गतसाता आर्थिक प्रक्षेपण र अवस्थाको मूल्यांकनका हिसाबले दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालको अर्थतन्त्र सुधारिँदै गएको टिप्पणी गरे। एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) दुवैले नेपालको अर्थतन्त्रमा खासगरी कृषि उत्पादन, पर्यटन आगमन र विद्युत् उत्पादनको सकारात्मक प्रभाव परेको बताएका छन्।
एडीबीले समयमै मनसुन भित्रिएकाले कृषि उत्पादन बढ्ने, विद्युत् उत्पादन वृद्धिले औद्योगिक उत्पादनमा टेवा पुग्ने र पर्यटन आगमन बढेर कुल गार्हस्थ उत्पादन वृद्धिमा सघाउने टिप्पणी गरेको छ। एडीबीले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।
आइएमएफले पनि नेपालको वैदेशिक मुद्राको सञ्चिति उच्च रहेको, विप्रेषण बढेको, पर्यटन आगमन बढेको र मूल्यवृद्धि नियन्त्रणमा रहेको कारण अर्थतन्त्र सुधारको दिशामा गएको जनाएको छ। यी दुई अन्तर्राष्ट्रिय दातृ निकायले प्रक्षेपण गरेजस्तै गतवर्ष जस्तो नभइ यसवर्ष देशको आर्थिक स्थितिमा केही सुधार हुने देखिएको छ। तर हालैको बाढी, पहिरोले त्यस प्रक्षेपणलाई चुनौती दिएको छ।
सन् २०२४ को आठ महिनामै सात लाखभन्दा बढी पर्यटक नेपाल भित्रिइसकेका छन्। गतवर्ष सो अवधिमा मात्र छ लाख पर्यटक भित्रिएका थिए। त्यसैगरी विप्रेषणको कुरा गर्दा चालु आवको साउन महिनामै एक खर्ब ३७ अर्ब भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत आवको सोही महिनामा एक खर्ब १६ अर्ब मात्र विप्रेषण भित्रिएको थियो।
त्यसैगरी वैदेशिक मुद्राको सञ्चिति पनि बढेर चालु आवको साउनसम्म १५ अर्ब ५८ करोड डलर (२० खर्ब ९२ अर्ब २२ करोड नेरु) पुगेको छ। यसले साढे १३ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ। वैदेशिक मुद्राको सञ्चिति पनि गत आवको साउनसम्म १५ अर्ब १८ करोड डलर थियो।
त्यसैगरी आयात घट्दा र विप्रेषण बढ्दा शोधानान्तर (रकम बाहिरिने र भित्रनेबीचको अन्तर) बचत पनि बढेको छ। चालु आवको पहिलो महिना साउनमै शोधानान्तर बचत ४० अर्ब ९० करोड पुगेको छ। गत वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ३६ अर्ब ६३ करोडले बचतमा थियो। चालु आवको पहिलो महिनामै चालु खाता ३० अर्ब ३७ करोड बचतमा छ। गत आवकोे सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड बचतमा थियो।
त्यसैगरी अर्थतन्त्रमा मूल्यवृद्धि पनि नियन्त्रणमा आएको देखिन्छ। चालु आवको साउन महिनामा उपभोक्ता मूल्य वृद्धिदर ४.१० प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको सोही अवधिमा ७.५२ प्रतिशत मूल्यवृद्धि रहेको थियो।
अर्थतन्त्रको धेरैजसो बाह्य र केही पर्यटन, विद्युत् उत्पादन तथा कृषि क्षेत्रलगायतको आन्तरिक क्षेत्रसमेत सुधारिँदै गएको हो। फलस्वरुप एडीबी र आइएमएफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले आर्थिक बृद्धि हुने प्रक्षेपण गरे। तर यसबीच विगत केही दिनयताको घनघोर वर्षा, त्यसले निम्त्याएको बाढी र पहिरोले नेपालमा ठूलो मात्रामा जिउधनको क्षति गरिसकेको छ। क्षतिको आँकलन कति हुनेछ त्यो यकिन त भइसकेको छैन। खासगरी कोशी र बागमती प्रदेशमा आएको बाढी पहिरोले पुर्याएको क्षतिले आर्थिक वृद्धि र प्रक्षेपणलाई नै चुनौती दिएको छ।
यस प्राकृतिक विपत्तिले अव्यवस्थित विकास, बसोबास र सहरीकरणले जहिले पनि नोक्सानी पुर्याउन सक्ने पाठ पनि सिकाएको छ। यसपटकको बाढी, पहिरोमा परी दुई सयभन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। त्यसैगरी करिब चार सय घर पूर्णदेखि आंशिक रुपमा क्षति भएको, देशका अधिकांश राजमार्गमा कुनै न कुनै प्रकारको क्षति पुगेको, दुई दर्जन बढी पुल पूर्णरुपमा भत्किएको अवस्था छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक तथा पुलहरूमा मात्र दुई अर्ब ५० करोड बढीको क्षति भएको छ। त्यसैगरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अनुसार १६ वटा जलविद्युत् कम्पनीमा दुई अर्बभन्दा बढीको क्षति भएको छ।
विपद्ले कृषि क्षेत्रमा त्यत्तिकै नोक्सानी भएको छ। प्राधिकरणको अनुसार जनताको निजी सम्पत्ति, सार्वजनिक सम्पत्तिमा पुगेको क्षति र त्यसको पुनःनिर्माणमा लाग्ने खर्च जोड्दा यस विपत्तीबाट कम्तिमा एक खर्बको नोक्सानी भएको छ। सडक तथा पुलहरू भत्किँदा देशले आगामी दिनहरूमा भोग्ने आर्थिक क्षतिको पाटो अर्को पनि हुन्छ। सुधारोन्मुख बन्दै गएको अर्थतन्त्रलाई बाढी तथा पहिरो, डुबानले नराम्ररी धक्का दिएको छ। फलस्वरुप देशको आर्थिक वृद्धि र विस्तारमा त्यसले नकारात्मक असर गर्नेछ।
विपद्ले कृषि क्षेत्रमा त्यत्तिकै नोक्सानी भएको छ। प्राधिकरणको अनुसार जनताको निजी सम्पत्ति, सार्वजनिक सम्पत्तिमा पुगेको क्षति र त्यसको पुनःनिर्माणमा लाग्ने खर्च जोड्दा यस विपत्तीबाट कम्तिमा एक खर्बको नोक्सानी भएको छ।
सडक तथा पुलहरू भत्किदा देशले आगामी दिनहरूमा भोग्ने आर्थिक क्षतिको पाटो अर्को पनि हुन्छ। सुधारोन्मुख बन्दै गएको अर्थतन्त्रलाई बाढी तथा पहिरो, डुबानले नराम्ररी धक्का दिएको छ। फलस्वरुप देशको आर्थिक वृद्धि र विस्तारमा त्यसले नकारात्मक असर गर्नेछ।
नयाँ सरकार बनेर अर्थमन्त्री विष्णु पौडेल भएपछि सेयर बजार पनि केही हदसम्म उकालो लाग्न थालेको छ। नयाँ मौद्रिक नीतिले घरजग्गा तथा सेयर बजारको लागि केही सहजता पनि दिएको हो। फलस्वरुप सेयर बजार र घरजग्गा कारोबार दुबै क्षेत्रमा सुधार आएको हो।
नजिकिएको बडादसैँ, तिहारजस्ता चाडबाडले अर्थतन्त्रलाई थप गतिशील बनाउने, व्यवसायीहरूको व्यापार बढ्ने आशा गरिएको छ। समग्रमा अर्थतन्त्रको बाह्य परिसूचक अत्यन्त सकारात्मक रहेको र आन्तरिक पक्षमा क्रमिक सुधार आउँदै गरेको अवस्था हो। भदौ अन्तिम सातापछि वाणिज्य बैंकहरूले पनि कर्जालाई विस्तार गर्न थालेका हुन्। खासगरी बैंकहरूको कर्जाकै ब्याजदर पनि एकल अंकनजिक आउँदा ऋण लगानी बढ्न थालेको छ।
नेपाल राष्ट्र बैंकको अनुसार चालु आव २०८१/८२ को असोज १० गतेसम्म बैकिङ प्रणालीमा ६५ खर्ब ३२ अर्ब निक्षेप संकलन रहेको छ। यसमध्ये वाणिज्य बैंककहरूमा नै ५८ खर्ब सात अर्ब निक्षेप रहेको छ। सो अवधिसम्ममा बैक तथा वित्तीय संस्थाहरूले कुल ५२ अर्ब ३८ करोड रकम कर्जा लगानी गरेका छन्। राष्ट्र बैकका अनुसार औसत सिडी रेसियो ७८.८० रहेको छ। अहिलेको अवस्थामा छ खर्ब लगानीयोग्य तरलता रहँदा बैंकहरूले कर्जा विस्तार गर्न थालेका हुन्। कांग्रेस-एमाले गठबन्धनको वर्तमान सरकार बनेपछि राजस्व संकलनमा पनि केही सुधार देखिन्छ।
महालेखा परीक्षकको कार्यालयको अनुसार चालु आव २०८१/८२ को साउन र भदौ महिनाको अवधिमा एक खर्ब ६९ अर्ब रुपैँया राजस्व संकलन भएको छ। जुन चालु आवको बजेटमार्फत लिइएको लक्ष्यको ११.६६ प्रतिशतले बढी हो। वास्तवमा आयात-निर्यात व्यापारमा आएको सुधारले नै राजश्व संकलनमा सुधार आएको देखिन्छ।
यसबीच सेयर बजारमा आएको सुधारले साउन महिनामा मात्रै सरकारलाई २० अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन भएको छ। सेयर बजारमै बैंकहरूले यसबीच ७० अर्ब बढी कर्जा प्रवाह गरेका छन्। यसले अर्थतन्त्र क्रमशः सकारात्मक दिशातिर जाँदै गरेको प्रष्ट गर्दछ।
आन्तरिक अर्थतन्त्रको चित्र प्रस्तुत गर्ने सेयर बजार परिसूचक नयाँ आव सुरु भएयता सुधारिएको हो। नेप्से १९ सयदेखि दुई हजार अंकमा बरालिइरहँदा साउनयता तीन हजार अंकको उचाइ भरेर अहिले केही सुधार भएको देखिन्छ। खासगरी भित्रिएको दसैँ, तिहारजस्ता चाडबाडको दबाबले पनि सेयर बेच्ने र खर्च जुटाउनेहरू धेरै हुँदा बजारमा केही फरक देखिन्छ। चाडबाडपछि बजारले फेरि उही लय समात्ने धेरैको आशा छ।
त्यसैगरी पर्यटन क्षेत्रमा पनि विगत वर्षहरूभन्दा सुधार हुँदैछ। पर्यटन आगमनको मौसम सुरु भएयता होटल तथा रेष्टुरेन्टहरू भरिन थालेका छन्। ट्राभल एजेन्सी तथा टेकिङसँग सम्बन्धित जनशक्तिहरूले रोजगारी पाएका छन्। त्यसकारण केही महिनायता अर्थतन्त्रमा क्रमिक सुधार पक्कै हो। तर अपसोच हालैको प्राकृतिक विपत्ति (बाढी, पहिरो, डुबान) ले ठूलो मानवीय तथा भौतिक क्षति गरेको अवस्था छ।
यसले सुधारिँदै गएको अर्थतन्त्रमा ठूलो धक्का दिएको छ। यस्तो शोकलाई शक्तिमा बदलेर अर्थतन्त्रको सुधार तथा पुनरुउत्थानमा सरकारले डटेर लाग्नुपर्ने आवश्यकता छ। देशको आन्तरिक अर्थतन्त्र अझै गतिशील बनाएर रोजगारी र अवसरहरूको सिर्जना गराउनेमा सरकारले सिर्जनात्मक प्रयास थाल्नुपर्छ। बाढी र विपत्तीहरूबाट पाठ सिकेर आधुनिक र दिगो विकासको पथमा सरकारले पाइला चाल्नुपर्छ।
(आर्थिक विषयमा जानकार लेखक गौतमको यो लेख राष्ट्रिय समाचार समितिमार्फत प्रकाशित गरिएको हो।)