आइतबार, मंसिर ९ गते २०८१    
images
images

मेहनत र संघर्षले दिलाएको सफलता

images
आइतबार, असोज १३ २०८१
images
images
मेहनत र संघर्षले दिलाएको सफलता

विदेशमा रहँदा पनि उनलाई स्वदेशमै आएर केही गर्छु भन्ने हुटहुटीले छाडेन। त्यही अठोटले उनलाई स्वदेश फर्कायो र दोभान इन्टरनेशनल नामक पेस्टिसाइडको कारोबार गर्ने कम्पनी स्थापना गर्ने तयारीमा जुटे।

images
images

लमजुङ- कामको खोजीमा वैदेशिक रोजगारमा जान तम्सिएका जो कोहीलाई सहजै भन्ने गरिन्छ, आफ्नै देशमा केही गरे के हुँदैन? विदेश नै जानुपर्छ र? विदेशमा गर्ने श्रम नेपालमै गर्ने हो भने यहाँ पनि केही गर्न सकिन्छ नि। यो त बेरोजगारी समस्या नभोगेकाले वा राजनीति गर्ने र समाजसेवीहरुले भन्ने र दिने उपदेश मात्र हो।

images
images
images

देशमा केही गर्न खोज्दाखोज्दै पनि केही सीप नलागेपछि हार खाएर गाउँका थुप्रै ऊर्जाशील युवा अहिले विदेशमा आफ्नो श्रम बेचिरहेका छन्। विदेशिएका जति सबैले भनेजस्तो गर्न त सकेका छैनन् तर पनि केहीले भने राम्रो प्रगति गरेका छन्।

images

आफूले भोगेको जस्तै समस्या अरुलाई नहोस् भन्नका लागि विदेशमा नेपालीलाई सहज हुनेगरी व्यावसायिक काम पनि गरेका छन्। उद्यम गर्ने आफ्नो सोचलाई विदेशमा पुगेर कतिपय युवाहरुले साकारसमेत पारेका छन्।

images

आफ्नै देशमा केही गर्छु भन्दाभन्दै यहाँको प्रशासनिक झन्झट र बेथितिका कारण थाकेर आजित भइ विदेशिनेहरुको भीडका एक व्यक्ति हुन् गुमानसिंह कार्की। लमजुङको सुन्दरबजार नगरपालिका-८, घोक्रेश्वाँराका कार्कीले पोर्चुगल पुगेर गरेको संघर्ष र मेहनतले अहिले ७५ जनाभन्दा बढीलाई रोजगार दिएको छ। उनले पोर्चुगलबाट सुरु गरेको व्यवसाय अहिले भारत हुँदै काठमाडौंसम्म विस्तार भएको छ। आफ्नो व्यवसायबाट यति धेरै व्यक्तिलाई रोजगार दिन पाएकामा नै उनी खुशी छन्।

'नेपालमा नै केही गर्छु भन्ने सोच नआएको पनि होइन', उनी भन्छन्, 'गणित र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नेक्रममै केही व्यवसाय गर्ने सोचमा थिएँ। तर भनेजस्तो नभएपछि विदेश जाने सोच बनाएँ।'

उनले आईए पास गरेपछि केही समय बोर्डिङ स्कुलमा शिक्षण कार्य गरे पनि त्यसले आफैलाई पालिन मुस्किल देखेपछि २०५८ सालमा वैदेशिक रोजगारमा दुबई गए। विदेशमा रहँदा पनि उनलाई स्वदेशमै आएर केही गर्छु भन्ने हुटहुटीले छाडेन।

त्यही अठोटले उनलाई स्वदेश फर्कायो र दोभान इन्टरनेशनल नामक पेस्टिसाइडको कारोबार गर्ने कम्पनी स्थापना गर्ने तयारीमा जुटे। चीनबाट औषधि ल्याएर नेपालमा लेवलिङ गरी बिक्री गर्ने योजनाका साथ काम गर्न हरिहर भवनस्थित पेस्टिसाइड रजिस्ट्रेसन विभागमा जाँदा सात लाख रूपैयाँ घुस मागिएपछि हार खाएर त्यहीँ कागजपत्र च्यातेर फर्किए।

यत्तिकैमा उनी निराश बनेनन्। युरोप जान पाए पैसा त कमाउन सकिन्थ्यो भन्ने सोच उनको मनमा पलायो। यसैअनुरुप सन् २०१३ को डिसेम्बरमा पर्यटक भिसा लिएर पोर्चुगल छिरेका उनी त्यहीँ कागजपत्र मिलाएर काम गर्न थाले।

सुरुवाती दिनमा ठूलो संघर्ष गर्नुपरेको कार्की बताउँछन्। संघर्षले मानिसको जीवनमा सफलता ल्याउँछ भन्ने तथ्य उनको जीवनमा पनि लागु हुन्छ। उनलाई पनि लाग्ने गर्छ, 'विदेशमा गरिएको जस्तै श्रम नेपालमा गर्ने हो भने यहीँको जीवन सरल र सहज छ। आफ्नै परिवेश राम्रो छ। यहीँंको संस्कृति सुन्दर छ।'

सुरुका दुई वर्षसम्म उनले पोर्चुगलमा सुन्तला र ऐँसेलु टिप्ने काम गरे। 'काम गर्दागर्दै त्यहाँको सबै रहनसहन बुझेँ, परिवेश थाहा हुँदै गयो, मानिसले कस्तो दुःख पाएका छन् भन्ने पनि देखियो', उनी भन्छन्, 'यसले मलाई पनि मेहनत गर्ने आँट जाग्यो। दुःखलाई अवसरका रुपमा लिन थालेँ।'

सुन्तला र ऐँसेलु टिप्ने काम छोडेर ‘युरोफिम्स’ नामक कम्पनीमा काम गर्न थाले। त्यहाँ थुप्रै नेपालीहरु काम गर्दथे। उनी पढेलेखेको हुनाले कम्पनीले मानव संशाधनको क्षेत्रको जिम्मेवारी दियो।

कम्पनीमा राम्रै आम्दानी पनि थियो। तैपनि सधैँभरि अरुको काम गरेर मात्र आफ्नो प्रगति नहुने र क्षमतावान व्यक्तिले आफ्नै काम गर्नुपर्छ भन्ने कुरा राम्रैसँग बुझेका गुमानसिंहले सन् २०१७ को अन्त्यतिर थ्री स्टार कन्सल्टेन्सी नामक कम्पनी खोले।

यस कम्पनीले पोर्चुगलभित्र रहेका दक्षिण एसियाका व्यक्तिहरुको डकुमेन्टेसनसम्बन्धी काम गर्दथ्यो। यसै कम्पनीमा काम गर्दा उनले दक्षिण एशियाका कामदारहरुले पाइरहेको दुःखलाई नजिकबाट अनुभव गर्ने अवसर मिल्यो।

उनीहरुमध्ये धेरैले त्यहाँको भाषा, संस्कृति र कागजात मिलाउन नसक्दा लामो समयसम्म युरोप बस्ने सपना तुहाइरहेका थिए। लामो समय बस्दा पनि कागजपत्र मिलाउन नसकेर दुःख पाएका दक्षिण एशियाका कामदारहरु देखेर उनीहरुको कार्यमा सघाउने योजना बनाए। सोहीअनुरुप ‘ओला अमिगी कल्चर एण्ड ल्याङ्ग्वेज एशोसिएसन’ नामक कम्पनी स्थापना गरी पोर्चुगलको संस्कृति र भाषा सिकाउन थाले।

उनको व्यावसायिक योजना यतिकैमा टुंगिएन। सन् २०१८ मा पोर्चुगलको ‘लिजवनमा थ्री स्टार एकाउन्टिङ’ नामक कम्पनी खोलीे व्यवसायसँग सम्बन्धित लेखापरीक्षणलगायत काम गर्न थाले। उनको यो कम्पनी अहिले विस्तार भएर विशाल कम्पनी बनिसकेको छ। पोर्चुगलमा यसका दुईवटा शाखा छन् भने भारत र काठमाडौंमा पनि शाखा रहेका छन्।

कम्पनीमा हाल २५ जना पूर्णकालीन र ५० भन्दाबढीले आंशिकरुपमा रोजगारी पाएका छन्। उनका अनुसार रोजगार पाउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली नै छन्।

व्यवसायलाई अहिले श्रीमती र छोराहरुले पनि सघाउन थालेपछि अब उनलाई व्यवसायको खासै चिन्ता छैन। चिन्ता छ त केबल आफ्नो जन्मभूमि र आफ्नै देशको। त्यसैले त कार्की अहिले पैत्रृक थलोमा आएर फरक किसिमको सोचका साथ काम गरिरहेका छन्।

विदेशिनेहरु उतै बस्छन् भन्ने आम बुझाइलाई चिर्दै उनले गाउँमा एउटा आवासीय भवन निर्माण गरेका छन्। लमजुङको भोटेवडारबाट बेँसीसहर जाने बाटोबाट करिब दुईसय मिटर माथि एक करोड ५० लाख रुपैयाँको लगानीमा उनले बनाएको पर्यटकीय आवाससहितको भवनमा पारिवारिक शैलीमा आफै पकाएर खान, नाचगान, भजनकीर्तन गर्न सकिन्छ।

माछापोखरी, पार्क अन्य आवश्यक सुविधासहित निर्माण गरिने उक्त स्थान पूरै पर्यटकीय परिवेशको हुने उनी बताउँछन्। कार्की विभिन्न सामाजिक संस्थाहरुमा संलग्न समाजसेवामा उत्तिकै व्यस्त देखिन्छन्। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend