काठमाडौं- चालु आर्थिक वर्ष सुरु भएसँगै कर्जा प्रवाहले गति लिन थालेको छ। गत असार मसान्तसम्ममा कुल ५१ खर्ब ७० अर्ब कर्जा प्रवाह भएकोमा असोज १८ गतेमसम्ममा बढेर ५२ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाहरूको पुँजीकोषमा रहेको दबाब हटाएसँगै बैंकिङ प्रणालीमा कर्जाको माग बढ्न थालेको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीकोषमाथिको दबाब कम गर्न रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा २ करोडबाट बढाएर २.५ करोड पुर्याएको छ।
यस्तै असल कर्जामा रहेको कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट घटाएर १.१ प्रतिशत र खराब कर्जा असुली हुनासाथ सुक्ष्म निगरानीअन्तर्गत राखेर ५ प्रतिशत कर्जा नोक्सानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसले बैंकहरूको सञ्चित नाफा बढ्नुका साथै बैंकहरूको पुँजीकोषमाथिको दबाब कम गर्न मद्दत गरेको छ।
यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीकोषको दबाबमा भएका बैंकहरूले पुँजीकोषमा दबाब नभएका बैंकहरूलाई कर्जा बिक्रीको जोखिमभार १०० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गरेको छ। यसबाट पुँजीकोषमा दबाब भएका बैंकहरूले कर्जा बिक्री गरेर पुँजीकोषको दबाब कम गर्न सक्ने अवस्था सृजना भएको छ।
यस्तै राष्ट्र बैंकले पुँजीकोषमा दबाब भएका बैंकहरूलाई अग्राधिकार सेयर जारी गर्न दिने व्यवस्था गरेको छ। अग्राधिकार जारी गर्ने दिशामा केही बैंकहरू अगाडि बढेपनि हालसम्म जारी भएको छैन।
मौद्रिक नीतिका उक्त व्यवस्थाहरूले बैंकको खराब कर्जा घटाउनसमेत मद्दत गर्ने बताइएको छ। विगत दुई वर्षयता बैंकहरूको खराब कर्जा निरन्तररुपमा बढिरहेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा पनि केही बैंकहरूको खराब कर्जा ५ प्रतिशत नजिक रहेको छ।
यस्तै राष्ट्र बैंकले चालु आर्थिक वर्ष शून्य प्रतिशत काउन्टर साइक्लिकल बफर लाग्ने सर्कुलर जारी गरेसँगै बैंक वित्तीय संस्थाहरूको पुँजीमा थप राहत पुगेको छ। जसले गर्दा पछिल्लो समयमा कर्जा विस्तार बढेको हो।
चाडपर्वको समय भएकाले वस्तु आयातमा समेत कर्जा लगानी भएको छ। उपभोग र सेयर बजार चलायमान हुँदै गएकाले पनि कर्जा लगानी बढेको हो।
कर्जा लगानीसँगै निक्षेप संकलन समेत निरन्तररुपमा बढिरहेको छ। विप्रेषण आप्रवाह बढिरहेको र सरकारले आन्तरिक ऋणको भुक्तानी समेत नियमितरुपमा गरिरहेकाले पनि प्रणालीमा निक्षेप बढेको हो। गत असार मसान्तयता बैंकिङ प्रणालीमा करिब १ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप बढेको छ।
गत वर्षको असार मसान्तसम्मा बैंकिङ प्रणालीमा ६४ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत असोज १८ गतेसम्म बढेर ६६ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत नियमितरुपमा तरलता प्रशोचन गरिरहेको छ।
अघिल्लो आर्थिक वर्षको फागुनयता निक्षेप र कर्जाको ब्याजदर नियमितरुपमा घटिरहेको छ। हाल निक्षेपको औषत ब्याजदर करिब ६ प्रतिशत र कर्जाको औषत ब्याजदर ९.६८ प्रतिशतको हाराहारीमा आएको छ। बैंकहरूको आधार दर ७.६८ प्रतिशतमा आएको छ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ७ खर्ब ७९ अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम रहेको छ। बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७८.२० प्रतिशत रहेको छ।
बढ्दो तरलताका कारण ब्याजदर निरन्तररुपमा घट्दै गएपछि राष्ट्र बैंकले साधारण निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा तल आउन दिएको छैन। राष्ट्र बैंकले निक्षेप संकलन दर ३ प्रतिशत कायम गरी प्रणालीबाट तरलता प्रशोचन गरिरहेकाले बैंक वित्तीय संस्थाहरूले साधारण बचतमा ३ प्रतिशतभन्दा कम ब्याज दिएका छैनन्। बैंकहरूले ३ प्रतिशत ब्याजदरमै अन्तरबैंकिङ कारोबारसमेत गरिरहेका छन्।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेकोले बैंकहरूले निक्षेप र कर्जाको ब्याजदर नियमितरुपमा घटाइरहेका छन्।