शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

व्यापारीको गुनासो - मान्छेहरुको चहलपहल त छ, तर व्यापार छैन

images
आइतबार, असोज २० २०८१
images
images
व्यापारीको गुनासो - मान्छेहरुको चहलपहल त छ, तर व्यापार छैन

दसैँ र तिहारजस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ। तर यसपटक भने राम्रो व्यापार नभएको व्यापारीको अनुभव छ।

images
images

काठमाडौं- 'रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्' न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन्। तर ग्राहकको सङ्ख्या भने पातलो छ।

images
images
images

दसैँ र तिहारजस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ। तर यसपटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ। उनी भन्छन्, 'दुई/चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपाली व्यापार कम छ।'

पर्वको मुखैमा प्राकृतिक विपतको असर बजारमा देखिएको उनको भनाइ छ। यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ कि भन्ने उनको झिनो आशा छ।

images

दसैँमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्वपूर्ण लाग्छ। चिसो मौसम सुरु भएकाले दसैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्छिन्। 'आफ्नो भन्दा छोराछोरीलाई दसैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ', उनले भनिन्।

images

ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यसपाली मुल घर सर्लाही नजाने बताए। बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए।

'काठमाडौंमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ', उनले भने, 'किनमेल पनि भर्खरै सुुरु हुँदैछ।' उनले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताए। पर्वमा भारी छुट पाउने हुँदा उनलाई आवश्यक सामग्री किन मनपर्ने सुनाए।

काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैँमा किनमेलमा खासै जोड नदिएको बताइन्। ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाइन्।

गाँउ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालीको दसैँ मनाउने जाँगर चलेको छैन। दसैँ पनि काठमाडौंमै मनाउने योजना रहेको सुनाइन्। 'आफन्ती सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी?', उनले भनिन्।

भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए। कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उनको अनुभव छ। 'मान्छेहरुको चहलपहल त छ, तर व्यापार सोचेजस्तो छैन', उनले भने। रासस


प्रकाशित : आइतबार, असोज २० २०८११५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend