काठमाडौं- पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माणका लागि आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सम्झौता भएको छ। भारतको नयाँ दिल्लीमा पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण कार्यका लागि बीटूबी फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर भएको हो।
आज बिहीबार नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसनका डाइरेक्टर सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता समारोहमा भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेसनका चेयरम्यान सतिस कुमारको उपस्थिति रहेको थियो।
सम्झौतामा उल्लेखित परियोजनाहरूमा भारत सरकारको करिब १५ अर्ब रुपैयाँ अनुदान सहयोग रहनेछ।
नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनका पदाधिकारीहरूको समुपस्थितिमा भएको बीटूबी फ्रेमवर्क एग्रिमेन्टमा देहाय बमोजिमका परियोजनाहरूको कार्य अगाडि बढाउने समझदारी भएको छ-
१. भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने।
२. नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुने।
३. चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने।