बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अर्को विपत्ति बन्न सक्छ सप्तकोसीको बालुवा, कहिलेसम्म टिक्ला म्याद सकिएको ‘ब्यारेज’

सोमबार, असोज १४ २०८१
अर्को विपत्ति बन्न सक्छ सप्तकोसीको बालुवा, कहिलेसम्म टिक्ला म्याद सकिएको ‘ब्यारेज’

बाँधको कारण बस्तीमा सोझै पानी पुग्न नपाएपनि चतरादेखि ब्यारेजको क्षेत्रमा बालुवा थुप्रिएको छ। बालुवालगायत थेग्रो थुप्रिएको नदीले बारम्बार धार परिवर्तन गर्ने जानकारहरू बताउँछन्।

इटहरी- सप्तकोसीमा नियमित आउने बाढीले स्थानीयलाई खासै समस्या दिँदैन। तर यसपटकको बाढीले भने स्थानीय नागरिकलाई बेचैन बनायो। सप्तकोसी आसपासका जनप्रतिनिधिहरू सुरक्षा निकायसँग हारगुहार गर्न पुगे। कोसी टप्पु क्षेत्रमा फसेका २५ जनाको उद्धार गर्न पानीको बहाव घटेपछिमात्र सम्भव भयो। 

लामो समयदेखिको बालुवा थुप्रिएर बनेका टापुहरूमा मानवबस्ती बसेको छ। जसलाई श्रीलंका टप्पुको नामले चिनिन्छ। गएको शनिबार कोसी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई स्थानीयले बालुवा निकाल्ने वातावरण मिलाउन आग्रह गरे। बालुवा बढी भएको कारण बस्तीभन्दा अग्लो ठाउँमा कोसी बगेको भन्दै बेलैमा ध्यान पुर्‍याउन सचेत गराए।

कार्कीले पनि बालुवा निकाल्नको लागि नेपाल सरकार र भारत सरकारबीच भएका सम्झौताको अध्ययनअनुसार योजना बनाउनु पर्ने बताए। कोसी ब्यारेजबाट ३२ किलोमिटर क्षेत्रभित्रको मर्मत तथा रेखदेखको जिम्मा भारतको हुने सम्झौताअनुसार भारतीय पक्षको स्वीकृतिबिना बालुवा निकाल्न सम्भव देखिएको छैन। 

सन् १९५४ मा कोसी सम्झौता भएदेखि एक चपरी बालुवासमेत ननिकालिएको हुँदा बस्तीभन्दा अग्लो स्थानबाट कोसी बग्ने गरेको छ। बाँधको कारण बस्तीमा सोझै पानी पुग्न नपाएपनि चतरादेखि ब्यारेजको क्षेत्रमा बालुवा थुप्रिएको छ। बालुवालगायत थेग्रो थुप्रिएको नदीले बारम्बार धार परिवर्तन गर्ने जानकारहरू बताउँछन्। 

जर्नल अफ हाइड्रोलोजीको अध्ययनअनुसार कोसीमा प्रतिवर्ष औसत १० करोड टन बराबरको थेग्रो पैदा हुने गरेको छ। जुन १ हजार १ सय टन प्रतिवर्ग किलोमिटर प्रतिवर्ष हुन आउँछ। जब कि गंगा नदीको १५६ टन, मिसिसिपीको ३० टन र अमेजनको १४० टन प्रतिवर्ग किलोमिटर प्रतिवर्ष रहेको बताइएको छ। 

koshi badi.jpg

कोसी ब्यारेजबाट दक्षिण भारततर्फ लागेपछि बालुवा वा थेग्रोको मात्रा कम हुँदै गएको अध्ययनले देखाउँछ। नदीको गति कम हुँदै गएपछि बालुवा चतरादेखि ब्यारेजकै क्षेत्र आसपास जम्ने गरेको छ।

हालसम्म कोसीको चतरादेखि ब्यारेजको क्षेत्रमा ४१ करोड घनमिटर बालुवा जम्मा भएको अनुमान गरिएको छ। जसले गर्दा बस्तीको जमिनभन्दा कोसी ४ मिटर अग्लो भइसकेको छ। 

बालुवामात्र होइन कोसी ब्यारेजदेखि बाँधसम्मको मर्मत र अन्य जिम्मेवारी भारतीय पक्षको छ। सोहीअनुसार पनि बालुवा निकाल्ने प्रक्रियामा नेपाली पक्ष निरीह छ। यसअघि २०६५ सालमा कोसी बाँध फुट्दा खेतीयोग्य जमिनमा बालुवा थुप्रिएको कारण धेरै जमिन मरुभूमि भएको थियो।

कोसीको गतिशीलताले जुनसुकै क्षेत्रमा पनि कटान हुनसक्ने त्रास बढेको छ। बालुवा बढी भएको कारण कटान पछि बस्ती तथा कृषियोग्य जमिन २०६५ पछिको भन्दा बढी क्षति पुग्ने आँकलन गरिएको छ।  

koshi barrage.jpg

म्याद सकिएको ब्यारेज   

गएको शुक्रबार बिहानदेखि बढेको पानीको बहावको कारण सप्तकोसी ब्यारेजका ५६ वटै ढोका खोलिए। आइतबार बिहान ६ लाख ६१ हजार ५ क्युसेकसम्म बहाव पुगेपछि प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गर्‍यो। पानीको सतह बिस्तारै घट्दै गएपनि खतरा भने कायमै रहेको ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ।  

हाल पश्चिम कुसाहलगायत क्षेत्रमा सिपेच भएको हुँदा भारतीय पक्षले नियन्त्रणको काम सुरु गरेको छ। २०६५ सालमा कोसी बाँध फुट्दा पानीको बहाव १ लाख ६८ हजार क्युसेक थियो। सोही आधारमा पनि खतरा भने टरिसकेको छैन। 

यसअघि सन् १९६८ मा (५६ वर्ष अगाडि) ९ लाख १३ हजार क्युसेक पानीको बहाव रेकर्ड भएको इतिहास छ। त्यसयता आइतबार बिहान सबैभन्दा धेरै पानीको बहाव मापन भएको देखिन्छ। पानीको बहाव बढेसँगै कटानमात्र होइन ब्यारेज नै संकटमा पर्ने देखिएको छ। 

२०११ साल बैशाख १२ गते (२५ अप्रिल १९५४) पुल र बाँध निर्माणका लागि नेपाल र भारत सरकारबीच १ सय ९९ वर्षे सम्झौता भएको थियो। नेपाल सरकारको तर्फबाट योजना, विकास तथा भूमिसुधार मन्त्री महावीर शमशेर र भारतको तर्फबाट योजनामन्त्री गुलजारीलाल नन्दाले सो सम्झौतामा हस्ताक्षर गरेका थिए।

कोसी सम्झौताअनुसार सन् १९६२ मा निर्माण भएको ब्यारेज जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने देखिन्छ। २५ वर्ष आयु तोकिएको ब्यारेजको आयु ६२ वर्ष पुगेको छ। म्याद गुज्रिएको ३७ वर्ष हुँदासमेत ब्यारेजको सामान्य मर्मतबाहेक अन्य विकल्पबारे टुंगो लागेको छैन। 

कोसीको ब्यारेजको विकल्पमा नयाँ पुलको चर्चा चले पनि प्रगति भने भएको छैन। एसियन हाइवेको लागि वराह क्षेत्रको सिसौली घाटमा पुल निर्माणको चर्चा चलिरहेको छ। केही समय अगाडि प्ररम्भिक नापजाँच भए पनि थप प्रक्रिया अगाडि बढेको छैन। 

पुल निर्माणको टुंगो नलागेपछि एसियन हाइवे निर्माणको काम इटहरीसम्ममात्र भइरहेको एसियन हाइवे काँकडभिट्टा-लौकही खण्डका प्रमुख जगत प्रजापतिले बताएका छन्। उनका अनुसार सुनसरीको लौकहीबाट उत्तर लैजाने वा पकलीबाट पश्चिम-उत्तर लैजाने भन्नेबारे यकिन निर्णय भएको छैन।


प्रकाशित : सोमबार, असोज १४ २०८११५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend