शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

पाककलामा अन्तर्राष्ट्रिय पहिचान बनाएका ‘यूके बेक अफ द प्रोफेसनल्स' विजेता नारायण

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २१ २०८१
images
images
पाककलामा अन्तर्राष्ट्रिय पहिचान बनाएका ‘यूके बेक अफ द प्रोफेसनल्स' विजेता नारायण

'मैले बनाउने सामग्रीमा गुड र नेपाली अन्नलाई प्रयोग गर्ने सोच छ, त्यसले नेपालको पाककलालाई विश्वभर पहिचान दिलाउनेमा विश्वस्त छु।'

images
images

काठमाडौं- धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गरेका छन्। काठमाडौंमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार हुँदै बेलायत पुगेका नारायणले केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स-२०२४’ जितेपछि उनको चर्चा थप चुलिएको छ। 

images
images
images

इन्टरकन्टिनेन्टल लन्डन ओटुका तर्फबाट नारायण र भारतका तनुज शर्माको जोडीले लण्डनमा भएको प्रतियोगिताको उपाधि जितेको हो। प्रतियोगितामा नारायण र तनुजसँगै रोयल एयरफोर्स क्लबका गेरोल र माइकल तथा सोको प्याटिसेरीका भरत र जोन अन्तिम तीन टोलीमा छानिन सफल भएका थिए।

फाइनलमा १२ टोलीबीच भएको प्रतिस्पर्धामा नारायण र तनुजले ‘गडुदा’ शीर्षकको प्रतियोगितामा आफ्नो सिर्जनशीलता प्रस्तुत गर्दै उपाधि जितेका हुन्। चाँगुनारायणको प्राचीन अभिलेखसँग सम्बन्धित गडुदा नेवारी संस्कृतिको महत्वपूर्ण परिकारमध्येको एक हो। 

images

छनोट प्रतियोगिताको निर्णायकमा चेरिस फिन्डेन र बेनोइट ब्लिन थिए। ‘बेक अफः द प्रोफेसनल्स-२०२४’ विश्वकै प्रतिष्ठित र निकै प्रतिस्पर्धात्मक बेकिङ प्रतियोगिता मानिन्छ। प्रतियोगितामा सेफ नारायणले चिनी, चकलेट, चाउ पेस्ट्री र पाटे सुक्रे जस्ता प्रविधिगत क्षेत्रमा आफ्नो दक्षता देखाएका थिए। 

images

'यो पुरस्कार मेरा लागि निकै ठूलो सफलता हो। त्यसमाथि नेपाल र नेपालीका लागि पनि यो गौरवको कुरा हो', सेफ नारायणले भने। 

काठमाडौंमा विद्यालय तहको पढाई सकेपछि पाककलातर्फ लाग्नुभएका उनले सन् २०१४ मा युएईको दुबईस्थित डबलट्रीमा काम गर्ने अवसर पाए। त्यतिबेला सहायक सेफ रहेका नारायणले क्रमशः पेस्ट्री र बेकरीसम्बन्धी सीप सिके।

दुबई पुगेको एक वर्षपछि नारायणले कतारको दोहास्थित ‘फोर सिजन’ होटलमा काम पाए। त्यहाँ उनले खासगरी चकलेट, केक र ब्रेडसम्बन्धी नयाँ-नयाँ प्रयोग गर्दै सीप विस्तार गरे। 

सन् २०१८ मा सेफ युएईको आबुधाबीस्थित ‘फोर सिजन’ होटलमा समेत काम सुरु गरेका नारायण सन् २०२३ मा कामकै सिलसिलामा बेलायत पुगे। त्यसयता उनी त्यहाँको ओटुस्थित ‘इन्टरकन्टिनेन्टल लण्डन’ होटलमा आफ्नो पाककलाको सीप र अनुभव पस्किरहेका छन्। ‘बेक अफः द प्रोफेसनल्स-२०२४’ का विजेता सेफ तनुज पनि ‘इन्टरकन्टिनेन्टल लण्डन’ होटलमै कार्यरत छन्।  

'धादिङको सानो गाउँदेखि विश्वस्तरीय होटलमा सेफका रूपमा कार्य गर्न पाउनु नै एक किसिमको सफलता हो', नारायणले भने, 'यूके बेकः अफ प्रोफेसनल्स-२०२४ उपाधि जितेपछि आफूमाथि केही नयाँ गर्ने चुनौती थपिएको महसुस भएको छ।'

खासगरी चकलेटप्रतिको मोहका कारण पनि आफूले यो सफलता प्राप्त गरेको नारायण बताउँछन्। 'मेरो पहिलो रोजाइ नै चकलेट हो', उनले भने, 'मलाई गुलियो र क्रिमसँग खेल्न बढी मनपर्छ।' 

आगामी दिनमा नेपाली सामग्रीहरूलाई विश्वस्तरमा प्रवर्द्धन गर्नका लागि आफूले सक्दो मेहनत गर्ने नारायण बताउँछन्। 'मैले बनाउने सामग्रीमा गुड र नेपाली अन्नलाई प्रयोग गर्ने सोच छ', उनले भने, 'त्यसले नेपालको पाककलालाई विश्वभर पहिचान दिलाउनेमा विश्वस्त छु।'

नारायणसँगै उपाधि जित्ने सेफ तनुजको पारिवारिक पृष्ठभूमि चिकित्सा भए पनि उनले पाककलाको करिअरलाई पछ्याएका हुन्। उनले परम्परागत भारतीय मिठाइलाई फ्रान्सेली प्रविधिहरू प्रयोग गरेर आफ्नो डिजर्टहरूमा समावेश गरेका छन्। रासस


प्रकाशित : सोमबार, असोज २१ २०८११२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend