बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजारमा लामो समयपछि व्यापक उछाल, ११४ अंकले बढ्यो, ७ अर्ब ६१ करोडको कारोबार

मंगलबार, असोज १५ २०८१
सेयर बजारमा लामो समयपछि व्यापक उछाल, ११४ अंकले बढ्यो, ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौं- सेयर बजारमा लामो समयपछि वृद्धितर्फको उछाल देखिएको छ। लगातार वृद्धिमा लागेर कीर्तिमानी बिन्दु पार हुने अपेक्षाबीच धरमर हुँदै ओरालोतिर देखिएको बजार अहिले व्यापक हरियालीतर्फ नै बढेको हो।

यो साताको तेस्रो कारोबारमा मंगलबार ११४.७० अंकले बढेर बजार २६२३.५६ बिन्दुमा पुगेको छ। २४३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। आज युनिलिभर नेपालको मात्र सेयर मूल्य घटेको छ भने नेपाल ल्युब आयलको सेयर मूल्य परिवर्तन भएको छैन। 

गएको साता उतारचढावपूर्ण अवस्थामा समग्रमा ९० अंकले ओरालोतिर लागेको बजारमा यो साता भने हरियाली नै देखिएको छ। यो साता पहिलो कारोबारमा आइतबार २२.३६ अंकले घटेको सेयर बजार सोमबार ४४.४५ अंकले उकालोतिर लागेको थियो।

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा वृद्धितर्फ नै लाग्ने लगानीकर्ताको अपेक्षा रहेको छ।कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा राखेका लगानीकर्ताहरू सोमबार र मंगलबारको वृद्धिले बजारप्रतिको विश्वासमा फर्किएको देखिन्छन्।  

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहँदा बजार धिमा गतिमा नै देखिएको छ। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार निरन्तर उचाइतर्फ भने बढ्न सकेको छैन। लगातार दुई दिन देखिएको राम्रो वृद्धिले बजारको सुखद संकेत भने गरेको छ। 

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। कमजोर भइरहेको कारोबार रकममा पनि वृद्धि हुन थालेको छ। अब यो साताको एक दिनको कारोबार र आउने साता चार दिनको कारोबारले दसैँपछिको बजारको संकेत दिनेछ। 


प्रकाशित : मंगलबार, असोज १५ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend