बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

अर्थतन्त्रमा लगानी बढ्दै, एक खर्ब निक्षेप संकलन हुँदा ७० अर्ब रुपैयाँ कर्जा प्रवाह

मंगलबार, असोज १५ २०८१
अर्थतन्त्रमा लगानी बढ्दै, एक खर्ब निक्षेप संकलन हुँदा ७० अर्ब रुपैयाँ कर्जा प्रवाह

साउनमा घटेको वस्तु आयात भदौमा आएर बढेको छ। विगत दुई वर्षदेखि निरन्तररुपमा ऋणात्मक रहेको वस्तु व्यापार भदौमा आएर सकारात्मक भएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष लागेसँगै निक्षेप संकलन र कर्जा प्रवाहमा वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको साउनमा २ अर्बमात्रै कर्जा प्रवाह भएकोमा भदौमा करिब ५२ अर्ब रुपैयाँ र असोज लागेपछि थप १३ अर्ब कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले  देखाएको छ।

रेमिट्यान्समा वृद्धि र सरकारले नियमितरुपमा आन्तरिक ऋणको साँवाब्याज भुक्तानी गरिरहेकाले बैंकिङ प्रणालीमा निक्षेप संकलन बढेको हो।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ प्रणालीमा ६५ खर्ब ५२ अर्ब रुपैयाँ कुल निक्षेप रहेको छ। गत असार मसान्तको तुलनामा निक्षेप संकलन ५६ अर्बले बढेको छ भने साउन मसान्तको तुलनामा १ खर्बले निक्षेप संकलन बढेको छ। 

यस्तै असार मसान्तपछि बैंकिङ प्रणालीबाट करिब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। असार मसान्तसम्ममा कुल ५१ खर्ब ७० अर्ब कर्जा प्रवाह भएकोमा पछिल्लो अवधिमा बढेर ५२ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ।

कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन नै बढी रहेकाले पछिल्लो समय बैंकिङ प्रणालीमा ७ खर्ब ४८ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। यस अवधिम बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७८.५८ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा स्थिर छ। 

यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर ५ प्रतिशत कायम गरेको छ। बैंक वित्तीय संस्थाहरूको निक्षेपको औषत ब्याजदर घटेर ५.६६ प्रतिशत र कर्जाको औषत निक्षेप ब्याजदर एकल अंक ९.६८ प्रतिशतमा आएको छ। 

विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धिसँगै बैंक वित्तीय संस्थाहरूमा तरलता बढ्न थालेपछि ब्याजदर घट्न थालेको हो। अघिल्लो आर्थिक वर्षको फागुनदेखि लगाताररुपमा निक्षेपको र कर्जाको ब्याजदर घट्दै आएको छ। 

चालु आर्थिक वर्षबाट राष्ट्र बैंकले सहजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएसँगै कर्जा प्रवाह बढ्न थालेको हो। लगानीकर्ताको सक्रियता बढेसँगै मार्जिन ल्याण्डिङ बढेकाले कर्जाको माग बढेको हो। यस्तै दसैँतिहार लगायतका ठूला चाडपर्वहरू नजिएकैसँगै वस्तु आयात गर्नेक्रम बढेकाले पनि उपभोगमा कर्जाको माग बढेको हो। 

साउनमा घटेको वस्तु आयात भदौमा आएर बढेको छ। विगत दुई वर्षदेखि निरन्तररुपमा ऋणात्मक रहेको वस्तु व्यापार भदौमा आएर सकारात्मक भएको छ। साउनमा १ खर्ब २८ अर्बको वस्तु आयात भएकोमा भदौमा १ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यस अवधिमा रेमिट्यान्स करिब १ खर्ब ३६ अर्ब रुपैयाँ भित्रिएको छ। 

अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेका छन्। एसियाली विकास बैंकले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गर्दै यसै वर्षबाट शोधानान्तर स्थिति घाटामा जाने प्रक्षेपण गरेको छ।


प्रकाशित : मंगलबार, असोज १५ २०८१११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend