बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

फोन लोनमा बैंकहरूले असुल्दै छन् १५ प्रतिशतसम्म ब्याज, सेवाशुल्क पनि चर्को

सोमबार, असोज २१ २०८१
फोन लोनमा बैंकहरूले असुल्दै छन् १५ प्रतिशतसम्म ब्याज, सेवाशुल्क पनि चर्को

केही बैंक वित्तीय संस्थाहरूले शून्य प्रिमियम दर निर्धारण गरेर कर्जा प्रवाह गरिरहँदा केहीले वास्तविकमा भन्दा बढी ब्याजदर कायम गरेर कर्जा प्रवाह गरिरहेका छन्।

काठमाडौं- तलब खाताका आधारमा दिइने फोन लोनमा वाणिज्य बैंकहरूले चर्को ब्याज असुली गरिरहेका छन्। बैंकहरूको ब्याजदर घटेर एकल अंकमा आइपुग्दासमेत बैंकहरूले फोन लोनमा १५ प्रतिशतसम्म ब्याज असुली गरिरहेका छन्। 

बैंकहरूको औषत आधारदर ७.६८ प्रतिशत कायम भएको समयमा बैंकहरूले १५ प्रतिशतसम्म ब्याज लिएर ईएमआई निर्धारण गरेका छन्। 

केही बैंकहरूको आधार दर ८ प्रतिशत रहेको छ। उक्त आधार दरमा ४ प्रतिशत प्रिमियम जोड्ने हो भने पनि कर्जाको ब्याजदर १२ प्रतिशतभन्दा बढी कायम हुनु हुँदैन। तर बैंकहरूले बिनाधितो नाम दिएर उच्च ब्याजदर निर्धारण गरेर कर्जा दिने गरेका हुन्। 

केही बैंक वित्तीय संस्थाहरूले शून्य प्रिमियम दर निर्धारण गरेर कर्जा प्रवाह गरिरहँदा केहीले वास्तविकमा भन्दा बढी ब्याजदर कायम गरेर कर्जा प्रवाह गरिरहेका छन्। 

फोन लोनको ब्याजदरमात्रै होइन यसको सेवाशुल्कसमेत निकै उच्च रहेको छ। मोबाइल एप्लिकेसनमार्फत फोन लोन लिनका लागि सेवाग्राहीले सेवाशुल्कबापत १ हजार ९ सय २५ देखि २ हजार रुपैयाँसम्म भुक्तानी तिर्नुपर्ने हुन्छ। उक्त रकम जम्मा नगरी फोन लोन पाउने अवस्था छैन। 

विभिन्न बैंक वित्तीय संस्थाहरूले बिनाधितो कर्जा दिने भन्दै फोन लोन सञ्चालनमा ल्याएका छन्। विभिन्न संस्थाहरूमा काम गर्ने कर्मचारीहरूले तलबका आधारमा फोन लोन प्राप्त गर्छन्। यस्तो सेवा दिइरहेका बैंकहरूमा रहेको तलब खातावालाहरूले मोबाइल बैंकिङ एप्लिकसेनबाटै फोन लोनका लागि आवेदन दिन सक्छन्। 

उक्त आवेदनपछि कर्मचारीको तलबका आधारमा बैंकहरूले नै फोन लोनको लिमिट निर्धारण गरिदिन्छन्। उक्त सीमाभित्र रहेर फोन लोनका अप्लाइ गर्न सकिने सुविधा बैंकहरूले दिएका छन्। फोन लोन लिनका लागि सेवाशुल्कबापतको रकम खातामा जम्मा गरेर प्रकृया सुरु गर्नुपर्ने हुन्छ। 

बैंकहरूको मोबाइल बैंकिङ एप्लिकेसन प्रकृया सुरु गर्दा कर्जाको साँवाब्याज भुक्तानी कार्यतालिका प्राप्त हुन्छ। जसमा सुरुमा ब्याजको रकम बढी र साँवाको रकम कम गरेर ईएमआई निर्धारण गरेर बैंकहरूले ऋण भुक्तानी कार्यतालिका नै दिने गरेका छन्। 


प्रकाशित : सोमबार, असोज २१ २०८११०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend