बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

बाढीले मधेश प्रदेशको जनजीवन प्रभावित : ४ सय ८८ जना विस्थापित, ३२ घर पूर्णरुपमा क्षति

ओरिया खोलाले बगायो सीमा स्तम्भ

images
आइतबार, असोज १३ २०८१
images
images
बाढीले मधेश प्रदेशको जनजीवन प्रभावित : ४ सय ८८ जना विस्थापित, ३२ घर पूर्णरुपमा क्षति

वर्षा र बाढीको पानी बस्तीमा पस्दा मधेश प्रदेशको पर्सादेखि सप्तरीसम्मको सहरी तथा ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित भएका छन्।

images
images

वीरगञ्ज- विगत तीन दिनदेखि भएको अविरल वर्षापछि मधेश प्रदेशका विभिन्न नदीमा आएको बाढीमा परेर आइतबार मध्यान्हसम्ममा चारजनाले ज्यान गुमाएका छन्। दुईजना अझै बेपत्ता छन्। ८ जना घाइते भएका छन्। 

images
images
images

बाढीले बगाएर महोत्तरीमा दुईजना, सप्तरी र रौतहटमा एक/एक जना गरी कुल ४ जनाले ज्यान गुमाएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरिक्षक सुवास बोहराले जानकारी दिए।

बाढीले बगाएर सप्तरी बलानबिहुल गाउँपालिका ४ घर भइ राजविराज नगरपालिका-८ मा बस्दै आएका ८ वर्षीय प्रिन्सकुमार साह, महोत्तरीको गौशाला नगरपालिका-८ कुसमारीका १६ वर्षीय रोहित साह र महोत्तरीकै बर्दिवास नगरपालिका-११ खैरमाराका २१ वर्षीय मानबहादुर थिङ र रौतहटमा परिचय नखुलेका एकजना गरी चार जनाले ज्यान गुमाएका हुन्। 

images

विभिन्न नदीमा आएको बाढीले बगाएर पर्साको वीरगञ्जसहित मधेश प्रदेशभरीबाट दुई जना बेपत्ता भएका छन्। बाढीले बगाएर बेपत्ता हुनेमा सर्लाहीको बागमती नगरपालिका-९ का १५ वर्षीय मुकेश महतो र परिचय नखुलेकी एक १७ वर्षीया किशोरी रहेको प्रहरीले जनाएको छ।

images

सर्लाहीको सोती खोलाले महतोलाई र पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ११ रानीघाट स्थित सरिसवा नदीमा आएको बाढीले किशोरीलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ। बेपत्ता दुवैजनाको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ। 

आइतबार बिहानदेखि बगेर बेपत्ता भएकी किशोरीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए। उनका अनुसार, पर्सा प्रहरीले अहिलेसम्म दुई सयभन्दा बढी घर परिवार, एक हजारभन्दा बढी मानिस तथा ५० वटाभन्दा बढी गाईबस्तुको उद्धार गरेको छ। 

madesh baadi  (1).jpg

यस्तै पर्साको जिराभवानी गाउपालिका वडा नं. १ स्थित ओरिया नदीमा आएको बाढीले सीमास्तम्भ बगाएको छ। वर्षा रोकिएपनि नदीले कटान तीब्र पारेको छ। बाढीले स्थानीय खेतीयोग्य जग्गासहित मझौला सीमा स्तम्भ समेत कटान गरी बगाएको डिएसपी भारतीले जानकारी दिए। 

प्रहरीका अनुसार ओरिया नदीको बाढीले सीमास्तम्भ नं. ४२६/२६ को मझौला स्तम्भ बगाएको छ। नदी कटानबारे यकिन विवरण लिन प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको प्रवक्ता भारतीले जानकारी दिए। 

नेपाल प्रहरीको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार बाढी र वर्षामा फसेर मधेश प्रदेशको ८ वटै जिल्लामा गरी ८ जना घाइते भएका छन्। घाइते हुनेमा रौतहटमा ३, बारामा ३, सर्लाही र सप्तरीमा एक/एक जना गरी ८ जना रहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएका छ। 

वर्षा र बाढीका कारण प्रदेशभरीमा ३२ वटा घरमा पूर्ण रुपमा क्षति भएको नेपाल प्रहरीका प्रदेश प्रवक्ता बोहराले जानकारी दिए। बाढीमा फसेका ९६ घरपरिवारका ४ सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनाको उद्धार गरिएको उनले बताए। 

madesh baadi  (3).jpg

रौतहटको गौर कारागारमा बागमती खोलाको पानी पसेपछि १२ जना महिला थुनुवा/कैदीलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा सुरक्षित राखिएको उनले जानकारी दिए। 

वर्षा र बाढीको पानी बस्तीमा पस्दा मधेश प्रदेशको पर्सादेखि सप्तरीसम्मको सहरी तथा ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित भएको प्रहरीले जनाएको छ।

बाढी र वर्षाले मधेश प्रदेशभरमै अर्बौँको धनमालमा क्षति पुर्‍याएको भए पनि त्यसको यकिन तथ्यांक आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 


प्रकाशित : आइतबार, असोज १३ २०८११५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend