बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

पुन: लगातार उचाइतर्फ बढ्दै सेयर बजार, ३७ अंकले बढ्यो, ७ अर्बको कारोबार

सोमबार, असोज २१ २०८१
पुन: लगातार उचाइतर्फ बढ्दै सेयर बजार, ३७ अंकले बढ्यो, ७ अर्बको कारोबार

काठमाडौं- गएको साता चार दिन भएको कारोबारमा समग्रमा ११०.७२ अंकले बढेको सेयर बजारमा यो साताको पहिलो र दोस्रो कारोबार पनि उकालोतिर नै लागेको छ। 

यो साता पहिलो कारोबारमा आइतबार ५६.०९ अंकले बढेको बजार सोमबार ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा पुगेको छ। १७६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ। ६६ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लगातार वृद्धिमा लागेर कीर्तिमानी बिन्दु पार हुने अपेक्षाबीच धरमर हुँदै ओरालोतिर देखिएको बजारमा अहिले हरियाली देखिएको हो। गएको साता पहिलो कारोबारमा आइतबार २२.३६ अंकले घटेको सेयर बजार सोमबार ४४.४५ अंकले उकालोतिर लागेको थियो। मंगलबार ११४.७० अंकले बढेको बजार बुधबार २६.०७ अंकले घटेको थियो। 

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा वृद्धितर्फ नै लाग्ने लगानीकर्ताको अपेक्षा रहेको छ।कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा राखेका लगानीकर्ताहरू केही उत्साहित देखिन्छन्।  

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएकाले अब बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार निरन्तर उचाइतर्फ भने बढ्न सकेको छैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहेको छ। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति अनुमान गर्न सहज भने छैन। 


प्रकाशित : सोमबार, असोज २१ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend