काठमाडौं- देशको राजधानी जोड्ने लाइफ लाइनका रुपमा रहको मुख्य राजमार्ग नागढुङ्गा-नौबिसे-मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि अब पूरै पृथ्वी राजमार्गमा सवारी यातायात सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अन्य सडकमा पनि अवराेध हटाउने काम भइरहेको छ।
गएको १० गतेदेखि परेको अविरल वर्षाका कारण देशभरीका ८० वटा राष्ट्रिय राजमार्गहरुमध्ये अहिले १७ वटा राजमार्गहरुका विभिन्न ४७ स्थानमा अझै अवरोध रहेकाे मन्त्रालयले जनाएको छ। बिपि राजमार्गको बर्दिवासदेखि नेपालथोकसम्मको अवरोध हटाइ यातायात चल्न सुरु भएको छ।
टोखा-गुर्जे भञ्ज्याङ्ग-छहरे नुवाकोट हुँदै स्याफ्रुबेँसीसम्मको सडक सञ्चालनको अवस्थामा रहेको छ। स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको अवरुद्ध सडक आज सोमबार नै सञ्चालनमा आउनेछ।
अरनिको राजमार्गको ब्राहबीसे-दोलालघाट-धुलिखेल खण्ड पनि आज सोमबारसम्म सुरु हुनेगरी कार्य भइरहेको छ। बिपि राजमार्गको विकल्पको रुपमा मुलकोटबाट सित्खा पुल हुँदै मन्थलीसम्म जाने सडक सुरु भएको छ भने सित्खा-खाँडादेवी-गाल्वा सडक आज दिउँसोसम्म सुरु भइ बिपि राजमार्ग भएर आउने सवारी साधनलाई मन्थली चरिकोट हुँदै राजधानी आउन सक्ने गरी काम भइरहेको छ।
अवरुद्ध अन्य राजमार्गहरुको अवरोध यथाशीघ्र हटाइ सडक सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। क्षतिग्रस्त पुलहरु भएको स्थानमा अस्थायी बेलिब्रिज जडान गरी यथासक्य छिटो सवारी साधन सञ्चालन गर्ने वातावरण मिलाइनेसमेत मन्त्रालयले जनाएको छ।
हेटौँडा-भैसे, सिमभन्याङ-पालुङ-नौबिसे, हेटौँडा-सिन्धुली-धरान चतरा सडक खुल्यो
वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा-काठमाडौं र हेटौँडा-धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा-भैसे, सिमभन्याङ-पालुङ-नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा-सिन्धुली-धरान चतरा सडक आज बिहानबाट खुलेका छन्।
यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा-भैसे-चित्लाङ-चन्द्रागिरि-काठमाडौं जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।
सो सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। कान्तिलोकपथ सडकको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भिमफेदी गाउँपालिका-८ स्थित बागमती खोलाको पुल कटान गरी सडक अझै पूर्ण रूपमा अवरुद्ध छ।
दक्षिणकाली-छैमले-सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्याङमा पहिरो खसेर कुलेखानी-फाखेल-फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताए।
दक्षिणकाली-छैमले-सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
कुलेखानी-मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोका कारण थानकोट-कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध छ।
भीमफेदी गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसेर हेटौँडा-कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए। अवरुद्ध अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए।