महोत्तरी- दसैँ पर्वमा रंगिन माटो बेचेर मधेसका गरिब तथा श्रमजीवी वर्गले अतिरिक्त आयआर्जन गर्ने गरेका छन्। दसैँ पर्वका अवसरमा महोत्तरीको विपन्न बस्तीका गरिब श्रमिक माटो बेचेर अतिरिक्त आम्दानी गर्दैछन्।
यसै अवसरमा विभिन्न रंगका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने मधेसको स्थापित परम्पराले अहिले गरिब बस्तीका श्रमिक माटो खन्न टाढाटाढासम्म पुग्ने गरेका छन्। यो कार्यमा महिला बढी देखिने गरेका छन्।
अहिले १०/२० जनासम्मको समूहमा महिला माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का खोस्री रहेका भेटिन्छन्। दसैँमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि विशेषगरी गरिब बस्तीका महिला अहिले विभिन्न रंगका माटो खन्ने, ओसार्ने र मागकर्ताकहाँ पुर्याउने काममा लागेका छन्।
मधेसका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन्। यस्ता घरका भित्ता बर्सेनि दसैँ, तिहार र छठ पर्वअघि माटोले पोतेर रंगाउने चलनले यी पर्वमा विभिन्न रंगका माटोको माग बढ्छ। यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले अतिरिक्त नगद जोहोमा प्रयोग गर्ने गरेका हुन्।
अहिले फरक-फरक रंगका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन्।
'कमेरे र पहेँलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चाँही चुरे नै पुग्नुपर्छ' पर्वकाबीच भङ्गाहा-४ पलारबस्ती नजिकैको रातु कान्लामा पहेँलो र कमेरेमाटो खन्दै गरेकी पलार बस्तीकै सियानकीदेवी बाँतरले भनिन्, 'यही मेहनतले आफ्नो घर पोत्न र दसैँ खर्चको नगद जोहो गर्न माटो लगिन्छ। करिब ४० केजीको एक बोरा माटो लान सके आफ्नो घर पोतेर पनि एक/दुई हजार रुपैयाँ नगद बनाइ गर्जो टार्न सकिन्छ कि भनी यसरी काम गरिरहेकी छु।'
चाडपर्व सुरु भइसकेको अवस्थामा परिवारका सदस्यको सहयोग लिएर गरिब बस्तीका महिला माटो संकलन तथा बिक्रीवितरणमा व्यस्त छन्। 'हेर्नोस न, दसैँले छोपी त हाल्यो, अहिले अलिकति मेहनेत गरे त दुई/चार पैसाको मुख देख्न पाइने छ नि!' यसैगरी भङ्गाहा-६ जमुनियाँकी प्रेमकली चौधरी भन्छिन्, 'यसले घरका नानीहरुको फर्माइस पूरा गर्न सघाउँछ।'
मधेसका खासगरी थारू बस्तीमा अहिले माटो संग्रहको होड छ। थारु महिला विभिन्न रंगको माटोले घर पोत्न, कुन रंगको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन्। 'हेर्नोस् न, हाँस/कुखुरा र परेवा पनि घरघरैजसो पालैकै हुन्छन्, तर थारू बस्तीका घर पुग्दा भुइँमै बसौँबसौँं लाग्ने चिटिक्क देखिन्छ', भङ्गाहा-४ थारूटोल बनराका विष्णुबहादुर बुढाथोकी भन्छन्, 'घर सरसफाइ, रंगरोगन र सजावटमा थारू महिला सधैँ उम्दा देखिन्छन्।'
दसैँमा थारू महिलाको साथसङ्तले अन्य जाति-समुदायका गरिब महिला पनि अहिले माटो संग्रहमा लागेका छन्। माटो जम्मा गर्नसके मेलामा रमाउन र स-साना नानीहरुको खानपिनको रहर पुर्याउन सहयोग पुग्ने यस काममा लागेका श्रमिक महिलाको भनाइ छ।
मधेसका ग्रामीण बस्तीमा बाँसका कच्ची घर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ। प्रत्येक वर्षको दसैँ, तिहार र छठमा घर पोत्ने चलनले गरिब बस्तीका महिलालाई माटो बेचेर दुई/चार रुपैयाँ आर्जनको अवसर बनेको हो। अहिले संग्रह गरिएको माटो तिहार र छठमा पनि बिक्री हुने श्रमिक महिला बताउँछन्। रासस