बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

शोधनान्तर खाता अझै विस्तृत भयो, सेवा क्षेत्रको आम्दानीका नयाँ शीर्षकको लेखांकन

मंगलबार, असोज १५ २०८१
शोधनान्तर खाता अझै विस्तृत भयो, सेवा क्षेत्रको आम्दानीका नयाँ शीर्षकको लेखांकन

योसँगै नयाँ आइटम पनि थपिएका छन्, त्यो पनि विस्तृत रुपमा। जस्तो यसअघि ट्राभल शीर्षकमा मुलुकबाट कति बाहिरयो र कति भित्रियो भन्ने शीर्षकमा सहायक शीर्षकमा शिक्षामात्र हुन्थ्यो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले साउनदेखि शोधनान्तरको अवस्थाको रिपोर्टिङको शैली परिवर्तन गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो 'मोड्युल बीपीएम सिक्स'को फर्म्याटमा राष्ट्र बैंकले तथ्यांक प्रकाशन सुरू गरेको हो। 

यसअघि बीपीएम फाइभसँगै सिक्स पनि सँगसँगै प्रकाशन हुँदै आएकोमा गएको साउनको प्रतिवेदनबाट फाइभ हटेर सिक्समात्र छापिएको छ। यो नयाँ फर्म्याटमा नयाँ शीर्षक समेटिएका छन् भने विस्तृत र सहज भएको छ। 

अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिङसँग एकाकार गर्न सहज हुने भएकाले राष्ट्र बैंकले लामो समयको तयारीपछि बल्ल यो ल्याएको अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए। 

निश्चित समयसीमाभित्र देशमा भित्रिने र बाहिरिने रकमको लेखाजोखासहितको विवरण समेटिने शोधनान्तर खाता पहिलेको तुलनामा विस्तृत र स्पष्ट भएको छ। 

मुलुकको बाह्य कारोबारको अवस्था कस्तो छ भनेर बुझ्न खोज्नेलाई केही सरल र विस्तृत जानकारी प्राप्त गर्न सहज हुने भएको छ। 

नयाँ फर्म्याटमा एउटै लाइनमा एउटै आइटमको कारोबारको डेबिट र क्रेटिङसँगै खुद हिसाब पनि राखिएको छ। वस्तुको कारोबारमा कति आम्दानी, कति खर्च भयो र सन्तुलनको अवस्था के छ भनेर खुद स्तम्भमा देखिन्छ। 

योसँगै नयाँ आइटम पनि थपिएका छन्, त्यो पनि विस्तृत रुपमा। जस्तो यसअघि ट्राभल शीर्षकमा मुलुकबाट कति बाहिरयो र कति भित्रियो भन्ने शीर्षकमा सहायक शीर्षकमा शिक्षामात्र हुन्थ्यो। अब भने ट्राभल शीर्षकमा व्यापारिक र व्यक्तिगत भनेर छुट्टिएको छ। व्यक्तिगतमा पनि शिक्षा, स्वास्थ्य र अन्य कुन शीर्षकमा कति रकम भित्रियो र बाहिरियो भनेर राखिएको छ। 

त्यस्तै अबदेखि शोधनान्तर खातामा राष्ट्र बैंकले सेवा क्षेत्रमा पनि थप विस्तृत लेखांकन राख्न थालेको छ। सेवाअन्तर्गत दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवा भनेर राखिएको छ। त्यसमा दूरसञ्चार सेवा, कम्प्युटर, सूचना र अन्य व्यापार सेवाको छुट्टाछुट्टै तथ्यांक उपलब्ध हुने भएको छ। 

त्यस्तै सूचना प्रविधिका विविध सेवाको लेखांकन अबदेखि प्राप्त हुने छ। बीमा, निर्माण क्षेत्रका अन्य सेवालाई पनि थप प्रष्ट पारिएको छ।

nrb.png

 


प्रकाशित : मंगलबार, असोज १५ २०८१०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend