ताप्लेजुङ- पाँचथरको हेवाखोलास्थित बेलिब्रिज बाढीले बगाएपछि ताप्लेजुङको आवागमन ठप्प भएको छ। आवागमन रोकिएपछि वैकल्पिक मार्गको खोजी सुरु गरिएको छ।
वैकल्पिक मार्गको रूपमा फुङलिङ-बहानन्दे-दोभान-हाङपाङ हुँदै तेह्रथुमको आठराई सङ्क्रान्तिबाट मध्यपहाडी राजमार्ग प्रयोग गरेर तराई निस्कने योजना अघि बढाइएको छ।
वैकल्पिक मार्ग सञ्चालन गर्न ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू र तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमलिम्बूले पहल गरेका छन्।
आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष पोमूले बाटोको अवस्था ठीकै रहेको र ठाउँ-ठाउँमा मर्मत गर्नुपर्ने भए पनि दुवै गाउँपालिकाले सहयोग गरी यातायात सञ्चालन गर्न सकिने बताए।
आठराई गाउँपालिकाले तेह्रथुमतर्फको भागको मर्मत सुरु गरेको छ भने आठराई त्रिवेणीले ताप्लेजुङतर्फको बाटो मर्मत गरिरहेको छ। रासस