बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लगानीकर्ताको अपेक्षाविपरीत ओरालोतिरै नेप्से, २२ अंकले घटेको बजारमा ४ अर्बको कारोबार

आइतबार, असोज १३ २०८१
लगानीकर्ताको अपेक्षाविपरीत ओरालोतिरै नेप्से, २२ अंकले घटेको बजारमा ४ अर्बको कारोबार

काठमाडौं- गएको साता उतारचढावपूर्ण अवस्थामा समग्रमा ९० अंकले ओरालोतिर नै देखिएको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि राताम्य नै भएको छ।

आइतबार २२.३६ अंकले घटेर बजार २४६४.४० बिन्दुमा झरेको छ। ४६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ। १९३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार ११.५८ अंकले बढेर सोमबार ५९.०२ र मंगलबार ५८.९३ अंकले घटेको बजार बुधबार ४९.१८ अंकले बढेको थियो। तर बिहीबार पुन: ३२.८१ अंकले बजार ओरालोतिर नै लागेको थियो।  

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा वृद्धितर्फ नै लाग्ने लगानीकर्ताको अपेक्षा रहेपनि त्यसअनुरुप बजार देखिन सकेको छैन। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा राखेका  लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोजमा उचाइतर्फ फर्कने आँकलन भइरहँदा बजार धिमा गतिमा नै देखिएको छ। असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार अपेक्षामा लगानीकर्ताहरू रहेका थिए। तर सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार अपेक्षाकृत उचाइतर्फ बढ्न सकेको छैन। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। 


प्रकाशित : आइतबार, असोज १३ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend