ। यद्यपी विद्युतीय कारमा सरकारी कर नीति भने स्थिर हुन सकेको छैन, बढाउने र घटाउने क्रम चलिनै रहेको छ। यसका बावजुत आईसीई कारकोभन्दा विद्युतीय कारका आयात गर्दा लाग्ने करसँगै विद्युतीय कारको वार्षिक करसमेत कम रहेको छ। 

चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा भने विद्युतीय कार बिक्रीमा देखिएको उत्साहमा खलल नपुग्ने गरि कर वृद्धि गरिएको छ। सरकारले विद्युतीय कारमा मोटर पावरका आधारमा कर लगाउँदै आएको छ।

२०८०/८१ मा ५० किलोवाटसम्म मोटर भएका कारमा १० प्रतिशत भन्सार र अन्तःशुल्क शून्य थियो। त्यस्तै ५१ देखि १ सय किलोवाटसम्म १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क, १०१ देखि २ सय किलोवाटसम्म २० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क, २०१ देखि ३ सय किलोवाटसम्म ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क र ३०१ किलोवाटभन्दा माथि मोटर क्षमता भएका विद्युतीय कारमा ६०/६० प्रतिशत भन्सार र अन्तःशुल्क लाग्दै आएको थियो। 

चालु आर्थिक वर्ष २०८१/८२ का लागि जेठ १५ मा आएको बजेटले विद्युतीय कारमा केही कर वृद्धि गरेको हो। सो बजेटबाट ५० किलोवाटसम्म मोटर भएका कारमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगायो। त्यस्तै ५१ देखि १ सय किलोवाटसम्म २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क, १०१ देखि २ सय किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क, २०१ देखि ३ सय किलोवाटसम्म ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तःशुल्क र ३०१ किलोवाटभन्दा माथि मोटर क्षमता भएका विद्युतीय कारमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क लगायो। 

आईसीई कारमा सडक मर्मत सम्भार दस्तुर मूल्यको १० प्रतिशत लाग्छ भने विद्युतीय कारमा मूल्यको ५ प्रतिशतमात्र लाग्ने व्यवस्था रहेको छ। 

विद्युतीय सवारी नयाँ प्रविधि भएकाले यसका प्रविधि र ब्याट्रीको लागत कम हुँदै गइरहेको छ। अबको दुई/तीन वर्षमा ब्याट्रीको लागत अहिलेको भन्दा दुई तिहाइ काम हुने अनुमान भइरहेको छ। सोहीकारण सरकारले स्वभाविक रुपमा ‘उत्पादन’मै कारको मूल्य नघट्दा करका दरमा ठूलो परिवर्तन ल्याउनु हुँदैन। 

संसारभर उत्पादक तथा प्रयोगकर्ता देशका सरकारहरूले विद्युतीय सवारीमा कर सहुलियत दिँदै आएका छन्। नेपालका सन्दर्भमा वातावरणीय पक्ष र त्योभन्दा महत्वपूर्ण नेपालमै उत्पादन भएको हरित जलविद्युत खपत हुने भएकाले सरकारले विद्युतीय सवारी प्रयोगलाई प्रवर्द्धन गर्दै आएको छ। 

कारण ३ - सडकको रेन्ज नै कम

सवारीसाधन कुदाउन सडक त चाहिन्छ नै। सडक र त्यो पनि गुणस्तरीय नभइ सवारीसाधन कुदाउन सकिँदैन। कार कुदाउनका लागि त कालोपत्रे वा राम्ररी ग्राबेल भएकै सडकको जरुरत पर्छ। नेपालका सन्दर्भमा भौगोलिक अवस्था र देशको सीमारेखाका कारण हाम्रा सडकहरू सयौँ किलोमिटरसम्म सिधा कुध्नुपर्ने ठाउँ कम छन्। तराईको पूर्वपश्चिम राजमार्ग (१ हजार २८ किलोमिटर) बाहेक अन्य कुनै सडक सिधा कुद्नेगरी बनेको छैन। 

मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणाधीन अवस्थामै छन्। यी राजमार्ग बनेर सञ्चालनमा आएपनि निजी कार चढ्ने मान्छे नियमित रुपमा वारपार गर्ने अवस्थामा हुँदैनन्।

विश्वका विभिन्न देशमा र भारतमै पनि दैनिक ५/६ सय किलोमिटरको फराकिला हाइवे पारगरेर दैनिक काममा जाने क्रम बढ्दो छ। तर नेपालमा पूर्वपश्चिम राजमार्ग नै एक हजार किलोमिटर वरिपरिको छ। त्यसमा पनि पूर्वबाट पश्चिम कार लिएर दैनिक यात्रा गर्ने व्यक्ति त छैनन् भन्दा फरक पर्दैन। कामकाजका रुपमा उक्त दुरी तय नगरिने भएकाले घुम्न जाँदा रेन्ज वा अन्य कुराको व्यवस्थापन गरेरै यात्रीहरू निस्कन्छन्। पर्यटनका लागि निस्कनेहरूका लागि त्यति ठूलो समस्या हुँदैन।

हाल नेपाली बजारमा एक पटकको फुल चार्जमा तीनसय किलोमिटर औषतमा रेन्ज दिने विद्युतीय कार उपलब्ध छन्। निजी कार लिएर हिँड्नेका लागि काठमाडौंलाई केन्द्र मानेर पूर्व बिर्तामोडदेखि पश्चिम नेपालगञ्जसम्म साढे पाँच सय किलोमिटरमा पुग्न सकिन्छ।

विद्युतीय कार लिएर जानेहरूले काठमाडौंबाट फुल चार्ज गरेर जाँदा बीचबाटोमा अधिकतम् एक पटक चार्ज गरे पुग्छ। केही विद्युतीय कार त सिधै पुग्न सक्ने क्षमताका पनि छन्। एक पटकको चार्ज भनेको खाजा/खाना खाने सयममा गर्न सकिन्छ। धनगढीबाहेक काठमाडौंबाट जहाँसुकै जाँदा एकपटक अतिरिक्त चार्ज गरे पुग्ने भएकाले पनि विद्युतीय कार किन्नेहरू बढ्दै गएका हुन्।  

यस्तो यात्रामा निस्कँदा समस्या नहुने भएकाले र सहरी यात्राका लागि त न्यून खर्च र सजिलो चालन प्रणालीले धेरै कार खरिदकर्ताको रोजाइमा विद्युत कार परिरहेको छ। 

छनोटको पर्याप्तता

नेपाली बजारमा चीन, भारत, कोरियादेखि जर्मनीसम्मका कम्पनीले उत्पादन गरेका विद्युतीय कार उपलब्ध छन्।

टाटा, बीवाईडीदेखि एमजी, ओमोडा दीपलसम्म र स्काइवेलदेखि अउडी टेस्ला हुँदै पोर्सासम्मका विद्युतीय कार उपलब्ध छन्। त्यस्तै अवतारदेखि एक्सपाङ हुँदै विभिन्न ब्रान्डका विद्युतीय पिकअपसम्म आउने क्रममा रहेका छन्। 

चीनबाट आयात भइरहेका केही ‘डब्बा’ विद्युतीय कारलाई छाड्ने हो भने पूर्णआकारको पाँच ढोके विद्युतीय कारमा उपभोक्ताका लागि पर्याप्त छनोट गरेर कार किन्ने अवसर उपलब्ध छ।

नेपाली बजारमा २५ लाखदेखि साढे ४ करोड रुपैयाँसम्मका विद्युतीय कार उपलब्ध छन्। उपभोक्ताले विद्युतीय कार किन्दा ध्यान दिनुपर्ने कुरा भनेको ब्रान्डको विश्वसनीयता, सर्भिस र स्पेयर पार्टसको उपलब्धता नै हो। 

बलियो हुँदै सर्भिस र चार्जिङ पूर्वाधार 

सुरुवाती समयमा विद्युतीय कार आउँदा सर्भिस र स्पेयर पार्टस तथा कसरी र कहाँ सर्भिस हुन्छ होला भन्ने कौतुहलता थियो। रेभा नेपाल ल्याएको अग्नी इनर्जीले यो विषयमा धेरै समस्या उजागर गरेर समाधान गर्दै आयो। त्यसपछि २०१७/१८ आइपुग्दा बीवाईडी, कियालगायत ब्रान्डले विद्युतीय कार ल्याएर बिक्री सुरु गरे। त्यसपछि त विद्युतीय कार ब्रान्डहरूको नेपालमा बाढी नै आयोभन्दा फरक नपर्ला। 

एक दुई वर्षअघिसम्म पनि विद्युतीय कारको सर्भिस र स्पेयर पार्टसको समस्या भएको सुनिन्थ्यो। तर अब यो समस्या क्रमिक रुपमा हट्दै गएको छ। ठूला विद्युतीय कार बिक्रेता कम्पनीहरू बीवाईडी, टाटा, एमजी, किया, हुन्डाई, महिन्द्रा, ओमोडा, दिपललगायत ब्रान्डले पर्याप्त संख्यामा दक्ष जनशक्तिसहितको वर्कसप निर्माण गरिरहेको र त्यो बढ्दो क्रममा रहेको छ।

त्यस्तै यस्ता कम्पनीहरूले पर्याप्त मात्रामा स्पेयर पार्टस स्टक गरेर पनि राख्न थालेका छन्। विद्युतीय कारमा समस्या देखिएमा अब तत्काल समाधान हुने अवस्था बनिसकेको छ। 

त्यस्तै सहरी क्षेत्रमा मात्र नभइ हाइवेहरूमा पनि पर्याप्त संख्यामा विद्युतीय कारको चार्जिङ स्टेसन बनिसकेको र थपिले क्रम बढी रहेको छ। नेपाल विद्युत प्राधिकरणले पनि चार्जिङ स्टेसन बनाएको छ। अब प्राधिकरणले चार्जिङ स्टेसन आफै बनाउनेभन्दा निजी क्षेत्रलाई बनाउन सघाउने नीति लिएको छ।

सवारी बिक्रेताहरूले चार्जिङ पूर्वाधारलाई प्राथमिकता दिएकाले आगामी दिनमा यसबाट विद्युतीय कार प्रयोगकर्ताहरूले कहाँ चार्ज गर्ने भन्ने सोच्नु पर्ने अवस्था हट्दै जानेछ। 

यसका साथै टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ब्याट्री डायग्नोस सेन्टर पनि स्थापना गरिरहेको छ। उक्त डायग्नोस सेन्टरमा विद्युतीय कारमा हुने हाइभोल्टेज ब्याट्रीमा भएको समस्या पत्ता लगाउने र ब्याट्रीको मोडुलसमेत फेर्न सक्ने क्षमता रहेको छ।

त्यस्तै बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्सले पनि ब्याट्री प्रिपेयर र व्यवस्थापनमा काम गरिरहेको जनाएको छ। अन्य कम्पनीहरूले पनि यसबारेमा ठोस काम गरिरहेका छन्। 

क्रमिक रुपमा रोडसाइडका वर्कशपहरू पनि विद्युतीय सवारी मर्मत गर्न सक्ने गरि विकास हुँदै जानेछन्। विद्युतीय ससवारीको संख्या बढ्दै जाँदा ‘बिजनेस सेन्स’ देखिएपछि यतातर्फ वर्कशप सञ्चालकहरू आकर्षित हुँदा विद्युतीय सवारी प्रयोगकर्ताहरूले सहजै सेवा पाउने छन्। 

विद्युतीय कारबाट अब नेपाल पछाडि फर्कियो भने त्यसमा एउटैमात्र कारण हुनेछ, त्यो हो उत्पादकहरूले विद्युतीय कार बनाउन छोड्नु। अन्यथा अबको समय नेपाली कार बजारलाई विद्युतीय वा यसको विकल्पमा आउने कारले नै लिड गर्नेछ। 


प्रकाशित : मंगलबार, असोज २९ २०८१०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend