शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

पर्यटकको रोजाइमा माग्दीको टोड्के

images
शनिबार, असोज १९ २०८१
images
images
पर्यटकको रोजाइमा माग्दीको टोड्के

टोड्के र झिँका बासिन्दाहरुले टोड्के विकास कोष गठन गरि दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाइ गरेका छन्।

images
images

म्याग्दी- म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे। टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो।

images
images
images

रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ। गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ।  

जंगलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईवस्तु अडिकिने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँ भन्दाभन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्बदन्ती रहेको पूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिए।

images

'हामी तन्नेरी हुदाँसम्म टोड्केमा गाईभैँसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,' ७० वर्षीय आचार्यले भने, 'प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ।'

images

समुन्द्री सतहदेखि दई हजार ४ सय ३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तव्य हो। काठमाडौंबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन दुवै चंगा बनाएको अनुभव सुनाए।  

'शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,' उनले भने, 'बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृष्य जति हेरे पनि धितै मर्दैन।'

ऋतु, मौसम र समयअनुसार टोड्केमा फरक फरक दृष्य अवलोकन गर्न सकिन्छ। फागुन-चैतमा टोड्केको दायाँ र बाँया रहेको जंगलमा ढकमक्क फुल्ने लालीगुराँसको दृष्य मनमोहक हुन्छ। पुस-माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ। बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने झिँका स्थानीय गमबहादुर पाइजाले बताए।

'पृष्ठभूूमिमा गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लर्कनसँगै सुर्योदय र सुर्यास्तका समयमा फरक फरक दृष्य देखिन्छ,' उनले भने, 'शान्त वातावरण। बर्खामा भुइँफूलले रंगिएको फाँटबाट देखिने शरदयामको हिमाली मुस्कान। कुहिरो र हिमालको लुकामारी। चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ।'

स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ। डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ। शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो।

स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा रहेको छ। आश्रम परिसरमा गौशाला पनि रहेको छ।

मगरको पुर्ख्यौली नाच, सोरठी, यानीमायाँ, सालैजो, भजन कीर्तन र पञ्चेबाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो। टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको रघुगंगा गाउँपालिका-५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताए।

'वनभोज खान जानेहरुका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ,' उनले भने, 'खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाइ अल्टिच्युड खेलमैदान निर्माणाधीन छ।'

टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ। ६ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जनासम्म बास बस्न मिल्ने शौचालयसहितका कोठा र टेन्टको सुविधा रहेको सञ्चालक भीम शेरचनले बताए। दसैँतिहार, नयाँ वर्ष, फागु पूर्णिमाको समयमा घुम्न र बिदा मनाउनका लागि आन्तरिक पर्यटकहरु टोड्के आउने गरेका उनले बताए। नवविवाहित जोडीहरुको लागि टोड्के हनिमुन गन्तव्य बनेको उनले बताए।

तालिम गोष्ठि सञ्चालन गर्न सेमिनार हल पनि छ। विद्युत, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ। स्वर्गद्धारी आश्रमको तिर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ। टोड्के घुमेर फर्कदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ।

बेनीबाट गाडीमा टोड्के पुग्ने पाँचवटा सडक छन्। बेनी-अर्थुङ्गे-झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी-अर्थुेङ्ग-पात्लेखेत-वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी-अर्थुङ्गे-पुलाचौर-डडुवा-पूर्णगाउँ हुदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ।

२९ किलोमिटर दुरीको बेनी-सिम-कुहँ-पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ। उन्नाइस किमी दुरीको बेनी-गलेश्वर-पात्लेखेत-वाखेत-टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ।

पैदलयात्रा गर्न चाहनेहरुका लागि बेनी देखि अर्थुङ्गे-पछै-ढोलथान-केभहिल-जगन्नाथ-ढडेकोट दरवार-टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ। टोड्केको पूर्वोत्तर दिशामा झिँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन्।

धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ। झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ। यी गाउँमा होमस्टे सुविधा छ।

टोड्केदेखि मालिका धुरी-ठाडाखानी-कुइनेखानी- झिङखानी- चौरखानी- घ्याँसीखर्क हुँदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुँदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। टोड्के पुग्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको उनले जानकारी दिए।

टोड्केदेखि झिँ-पाखापानी-कोटगाउँ-रायखोर-मुलपानी हुँदै घ्यासीखर्क जोडिने धौलागिरि सेञ्चुरी पदमार्ग पनि रहेको छ। म्याग्दी र मुस्ताङ जोड्ने बेनी-जोमसोम सडकले परम्परागत पदमार्ग पूर्णरुपमा विस्थापित भएको अवस्थामा टोड्के धौलागिरि पानोरमा सांस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्ग महत्वपूर्ण वैकल्पिक रुटका रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए।

सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरु मासिदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी पदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुने प्रचुर सम्भावना रहेको ट्रेकिङ व्यवसायी एसोसिएसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र गण्डकीले टोड्केको प्रर्वद्धनमा सघाएका छन्। पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत कुन्दन मिश्रले टोड्केको प्रर्वद्धनका लागि गत आर्थिक वर्षमा बुकलेट बनाएर पोखराका होटलहरुमा वितरण तथा वृत्तचित्र बनाएर सामाजिक सञ्जालबाट ‘डिजिटल मार्केटिङ’ गरिएको बताए।

टोड्के र झिँका बासिन्दाहरुले टोड्के विकास कोष गठन गरि दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाइ गरेका छन्। रासस


प्रकाशित : शनिबार, असोज १९ २०८११२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend