शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

भारतमा उत्पादन घट्दा नेपालको चियाले पाउँदै छ मूल्य, ५२ प्रतिशतले बढ्यो निर्यात

images
सोमबार, असोज २१ २०८१
images
images
भारतमा उत्पादन घट्दा नेपालको चियाले पाउँदै छ मूल्य, ५२ प्रतिशतले बढ्यो निर्यात

यसपटक भारतीय बजारमा अभाव नै हुनेगरी उत्पादन कम भएपछि नेपाली चियाले भाउ पाएको हो। नेपाली चियाको निकासी गत वर्षको तुलनामा ५२ प्रतिशतले वृद्धि भएको छ।

images
images

इटहरी- भारतीय बजारमा सीटीसी चियाको माग बढेसँगै नेपाली बजारमा पनि मूल्य वृद्धि भएको छ। नेपाली उपभोक्ताले समेत महँगोमा चिया किन्नुपर्ने बाध्यता आइपरेको छ। भारतीय बजारमा ६ महिना अगाडिसम्म प्रतिबन्ध लगाइएको नेपाली चियाले एक्कासि भाउ पाएको हो।

images
images
images

भारतले नेपाली चियाको गुणस्तर कम भएको भन्दै प्रतिबन्ध लगाएको थियो। भारतीय पक्षले नेपाली चिया परीक्षणमा बारम्बार प्रश्न उठाएपछि नेपालका चिया उद्योगीहरूले नेपाल सरकारको ध्यानाकर्षण गराए। सोहीअनुसार गत बैशाखमा तत्कालीन कृषिमन्त्री ज्वालाकुमारी साहले समस्या समाधानका लागि आवश्यक पहल गरिदिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरिन्।भारतीय पक्षबाट अवरोध भएको भन्दै मन्त्री साहले दिल्लीस्थित नेपाली दूतावास, गृह मन्त्रालयदेखि कोलकातास्थित महावाणिज्यदूतावाससँग पनि समाधानको लागि पहल गरेकी थिइन्।

निर्यात हुने हरेक दिन नमुना परीक्षण गराउनुपर्ने र परीक्षणमा उत्तिर्ण भएका चियालाई मात्रै स्वीकृति दिएको भारतीय पक्षले नेपाली उद्योगी व्यापारीलाई दुःख दिँदै आएको थियो। एकैपटक ५० करोड रुपैयाँभन्दा बढीको चिया निर्यातमा अवरोध गरेको भारतले अहिले आएर बिक्री खुला गरेको हो। 

images

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार नेपालबाट ५ अर्ब हाराहारीको एक करोड ७४ लाख किलो चिया निर्यात हुँदै आएको छ। जसमा अर्थोडक्स चिया अत्यधिक मात्रामा रहेको र करिब ५० प्रतिशत सीटीसी चिया निर्यात हुने गरेको पराजुलीले जानकारी दिए। काँचो पत्ताको समेत भाउ बढेको बताउँदै उनले पहिला १८ रुपैयाँ पर्ने हरियो पत्ताको मूल्य ४५ रुपैयाँसम्म पुगेको बताए। 

images

उनका अनुसार यसपटक भारतीय बजारमा अभाव नै हुनेगरी उत्पादन कम भएपछि नेपाली चियाले भाउ पाएको हो। गतवर्ष नेपालमा २ करोड २५ लाख किलो चिया उत्पादन भएको बताउँदै उनले यसपटक २५ लाख किलो चिया उत्पादन गिरावट आएको सुनाए। 

tea chiya (2).jpg

भारतमा भने यसपटक चियाको उत्पादनमा ८ देखि १० करोड किलोले गिरावट आयो। चियाको उत्पादन घटेपछि नेपाली चियाको निकासी गत वर्षको तुलनामा ५२ प्रतिशतले वृद्धि भएको हो।

‘वर्ल्ड टी न्युज’ले उल्लेख गरेअनुसार भारतमा चिया उत्पादन हुने मुख्य क्षेत्र पश्चिम बंगालमा नै ३० प्रतिशतभन्दा बढी उत्पादन गिरावट आएको छ। भारतीय चिया एशोसिएसनलाई उद्धृत गर्दै वर्ल्ड टी न्युजले पश्चिम बंगाल र आसाममा चियाको उत्पादन ८ करोड किलोले कमी भएको दाबी गरेको छ। 

भारतीय चिया एशोसिएसनका अध्यक्ष हेमन्त बांगुरका अनुसार समयमा पानी नपर्ने र मौसममा परिवर्तन भएको कारण चिया उत्पादनमा कमी आएको हो। लामो समय बर्षात नभएपछि खडेरी लम्बिएको र वातावरणीय अनुकूलता नमिलेपछि चियाको उत्पादनमा समस्या देखिएको उनले बताएका छन्। भारतमा मे महिनामा पानी कम पर्नुको असर चिया उद्योगमा परेको हो। 

भारतीय बजारमा अभाव चुलिएपछि काँकडभिट्टा नाकाबाट साउन र भदौमा मात्र १ अर्ब १३ करोड ३४ लाखको चिया निर्यात भएको छ। काँकडभिट्टा भन्सारको तथ्यांकअनुसार ४ हजार ४ सय १२ मेट्रिक टन चिया भारत निर्यात भएको हो। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो।

tea chiya (3).jpg

आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा जम्मा २ हजार ९ सय २ टन चिया निकासी भएको थियो। गत आवमा नेपालबाट जम्मा ३ अर्ब १६ करोड ३८ लाख मूल्यबराबरको १३ हजार ४ सय ३३ टन चिया निकासी भएको भन्सारको तथ्यांकमा उल्लेख छ। 

गतवर्ष प्रतिकिलो ९० भारुमा बिक्री हुने नेपाली सीटीसी चिया यसपटक उत्पादकले तोकेअनुसार नै एक किलोको २ सय भारुसम्मका बिक्री हुने गरेको झापा बिर्तामोडका चिया व्यापारी राजीव गिरीले बताए। नेपाली बजारमा खासै माग नभएपछि भारतीय बजारमा निर्यात गर्ने व्यापारीलाई फाइदा भएको उनको भनाइ छ।

नेपालमा उत्पादित चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भइरहेको छ। नेपालमा उत्पादित चियामध्ये निकै थोरै परिमाणमात्र आन्तरिक बजारमा खपत हुन्छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको छ। नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सीटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन्। यसैगरी एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन्।

काँकडभिट्टा नाकाबाट निकासी हुने कृषिजन्य उत्पादनमा अलैँची, चिया, अदुवा, अम्रिसोको निर्यात हुने गरेको छ। चियाको मूल्यमा लामो समयदेखि गिरावट आइरहेको अवस्थामा भारतीय बजारमा उत्पादन अत्यधिक कम भएपछि मूल्य र माग दुवै आकासिएको हो।  


प्रकाशित : सोमबार, असोज २१ २०८१०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend