बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

विश्व बजारमा मूल्यवृद्धिसँगै आपूर्ति अवरोधको जोखिम, शिथिलताबाट उठ्न नसकेको नेपाली अर्थतन्त्रमाथि अर्को डर

मंगलबार, असोज २२ २०८१
विश्व बजारमा मूल्यवृद्धिसँगै आपूर्ति अवरोधको जोखिम, शिथिलताबाट उठ्न नसकेको नेपाली अर्थतन्त्रमाथि अर्को डर

इन्धनबाहेक अरु सबै वस्तुको आयात तथा निर्यात पनि यसबाट प्रभावित हुने र महँगीको मार फेरि विश्व अर्थतन्त्रले भोग्ने जोखिम बढेको छ।

काठमाडौं- रसिया-युक्रेन युद्ध त्यसपछि हमास र इजरायलको द्वन्द्व यी सबै घटनाले पनि विश्व बजारमा इन्धनको मूल्यमा अनुमान गरेजति उछाल भने ल्याएन। आपूर्ति प्रणालीमा हुने सम्भावित अवरोधले दुनियाँको इन्धनको चक्र नै प्रभावित पारिदिने धेरैको चिन्ता थियो। तर यी कुनै पनि घटनाले त्यति धेरै असर गरेनन् जति अनुमान गरिएको थियो। 

तर पछिल्लो समयका घटना क्रमले भने इन्धनको चक्र बढी नै प्रभावित हुने धेरैको चिन्ता बढेको छ। ऊर्जा संवेदनशील देशहरूले यसमा झन धेरै चिन्ता व्यक्त गरिरहेका छन्। आयातमा निर्भर हुने देशहरू यसको चपेटामा पर्नसक्ने अनुमान गरिएको छ। 

पछिल्लो एक वर्षमै सबैभन्दा साप्ताहिक उच्च वृद्धिदर अप्रशोधित पेट्रोलियमको मूल्यमा वृद्धि यही गएको साता भयो। ९ प्रतिशतसम्मको साप्ताहिक वृद्धिदर मापन गरिएको छ। जुन सोमबार सामान्य घटेपनि साप्ताहिक वृद्धिदर भने उच्च देखिएको छ। 

पछिल्लो समय इरानले इजारायलमाथि आक्रमण गरेपछि त्यसको प्रतिक्रियामा इजरायलले आक्रमणको चेतावनी दिएपछि इन्धनको मूल्यवृद्धि भएको हो। तर अहिलेसम्म इजरायलले आक्रमण नगरेको र गरेपनि इरानको पेट्रोलियम उत्खनन् क्षेत्रलाई लक्षित नगर्न विश्वभरबाट भइरहेको खबरदारीले काम गर्ने धेरैको आशा छ। 

यदि इरान पनि यो युद्धमा प्रत्यक्ष संलग्न भएको खण्डमा विशेषगरी भारतले पेट्रोल आयात गर्ने रुट प्रभावित हुनेछ। भारतको आधाभन्दा धेरै इन्धन आयातको नियमित रुट प्रभावित हुने र त्यसले आपूर्तिमै प्रभाव नपारे पनि लागत बढाउने निश्चित भएको छ। 

यतिमात्र हुँदा पनि भारतसम्म पुग्दा इन्धनको मूल्यमा भारी वृद्धि हुनेछ। भारतमा हुने इन्धनको मूल्यवृद्धिले नेपालको अर्थतन्त्रलाई पनि प्रभावित पार्ने छ। हमास, लेवनानको हेजबुल्लासँग भिँडिरहेको इजरालसँग इरान पनि मिसिएको खण्डमा युद्धले विस्तारित हुने अवसर पाउने छ र यो त्यस्तो क्षेत्र हो जहाँबाट विश्वको आपूर्ति प्रणाली पनि जोडिन्छ। सिपिङ रुट प्रभावित हुनेछ। 

इन्धनबाहेक अरु सबै वस्तुको आयात तथा निर्यात पनि यसबाट प्रभावित हुने र महँगीको मार फेरि विश्व अर्थतन्त्रले भोग्ने जोखिम बढेको छ।

भारतीय अर्थतन्त्रमा मूल्यवृद्धि हुनेवित्तिकै त्यसको प्रत्यक्ष मार नेपालमा पनि देखिन्छ। करिब ७० प्रतिशतको व्यापार भारतीयसँग भएको नेपाल सिधै प्रभावित हुने भएको छ। मन्दीको मारबाट माथि उठ्न नसकेको नेपाली अर्थतन्त्रमा फेरि अर्को बादल देखिएको छ। 


प्रकाशित : मंगलबार, असोज २२ २०८१०९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend