सोमबार, कात्तिक १२ गते २०८१    
images
images

त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोसेढुंगा : ऊर्जामन्त्री खड्का

images
बिहीबार , असोज १७ २०८१
images
images
त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोसेढुंगा : ऊर्जामन्त्री खड्का

ऊर्जामन्त्री दीपक खड्काले छिमेकी देशका सार्वजनिक र निजी क्षेत्रलाई नेपालको जलविद्युत आयोजनामा लगानी गर्नसमेत आग्रह गरे।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल-बंगलादेश र भारतबीचको त्रिपक्षीय ऊर्जा सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोसेढुंगा साबित भएको बताएका छन्।

images
images
images

नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट वोर्ड र एनटीपीसी विद्युत व्यापार निगम भारतबीच भएको त्रिपक्षीय विद्युत सम्झौता कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुंगा साबित भएको बताएका हुन्।

मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्ने भएकाले आजको कार्यक्रम नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको बताए। 'आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बंगलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको ६ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो,' मन्त्री खड्काले भने।

images

मन्त्री खड्काले बंगलादेशको नयाँ अन्तरिम सरकार र बंगलादेशीलाई मुलुक सुधारका एजेण्डामा सफलताको कामना गर्दै बधाई दिए। उनले सन् १९७२ देखि नेपाल र बंगलादेशबीचको कुटनीतिक सम्बन्ध भएदेखि सम्बन्धहरु सुमधुर र प्रगाढ हुँदै आएको उल्लेख गरे। सार्क सदस्य राष्ट्रको रुपमा बंगलादेशले क्षेत्रीय चासोका विषयमा खेल्दै आएको भूमिका सराहनीय रहेको उनको भनाइ छ।

images

ऊर्जामन्त्री खड्काले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई ऊर्जा व्यापार सम्बन्धले जनस्तरमा नै थप सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुगको बताए। ऊर्जामन्त्री खड्काले नेपालमा उत्पादित विद्युत सीमापार प्रसारण लाइनबाट बंगलादेश पुग्नका लागि कसहज बनाउन भारत सरकारको अटल एवम् निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे।

मन्त्री खड्काले नेपालले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने प्रतिबद्धता जनाएको र १५ हजार मेगावाट निर्यातका लागि छुट्याएकाले उक्त कार्यलेले नेपालको जलविद्युत क्षमताको उपयोग गर्दै दृढ संकल्पलाई झल्काएको बताए। 'निर्बाध सीमापार ऊर्जा व्यापार आवश्यक छ, नेपाल कुशल र वातावरणमैत्री ऊर्जा स्रोतमा सुधारिएको पहुँचमार्फत दिगो विकास लक्ष्यलाई अगाडि बढाउन चाहन्छ, स्वच्छ ऊर्जाको लागि पेरिस सम्झौतामार्फत निर्धारित साझा लक्ष्य हासिल गर्न सामुहिक प्रतिबद्धता चाहिन्छ,' मन्त्री खड्काले भने।

ऊर्जामन्त्री खड्काले छिमेकी देशका सार्वजनिक र निजी क्षेत्रलाई नेपालको जलविद्युत आयोजनामा लगानी गर्नसमेत आग्रह गरे। उनले बंगलादेश, भुटान, भारत र नेपालमा ग्रिड पूर्वाधार एकीकृत गर्नाले नेपालमा जलविद्युत विकासलाई गति दिन सकिने बताए। मन्त्री खड्काले आजको त्रिपक्षीय सम्झौताले फराकिलो बहुपक्षीय ऊर्जा साझेदारीको घोषणा गरेको उल्लेख गरे। भारतको साथले नेपालले क्षेत्रीय ऊर्जा व्यापारको नयाँ युगको सुरुवात गर्दै ऊर्जा क्षेत्रमा सफल सहयोगी मोडल स्थापना गर्न सक्षम भएको उनको भनाइ छ। 

ऊर्जामन्त्री खड्काले त्रिपक्षीय विद्युत बिक्री सम्झौताअन्तर्गत ४० मेगावाट प्रारम्भिक क्षमताका साथ यो प्रयास सुरु गर्दा सय माइलको यात्रा एउटै पाइलाबाट सुरु हुन्छ भन्ने आफूलाई स्मरण भइरहेको बताए। मन्त्री खड्काले उक्त सम्झौताले नेपालको छिमेकी राष्ट्रहरुको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। ऊर्जा क्षेत्रमा साझा लक्ष्यलाई प्राप्त गर्न भारत र बंगलादेशसँग मिलेर सहकार्य गर्न आफू तत्पर रहेको मन्त्री खड्काको भनाइ थियो।

सम्झौता कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, बंगलादेशका अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसन, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवद्धय सुरेश आचार्य र सरीता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट वोर्ड र एनटीपीसी विद्युत व्यापार निगम भारतका प्रतिनिधि, नेपालस्थित भारत र बंगलादेशका प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको थियो।


प्रकाशित : बिहीबार , असोज १७ २०८११७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend