शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

नेपाल र बंगलादेशबीच विद्युत व्यापारमा यी ६ बुँदाका आधारमा हुँदैछ सम्झौता

images
बिहीबार , असोज १७ २०८१
images
images
नेपाल र बंगलादेशबीच विद्युत व्यापारमा यी ६ बुँदाका आधारमा हुँदैछ सम्झौता

बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो।

images
images

काठमाडौं- लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बंगलादेश जाने भएको छ। भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ। आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ।

images
images
images

बुधबार नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको छँठौँ बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य तथा  बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हविबुर रहमानको सहअध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको थियो। 

उक्त बैठकले मंगलबार सम्पन्न भएको दुवै देशका सहसचिव सम्मिलित संयुक्त कार्य समूहको बैठकले गरेका सिफारिसहरूमा छलफल गरेको थियो। उक्त बैठकमा नेपाल-बंगलादेश बीच ४० मेगावाट विद्युत व्यापारको सुरुवातको आज बिहीबार नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसि विद्युत व्यापार निगमबीच हुने त्रिपक्षीय सम्झौता लगायत नेपाल-बंगलादेश अन्तरदेशीय विद्युत प्रसारण लाइनहरूको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी-३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तर्देशीय विद्युत आयात-निर्यात गर्ने लगायतका विषयहरूमा छलफल भएको थियो।

images

बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो। दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको आज सम्पन्न छैटौँ बैठकले बिहीबार सम्झौता गर्ने निर्णय गरेको छ।

images

देहाएबमोजिम बुँदाका आधारमा सहमति हुने छ - 

१. नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गर्नका लागि आज नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसि विद्युत व्यापार निगम, भारत बीच विद्युत विक्री सम्झौतामा हस्ताक्षर गर्ने। 

२. सुनकोशी-३ जलविद्युत आयोजना नेपाल, बंगलादेश र भारतबीच सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र उक्त आयोजना विकास गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौतामा अर्को बैठक अगाडि टुङ्गो लगाउने।

साथै, सुनकोशी-३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुऱ्याउने सुनिश्चितताको लागि भारत सरकारलाई अनुरोध गर्ने। 

३. नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरूको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने। 
४. नेपालको जलविद्युत क्षेत्रमा लगानीको प्रवर्द्धन गर्नको लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरूको खोजी गर्ने।

५. वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र सस्टेनेबल एण्ड रिनिवेबल इनर्जी डिभलपमेन्ट अथोरिटी बंगलादेशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रलाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रुप दिने र हस्ताक्षर गर्ने।

६. नेपाल, बंगलादेश र भारत बीच विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विद्युत क्षेत्रमा सहकार्य गर्नका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ-आफ्नोतर्फबाट पहल गर्ने।

साथै, छलफलको क्रममा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत बंगलादेशले खरिद गर्ने सम्बन्धमा बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र जीएमआर भारतबीच हुने पावर सेल्स एग्रिमेन्ट सम्बन्धमा समेत बंगलादेश पक्षबाट जानकारी प्राप्त भयो।

यसअघि २०८० जेठ १ गते नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत तथा बंगलादेशको तर्फबाट विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव डा. साइद मासुम अहमद चौधरीको सहअध्यक्षतामा बसेको नेपाल बंगलादेशको संयुक्त कार्य समूहको छैठौँ बैठकले अन्तरदेशीय विद्युत प्रसारण लाइनहरूको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी-३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तर्देशीय विद्युत आयात-निर्यात गर्ने लगायतका विषयहरूमा आवश्यक छलफल गरी निर्णयका लागि ऊर्जा सचिवस्तरीय समितिलाई सिफारिस गरेको थियो।

साथै सन् २०१८ अगष्ट १० मा ऊर्जा क्षेत्रमा सहकार्यका लागि सम्पन्न समझदारीको दफा ५ मा भएको व्यवस्थाअनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण, निर्देशन एवं यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय समिति तथा सहसचिवस्तरीय कार्य समूह गठन गरिएको थियो।


प्रकाशित : बिहीबार , असोज १७ २०८११२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend