लुम्बिनी- अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने विभिन्न स्थानका सडकमा यातायात सेवा प्रभावित बनेका छन्। पहिरोका कारण अवरद्ध सडक खुलाउन सुरक्षाकर्मी र स्वयमसेवक परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ।
प्रदेशको प्युठान-भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका-१ गर्जेनीस्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका-४ पाखुरी खोलामा पहिरो झरेको छ। नौवहीनी गाउँपालिका-७ कालीमाटीस्थित मैरामारेदेखि बल्लेखोला जाने भित्री सडकमा पहिरो झरेको छ।
अर्घाखाँचीस्थित पाणीनी गाउँपालिका-२ सालझण्डी ढोरपाटन सडक, गोरुसिङ्गे-सन्धिखर्क सडक दुई स्थानमा पहिरो झरेको छ। रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो झरेको छ।
पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, दाङ सल्यान राप्ती राजमार्ग, घोराही लमही-सडक खण्डको सेवार खोलामा जलसतह बढेकाले आवागमनमा समस्या परेको छ। पहाडी जिल्ला अर्घाखाँचीका केही स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको छ।
सन्धिखर्क-११ धारामाथी वस्ने जुद्धबहादुर नेपालीको घर अविरल वर्षाको कारण जोखिममा परेपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिकएको छ। शीतगंगा नगरपालिका-७ जुवाकोट बस्ने दिलबहादुर सार्कीको टिनले छाएको दुई तले कच्चीघर छेउमा जमिन भासिनुका साथै घरमा क्षति पुगेको छ।
आठ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले विपद् प्रतिकार्य योजनामा जुट्न आग्रह गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले अविरल वर्षाका कारण सम्भावित विपद्को प्रतिकार्यमा जुट्न अपिल गरेका हुन्। तीनवटै सुरक्षा निकाय, नागरिक स्वंयमसेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको र सहयोग गर्न अपिल गरेका छन्।
'जो जहाँ छौँ सुरक्षित बसौँ। आफ्नो आसपासमा भइरहेका प्राकृतिक विपद्को बारेमा चनाखो बनौँ। कहीँकतै विपद् आइपरेको खण्डमा आफू सुरक्षित भएर खोज तथा उद्धारको कार्यमा पनि परिचालित हुन अपिल गर्दछु',मुख्यमन्त्री आचार्यले भने, 'यो विपद्को बेलामा एकले अर्कालाई सहयोग गर्न जरुरी छ। सहयोग र हातेमालोबाट विपद्बाट हुने क्षतिलाई कम गर्न सकिन्छ।'
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म बाढीका २८ घटना घटेका छन्। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार परेर नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते र आठ जना बेपत्ता छन्।
पहिरोका २१ वटा घटना घटेका छन्। जसमा परेर आठ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन्।
मानव सिर्जित विपद्का घटनाले मानवीय क्षति बढी गराएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले बताए। रासस