काठमाडौं- केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौं उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ। विपद्बाट आज अपराह्नसम्म काठमाडौं उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल नेपालको तथ्यांक अनुसार काठमाडौंमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ।
बाढीपहिराका घटनामा परी काठमाडौंमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी छ। विपद्का घटनाबाट काठमाडौंमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन्।
बागमती प्रदेशका काभ्रेपलाञ्चोकमा ५९, सिन्धुपाल्चोकमा १३, मकवानपुर र दोलखामा सात/सात, धादिङमा चार, सिन्धुलीमा दुई तथा नुवाकोट र रामेछापमा एक/एक जनाको मृत्यु भएको छ। काभ्रेपलाञ्चोकमा चार र सिन्धुपाल्चोकमा एक जना बेपत्ता भएका छन्। काभ्रेपलाञ्चोकमा ५२, सिन्धुपाल्चोकमा चार र मकवानपुरमा एक जना घाइते भएका छन्।
काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी एक हजार घरमा क्षति पुगेको छ। यस्तै सिन्धुपाल्चोकमा १६ र सिन्धुलीमा पाँच घर क्षतिग्रस्त भएको छ। कोशीको पाँचथरमा छ, सोलुखुम्बुमा पाँच, धनकुटा र झापामा तीन/तीन, सुनसरी र इलाममा दुई/दुई, तेह्रथुम र ओखलढुंगामा एक/एक, मधेसको महोत्तरीमा दुई र रौतहटमा एक तथा लुम्बिनीको रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ।
बाढीपहिरोबाट २ सय ४ जनाको मृत्यु
विपद्का घटनामा परी देशभर दुईसय चारजनाको मृत्यु भएको भने ८९ जना घाइते भएका छन्। अझै ३३ जना हराइरहेका छन्। कोशीमा २३, मधेसमा तीन, उपत्यकामा ८२, बागमतीमा ९४ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ८३ घर र १९ वटा पुलमा क्षति पुगेको छ। पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा तीन बेलिब्रिज बाढीले बगाएको छ। यस्तै विभिन्न जिल्लामा पाँचवटा पक्की पुल सात वटा झोलुंगे र अन्य किसिमका चार गरी १९ वटा पुल र उदयपुरको एउटा रिसोर्ट बाढीले बगाएको छ। विपद् प्रभावित तीन हजार चार सय एक जनाको हालसम्म उद्धार गरिएको तथ्यांकमा उल्लेख छ। रासस