सिरहा- केही दिनअघि आएको बाढीले कमला नहर सिँचाइ आयोजनामा करिब सात करोड ५० लाख रूपैयाँ बराबरको भौतिक क्षति पुर्याएको कमला नहर सिँचाइ आयोजना कार्यालले जनाएको छ।
नहर, ‘साइफन’ तथा सिँचाइको प्रमुख केन्द्रमा बालुवा पसेर क्षति पुर्याएको हो। आयोजना प्रमुख वीरेन्द्र यादवका अनुसार नहरको पूर्वी क्षेत्रको प्रणाली सिरहा, पश्चिमी क्षेत्रको प्रणाली तथा हर्दिनाथ सिँचाइ प्रणाली गरी साढे सात करोडभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ ।
सिरहा र धनुषाको गरी कुल २७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइरहेको सो आयोजनाको क्षमता थप भइ पछिल्लो समय ३८ हजार हेक्टर पुगेको थियो। अविरल वर्षासँगै आएको बाढीबाट क्षतिग्रस्त हुँदा सिँचाइमा समस्या भएको प्रमुख यादवले बताए।
कमला नहरसहित नहरसम्म पुग्ने ग्राभेल बाटोमा क्षति हुनुका साथै भौतिक संरचना नष्ट भएका अयोजना कार्यालयका सबइञ्जिनियर सुभाष यादवले बताए। ती संरचना पुनःनिर्माण गर्न आर्थिक अभाव भएकाले सरोकार भएका निकायले सहयोग गर्नुपर्ने उनले उल्लेख गरे।
कर्जनहा नगरपालिकाका ममता यादवले यसअघि कमला नहर यहाँका किसानका लागि वरदान जस्तै बनेको बताए। यथाशीघ्र पुनःनिर्माण गरी किसानलाई सहज रुपमा सिँचाइको सुविधा पुर्याउनुपर्नेमा उनले जोड दिए।
आयोजनाले धनुषाका चारनाथ, सबैला, सहिद, विदेह, कमला, हंसपुर नगरपालिका तथा औरही र जनकनन्दनी गाउँपालिकाका साथै सिरहातर्फ कर्जन्हा, मिर्चेया, कल्यानपुर, सिरहा र सुखिपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिकामा सिँचाइ सुविधा पुर्याएको छ।
विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले उक्त आयोजना शिलान्यास गरेका थिए। आयोजनाले विसं २०४० देखि सिँचाइ सुविधा पुर्याउन थालेको हो। रासस