बिहीबार , मंसिर २७ गते २०८१    
images
images

काठमाडौं उपत्यकाबाट साढे सातसय जनाको सकुशल उद्धार : गृहमन्त्री लेखक

images
शनिबार, असोज १२ २०८१
images
images
काठमाडौं उपत्यकाबाट साढे सातसय जनाको सकुशल उद्धार : गृहमन्त्री लेखक

उद्धार, राहतलगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन्।

images
images
images

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्धार गरेको जानकारी दिए।

images

'दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ', गृहमन्त्री लेखकले भने, 'मुलुकमा ठुलो विपद्को स्थिति आएको छ।'

images

उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए। 'ठूलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु', उनले भने, 'उद्धार, राहतलगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ।'

वर्षाका कारण काठमाडौं भित्रिने सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए। 'विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ', उनले भने, 'बाढी, पहिरोलगायत विपद्‌सम्बन्धी पूर्वसूचना जारी गर्ने काम पनि हुँदै आएको छ।'

उनले अवस्था सामान्य हुदै गएपछि विस्थापितलाई पुनर्स्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाइ थियो। उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताए। 

'खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाई उद्धारमा समेत समस्या भयो', उनले भने,' स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्धार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ।' 


प्रकाशित : शनिबार, असोज १२ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend